ग्यास नपाउँदा बल्न छाड्यो चुलाे,  कम्पनी भन्छन्: अभाव छैन

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
gas

पोखरा । घरमा चुल्हो निभेपछि मीना ज्ञवाली पसलमा ग्यास किन्न पुगिन् । पहिलो दिन साहुजीले भएको ग्यास पनि अर्कैले अर्डर गरेको भन्दै रित्तै फर्काए । भोलि अरु आउँछ भन्ने आश्वासन दिए । कामकाजी उनी भोलिपल्ट गइन् तर ग्यास हात लागेन ।

तेस्रो दिन आउने आश्वासनले कुरेर बसिन् । अहँ तेस्रो दिन पनि जानकी ग्यास नआएको भन्दै पोखरा–६, अन्नपूर्ण टोलस्थित हिमाञ्चलमार्गको ‘स्याङ्जा प्रोभिनजल स्टोर्स’ ले फर्कायो । आफूले जे जसो टारे पनि केटाकेटीलाई कसरी पकाएर खुवाउने भन्ने अहिले उनलाई चिन्ता छ ।

उनीजस्तै आमसर्बसाधारणले कास्कीमा निषेधाज्ञा सुरु भएसँगै ग्यास नपाएको गुनासो गर्न थालेका छन् । बिक्रेताहरु खाली सिलिन्डरमात्रै देखाउँछन् । तर ग्यास बिक्रेता कम्पनीहरुले भने अभाव नभएको दाबी गरेका छन् । उनीहरुको एउटै तर्क छ, ‘कोरोना महामारीको बेला ग्यास अभाव हुने हल्लाले मात्रै खाली सिलिन्डर थुप्राइएको मात्र हो । ग्यास अभाव हुँदैन । ढुक्क हुनोस् ।’

यस विषयमा उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले अभाव हुने हल्लाले लुकाइएको हुन सक्ने बताउँछन् । कोरोनाको चेक ब्रेक गर्नै भन्दै कास्कीमा १५ देखि २१ वैशाखसम्म जारी निषेधाज्ञा प्रभावले होटल तथा रेस्टुरेन्ट पूर्णरुपमा सञ्चालनमा छैनन् । होटल तथा रेस्टुरेन्ट अन्यको तुलनामा सबैभन्दा बढी ग्यास खपत हुने क्षेत्र अहिले पूर्ण रुपमा सञ्चालन नहुँदा सर्वसाधारणको लागि अभाव नहुने कोइरालाको भनाइ छ । उनले भने, ‘गत हप्तासम्म ग्यास अभाव भन्ने थिएन । नर्मल नै थियो । अहिले त्यस्तो सुनिएको हो । यसबारेमा हामी अनुगमन गर्छौं ।’

पोखरामा हाल करिब १९ कम्पनीले ग्यास बिक्री वितरण गर्दै आएका छन् । तीमध्ये शक्ति ग्यास र गृहलक्ष्मी ग्यास मात्र पोखरामै उत्पादित छन् । अरु सबै बाहिरी जिल्लाबाट आउँछन् ।

नेपाल एपिजी ग्यास एसोसिएसनका सचिव एवं गृहलक्ष्मी ग्यास उद्योग कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले हल्ला फिजिएजस्तो पोखरामा ग्यास अभाव नभएको दाबी गर्छन् । उनले भने, ‘हामीहरु आवश्यकता अनुसार आपूर्ति गर्न सक्छौं । दैनिक २२ सय देखि ३ हजारसम्म सिलिन्डर बजार जान्छ । अहिले अल्लि बेसी गएको हो । मानिसले अनावश्यक खाली सिलिन्डर पनि भरेर राख्दा कृत्रिम समस्या उब्जेको हुन सक्छ ।’ उनी कसैले पनि अत्तालिएर ग्यास थुप्राउने काम नगर्न सुझाव दिन्छन् ।

