इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
Purnima Photo

तस्बिर : न्युजपोलार डटकम

पोखरा । गोरखाकी पूर्णिमा श्रेष्ठको पेसा थियो, फोटो पत्रकारिता । घुमफिर त चलेकै थियो । सन् २०१७ को सगरमाथा बेसक्याम्पको घुमाइले उनको जीवनमै फरक मोड ल्याइदियो । एभरेस्ट म्याराथनको फोटो खिच्न गएकी उनले विदेशीहरुको हिमाल मोह देखिन् । सगरमाथाको देशमा जन्मेर पनि त्यसको महत्व बुझ्न नसकेको अनुभूति उनले गरिन् ।

हिमालको फेदीबाट धित मरुन्जेल फोटो खिचिन् । फोटो खिच्दै गर्दा सगरमाथा कुन हो भनेर ठम्याउन सकस भयो । सोधिक्यारी हिमालहरुको नाम जानिन् । उनलाई लाग्यो, अब यी हिमालको नाम चिनेरमात्र हुँदैन । चुचुरो चुम्नुपर्छ । जसै उनको मनमा यो भावना उब्ज्यो । उसै साथीलाई सुनाइन् । आउने वर्ष म सगरमाथा चढ्छु भनेर ।
तर सगरमाथा चढ्नुअघि ६ हजार मिटर अग्ला हिमाल चढ्नुपर्ने हुन्थ्यो । स्वास्थ्यले साथ दिने÷नदिने, उच्च हिमाली क्षेत्रमा कति समयसम्म रहन सक्ने भन्ने पनि परीक्षण हुनुपथ्र्यो । त्यतिबेलै पूर्णिमाको मनमा लाग्यो, चढ्नु नै छ भने म आफ्नै जिल्लाको मनास्लु हिमाल चढ्छु । तर सिजन आउन समय धेरै थिएन । पहिलो त अभ्यास गर्नुपर्ने, अनि रकमको जोहो पनि । आँट त उनमा पलाइसकेको थियो ।

पूर्णिमाले अन्नपूर्ण प्रथममा पाइला टेक्ने प्रथम नेपाली महिलाको कीर्तिमान रचेकी छन्

आफ्नो आँटलाई यथार्थमा बदल्न उनी लागि परिन् । शारीरिक अभ्यास थालिन् । सकेजति रकमको जोहो पनि गर्न थालिन् । पहिलोपटक भएकाले आर्थिक सहयोग कमै भयो । उनले भनिन्, ‘सामान्य घर परिवार हो मेरो, परिवारको आर्थिक अवस्था कमजोरै छ, सुरुमा त ऋण नै खोजेर हिमाल चढेको हो ।’ उनको इच्छा सगरमाथा चढ्ने थियो । सगरमाथा चढ्ने इच्छासामु ८ हजार १ सय ५६ मिटर उचाइको मनास्लु तल प¥यो । विश्वकै आठौं र नेपालको सातौं अग्गो हिमालभन्दा माथि उनी पुगिन् । पूर्णिमाले जितिन् ।

अर्को वर्ष उनले सगरमाथामा पाइला नापिन् । विश्वकै सर्वोच्च शिखरमा पाइला राख्ने पहिलो नेपाली फोटो पत्रकारमा नाम दर्ज गराइन् । उनले सगरमाथा आरोहणमात्र गरिनन्, आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरिन् । त्यसपछि पूर्णिमाले अन्नपूर्ण प्रथम हिमाल चढ्ने साहस गरिन् ।

अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्न गत चैत ६ गते पोखरा आइपुगेकी थिइन्, पूर्णिमा । पोखरा आएको ठिक २७ दिनपछि उनी अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेकी छिन्, त्यो पनि कीर्तिमानका साथ । शुक्रबार दिउँसो चुचुरोमा टेकेसँगै अन्नपूर्ण प्रथममा पाइला टेक्ने प्रथम नेपाली महिलाको कीर्तिमान रचेकी छिन् ।

यसअघि नै उनले ६ हजार ८ सय १२ मिटर उचाइको ‘किलर माउन्टेन’ अमादब्लम चढेर साहस बटुलिसकेकी थिइन् । खतरासँग जुध्ने बानी परेको थियो उनलाई । उनी भन्छिन्, ‘हिमालको काखमा रमाउन धेरै मन पर्छ । मेरो नसामा नै हिमाल चढेको छ ।’

अन्नपूर्ण प्रथम पनि उस्तै खतरा हिमाल हो । उसो त विश्वकै ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा पहिला ‘भर्जिनिटी’ तोडिएको हो अन्नपूर्ण प्रथमको । फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई म्याकननले सन् १९५० को जुन ३ मा अन्नपूर्ण प्रथमको पहिलोपटक सफल आरोहण गरेका थिए । गोरखाकी चेलीले त्यसैको ७ दशकपछि त्यही हिमाल चढ्ने साहस गरेकी थिइन् ।

हिमाल चढ्न काठमाडौंबाट निस्केकी पूर्णिमाको हौसलाका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग पनि गरेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्णिमालाई ८ लाख रुपैयाँ प्रदान गरेका थिए । गण्डकी प्रदेशकी छोरीको अदम्य साहसप्रति खुसी व्यक्त गर्दै त्यो बेला नै मुख्यमन्त्री गुरुङले सफल आरोहणपछि पोखरामा रथारोहण गराउने पनि बताएका थिए ।

मुख्यमन्त्री गुरुङले आफ्नो हस्ताक्षरसहितको राष्ट्रिय झण्डा पूर्णिमालाई हस्तान्तरण गरेका थिए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल लगायतले शुभकामना दिन भ्याएका थिए । उनले ८ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पदयात्रा थालेकी थिइन् । बेस क्याम्पसम्म पूर्णिमाले भाइबहिनीलाई पनि लगेकी थिइन् ।

पोखराबाट गएको २७ दिनपछि मात्र पूर्णिमाले शुक्रबार दिउँसो अन्नपूर्ण प्रथमको सफलतापूर्वक आरोहण गरेकी हुन् । अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीमा पूर्णिमा श्रेष्ठ, लाक्पा देन्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा लगायत ६९ जना रहेको सेभेन समिट ट्रेक्स प्रालिले जानकारी दिएको छ । सेभेन समिटबाट मात्र अन्नपूर्ण प्रथम आरोहण गर्ने २० जना छन् । शनिबार बेसक्याम्प फर्कने टोली ४ दिनपछि पोखरा आउनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width