को बन्ला वर्ष खेलाडी महिला ?

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७८
Sports

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । साइक्लिङकी जमुना थापा, तेक्वान्दोका पार्वती गुरुङ र प्रशंसा क्षेत्री मनोनयनमा परेसँगै उनीहरुको चर्चा सुरु भएको छ । तीमध्ये १ जनाले वर्ष उत्कृष्ट खेलाडी घोषितसँगै २ लाख नगद पुरस्कार जित्ने छन् । उनीहरुको खेलयात्रा कस्तो छ त ?

उत्कृष्ट ३ मनोनयनमा परेकामध्ये १ ले २ लाखसहित अवार्ड जित्ने छन् ।

जमुना थापा पर्यटकीय क्षेत्र लेकसाइड बस्छिन् । सानोमा साइकल चलाउने रहर पूरा गर्न आमासँग ५ रुपैयाँ मागेर आधा घण्टासम्म भाडामा लिएको साइकल चलाएको उनी सम्झिन्छन् । स्कुल छुट्टि भएपछि जुम्ल्याहा गंगा–जमुना यसैगरी भाडामा साइकल लिएर टाढासम्म जान्थे । बावु रामबहादुर र आमा हरिमाया थापाका जुम्ल्याहा दिदीबहिनीमा गंगा होटल म्यानेज्मेन्ट क्षेत्रमा छिन् भने कान्छी जमुनालाई रहरैरहरमा सिकेको साइकलले नामदाम दुवै दिएको छ ।
१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता पोखरेली जमुना बल्ल २३ वर्ष भइन् । तालबाराही माविबाट प्लस टूको अध्ययन पूरा गरेकी उनले खेलकुद क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउँछिन् ।

गोरखामा हालै आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथनमा जमुनाले भाग लिएकी थिइन् । प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक विजेता उनै जमुना २०७७ मा आयोजित प्रथम त्रियुगा खेलकुद महोत्सवमा रजत पदक विजेता पनि हुन् । जमुना पौडीवाज पनि हुन् । पोखरामा भएको आठौं राष्ट्रिय ट्राइथलन–२०७५ मा उनले कास्य पदक जितेकी थिइन् । गण्डकी बोर्डिङ स्कुलमा स्वीमिङ लाइफगार्ड तथा कोच हुन् । माउन्टेन बाइकमै मनाङ र जोमसोमको टूर गरेका बताइन् ।

पार्वती गुरुङ तेक्वान्दोमा पुम्से विधाको र्‍याङ्किङमा नेपालकै नं. १ खेलाडी हुन् । उनी नेपाल प्रहरीमा आवद्ध छिन् । नेपालबाट एशियन गेम्समा कसैलाई पठाउनु पर्‍यो भने सर्वप्रथम उनकै नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त पार्वतीलाई नेपालमा भएको १३ औं सागमा दोहोरो पदक दिलायो । साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कास्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन् । सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन् ।

यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ । उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन् । लमजुङ दूधपोखरी ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमा कुमारी गुरुङ दम्पतीका ३ छोरीमा कान्छी हुन् । २ दिदीको विहेवारी भैसके पनि २५ वर्षीया पार्वती करियरपछि विहे गर्ने बताउँछिन् ।

९ वर्षको उमेर छँदा चितवनमा उनले पहिलो प्रतियोगिता खेलेको स्मरण गरिन् । क्रमशः खेल्दै जाँदा राष्ट्रिय टिममा परेसँगै पछाडि फर्केर हेर्नुपरेको छैन । राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता पार्वती १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेलेकी थिइन् । थाइल्याण्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी पार्वती दर्जनौं खेलकै सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायत देश पुगेकी छन् । चीन हुने एशियन गेम्सको लागि तयारीमा उनी बताउँछिन् ।

प्रशंसा क्षेत्री १३ औं सागको जोडी पुम्सेमा पार्वती गुरुङकै प्रतिस्पर्धी थिइन् । पोखराको सिद्ध मावि, फलेपाटन कक्षा ५ मा पढ्दै गरेकी प्रशंसा क्षेत्रीलाई एक दिन बावुले तेक्वान्दो सिकाउन लगे । शुक्रराज तेक्वान्दो डोजाङमा भर्ना भएर उनले आफ्ना गुरु कृष्ण श्रेष्ठसँग खेल सिक्न थालिन् । त्यस बेला १३ वर्षीया यी सुन्दरी प्रशंसालाई बिस्तारै विभिन्न कौशलले मोह लाग्यो । त्यस दिनदेखि सुरु भएको खेल यात्राले सागमा स्वर्णसम्म चुमेको छ ।

अभिभावक बावुले हात समाउँदै डोजाङ पु¥याएको त्यो क्षण उनलाई ताजै छ । प्रशंसा भन्छिन्, ‘बुवा अहिले संसारमा हुनुहुन्न । यदि उहाँ भएको भए कति खुसी हुुनुहुन्थ्यो होला ।’

प्रशंसाको अन्तर्राष्ट्रिय सहभागिता सागबाटै सुरु भयो । यसरी पहिलो सहभागितामै २४–२९ वर्ष उमेर समूहमा टिम इभेन्टतर्फ स्वर्ण जितेर नाम चम्काउन सफल भएकी हुन् ।

२०५१ सालमा जन्मेकी उनी  स्याङ्जा हरिनासकी हुन्। बाबु पिनराज भण्डारी क्षेत्री र आमा धनमाया भण्डारी क्षेत्रीका ४ सन्तानमा उनका १ दाइ र २ भाइ छन् । जिल्ला, क्षेत्रीय स्तरको प्रतियोगिता जित्दै प्रगतिपथमा अगाडि बढेकी उनले दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेस्ट नेशनल ओपन गेम्समा रजत जितेकी छन् । पछि राष्ट्रिय टिममा परेसँगै इण्डोनेसियामा आयोजित हाम्मादाङ च्याम्पियनसीपमा सहभागिता जनाएकी थिइन् ।

सुरुआतमा तेक्वान्दोमा क्योरोगीमै फाइटमा भिडिन् । पछि गुरुहरुको सल्लाहमा पुम्से खेलेको बताइन् । हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशंसाको एशियन तथा वल्र्ड च्याम्पियनमा भाग लिने लक्ष्य छ ।

Related News

सम्बन्धित समाचार

hero news full width