कास्की प्रशासन भन्छ : तत्काल लकडाउन हुन्न, भीडभाड नगरौं

धनबहादुर गुरुङ
वैशाख ११, २०७८
cdo kaski

पोखरा । कास्कीमा कोरोनाको दोस्रो भेरियन्ट संक्रमित दैनिक ६० देखि ६५ जनाका दरले बढिरहेका छन् । यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयबाट पटक पटक सूचना जारी गरेको छ । प्रशासनले वैशाख ७ गते आदेश नै जारी गरेको छ । जसमा कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै १७ बुँदे निर्देशन गरिएको छ ।

आफूले जारी गरेको आदेश कति पालना भइरहेको छ भनेर अनुगमन पनि गरिरहेको छ प्रशासनले । तर आदेश पालना नभएको र भीडभाड नरोकिएको पाइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम स्वीकार गर्छन् ।

जारी निर्देशन पालना नभए कारवाहीमै उत्रिने प्रशासनको चेतावनी

कोरोना नियन्त्रणका लागि जारी आदेश कडाइका साथ कार्यान्वयन गर्ने तर अहिले नै लकडाउन गर्ने कुनै मनस्थिति नरहेको गौतमको भनाइ छ । ‘हामीले यातायात, होटल, रेस्टुरेन्ट, पर्यटन व्यावसायीसहित सरोकारवालासँग बसेर सल्लाह गरेर आदेश जारी गरेका छौं,’ उनले भने, ‘हामीले निरीक्षण पनि गरिरहेका छौं तर पालना गरेको पाएका छैनौं ।’ नागरिकबाट नै सहयोग नपाएको उनको गुनासो छ । कास्की उच्च जोखिम र संक्रमणदर भएको जिल्ला हो ।

‘सरकारले घोषणा गरेको उच्च संक्रमण भएको जिल्लामा कास्की पनि परेको छ, हामीले त्यही अनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘तत्काल लकडाउन नै गर्ने सोच त छैन तर केन्द्रबाट नै आदेश आयो भने गर्नैपर्छ ।’ बिहेको लगन भएका कारण पनि बढी भिडभाड देखिएको उनले बताए ।

नागरिक आफै सजग हुने समयमा प्रशासनको आदेश पालना नगरेको भेटिएका कारण अब कारवाहीमा जाने कि भन्ने आफूहरुको सोंच रहेको गौतमले बताए । यो समयमा आफूहरु बढी जनचेतनाको काममा नै लागेको उनको भनाइ छ । ‘जनता सजग होऊन् भनेर बेलामा बेलामा सूचना र आदेश दिइरहेका छौं,’ उनले भने, ‘प्रहरीहरुले माइकिङ पनि गरिरहनुभएको छ ।’

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्णरुपमा लकडाउन गर्ने योजना नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पूर्णरुपमा लकडाउन गर्दा झन् धेरै समस्या देखिने भन्दै त्यस्ता निर्णय तथा सिफारिस मन्त्रालयले नगरेको बताए ।

‘स्वास्थ्य मन्त्रालयले १ महिना अगाडिदेखि नै आवतजावत कम गर्न, भिडभाड नगर्न, अत्यावश्यक नपरी हिँडडुल नगर्न भन्दै आएको थियो’, प्रवक्ता गौतमले भने, ‘१ महिनादेखि नै हामीले यस्ता गतिविधि नगर्न भन्दै आएका थियौं, तर कसैले पनि टेरेको छैन जसको नतिजा अहिले देखिएको छ ।’ भिडभाड हुने स्थानमा कडाइ गर्ने, आवतजावतलाई निकै कम गर्नेलगायत विषयमा सिसिएमसीको बैठकमा छलफल भएको उनले बताए । प्रवक्ता गौतमले जन स्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width