पोखरा गगनगौंडामा डिपो रहेको गृहलक्ष्मीले मासिक ७० हजार सिलिन्डर ग्यास गण्डकी प्रदेशभर आपूर्ति गर्छ । गृहलक्ष्मीकै ३ लाख सिलिन्डर हाल बजारमा छन् । बर्तौलाले धादिङमा गीता र त्रिवेणी ग्यास उद्योग कम्पनी पनि चलाएका छन् । उनले आवश्यक परे ती कम्पनीको ग्यास पनि पोखराका उपभोक्तामाझ ल्याउने आश्वासन दिए । उनले स्थानीयस्तरमा उत्पादित ग्यास कम्पनीको सिलिन्डरमात्र प्रयोग गर्न सुझाव दिँदै भने, ‘अरु बेला ग्राहकले बाहिरबाट आपूर्ति हुने जुनसुकै सिलिन्डर प्रयोग गर्नुहुन्छ । आपत्विपत् प¥यो भनेमात्र गृहलक्ष्मी सम्झिनुहुन्छ । बाहिरी जिल्लाका कम्पनीले स्थानीयस्तरका उपभोक्ताको माग पूरा नगरीकन बाहिरी जिल्ला झट्ट पठाउँदैनन् । त्यसैले कास्कीसम्म नआएको हुनुपर्छ ।’

बर्तौलाको झैं राय छ, शक्ति ग्यास कम्पनीका कार्यालय प्रमुख मेघराज पौडेलको पनि । उनले ग्यास अभाव नरहेको दाबी गर्दै भने, ‘विगतका वैशाखमा ४५ हजारदेखि ५० हजारसम्म ग्यास जान्थ्यो, अहिले १५ वैशाखसम्म ४० हजार ग्यास गइसकेका छन् । यसले के देखाउँछ भने उपभोक्ताले अभाव हुने हल्लाको पछि लागेर अनावश्यकरुपमा भरेर राखेका छन् ।’ कृत्रिम अभावमात्र देखाइएकोले यसो नगर्न उनको सुझाव छ । भारत सरकारले पनि नेपाललाई नियमित रुपमा ग्यास दिइरहेकोले आत्तिनु नपर्ने उनको सल्लाह छ । हाल दैनिक २५ सय देखि ३ हजारसम्म सिलिन्डर खपत हुने गरेको शक्तिकै बजारमा ३ लाख ५० हजार सिलिन्डर छन् ।

सामान्यतया, ५ सदस्य रहेको परिवारमा एउटा सिलिन्डर डेढ महिनालाई पुग्छ । २ वटा भए ३ महिना सजिलै धकेलिन्छ । सामान्य मानिसले घरमा भएका ४÷५ वटा खाली सिलिन्डर अहिले भरेर राख्दा हाउगुजी सिर्जना भएकोमात्र हुन सक्ने उनको तर्क छ ।

नेपाल एपिजी ग्यास एसोसिएसनका सचिव बर्तौलाले भने, ‘अनावश्यक रुपमा सिलिन्डर भरेर राख्नु राम्रो होइन । त्यसले भोलिका दिनमा सम्भावित दुर्घटना निम्त्याउन पनि सक्छ । आफूलाई जति चाहिन्छ, त्यतिमात्र लिनू । यो नेपालीको आदत भैसकेको छ । यो सोच गलत हो ।’ गृहलक्ष्मीको ग्यास मासिक ७० हजार ग्यास उत्पादन हुँदा सजिलै पुग्ने गरेको तथ्यांक पस्किदै उनले आवश्यकता परे भोलिका दिनमा जति पनि रिफिलिङ गर्न सकिने दाबी गरे ।

गृहलक्ष्मी र शक्तिले यहाँ ग्यास रिफिलिङ बोट्लिङ प्लान्ट सञ्चालन गरेका छन् । उनीहरुले भारतबाट ग्यास ल्याएर रिफिलिङ गरी बिक्रेतामार्पmत् उपभोक्ताको चुल्होसम्म पु¥याउँछन् । अन्य कम्पनीहरु भने कास्की बाहिरबाट आपूर्ति हुने गरेका हुन् ।

२०७२ सालको विनासकारी भूकम्प बेला भारतीय नाकाबन्दीमा समेत ग्यास आपूर्ति गर्दै आएको बताउने शक्ति र गृहलक्ष्मीका सञ्चालकले संकटको बेला सधैँ काम लाग्ने भएकोले स्थानीय उत्पादनलाई माया गर्न पोखरेली उपभोक्तालाई आग्रह गरेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्लामा ग्यास अभाव नरहेको र यसबारे बुझ्ने बताए । उनले भने, ‘निषेधाज्ञाको बेला अत्यावश्यक बस्तुको आपूर्तिमा रोक छैन । आत्तिनु पर्दैन ।’

Related News

सम्बन्धित समाचार

hero news full width