आदर्श समाज २६ वर्षमा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७८
adarsha samaj

पोखरा । आदर्श समाज दैनिकले रजत जयन्ती मनाएको छ । २०५३ साल वैशाख १ मा पाक्षिक पत्रिकाबाट प्रकाशन आरम्भ गरेको आदर्श समाजले स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको हो । यसै अवसरमा पत्रिकाको रजिस्टर्ड कार्यालय बुधबार पोखरा–१४ चाउथेमा रजत जयन्ती समारोह तथा सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले राज्यलाई सही दिशा दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले कुनै पनि पार्टीको आडमा नलागी निष्पक्ष ढंगले जनतामाझ समाचार पस्किनुपर्ने सुझाव दिए । आपूmले दैनिक रुपमा पढ्ने पत्रिकामा आदर्श समाज पनि रहेको उल्लेख गर्दै उनले पत्रिका २५ औं वर्ष पार गरेको उपलक्ष्यमा अझै उन्नति र प्रगतिको शुभकामना दिए ।

धेरै वटा राजनीतिक नियुक्ति खानेमा आफू पनि पर्ने बताउँदै आफ्नो विज्ञता र अनुभव बाँड्न गण्डकी विश्वविद्यालयमा आबद्ध भएको उनले स्पष्ट पारे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पोखराको पत्रकारितामा आदर्श समाज एक धरोहर भएको बताए । उनले कोभिड–१९ महामारीले पत्रकारको पेसा र सञ्चारमाध्यम धरासायी भएको बताए । उनले सञ्चारमाध्यम बचाइराख्न विग हाउसहरुले सहयोग गर्नुपर्ने भन्दै पोखरा पर्यटकीय सहर भइकन पनि पर्यटन क्षेत्रबाट खासै विज्ञापन सहयोग हुन नसकेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीले पत्रकारको छाता संगठन पत्रकार महासंघ भएकोले पत्रकारको हकहितका लागि काम गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले आदर्श समाज दैनिकले यसैगरी सफलताका सय वर्ष पार गरोस् भनी शुभकामना दिइन् ।

आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका अध्यक्ष एवं पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिका यहाँसम्म आइपुग्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी, पाठक, शुभचिन्तक, विज्ञापनदाता लगायतप्रति आभार प्रकट गरे । उनले विगत स्मरण गर्दै आदर्श समाज सधैँ देशको समृद्धिका लागि स्वतन्त्र पत्रकारितामा कटिबद्ध रहेको बताए ।

पत्रिकाका सम्पादक भरत कोइरालाले आदर्श समाजलाई छापासहित सयमक्रम अनुसार अनलाइन तथा युट्वमा पनि परिस्कृत गर्दै लगिने बताए ।
पत्रकार महासंघको २६ औं महाधिवेशनमा यस क्षेत्रबाट केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई उक्त अवसरमा सम्मान गरिएको थियो । उनीहरुलाई माला पहि¥याउँदै मायाको चिनो प्रदान गरिएको थियो ।

नयाँ वर्ष २०७८ को शुभकामनासहित रजत जयन्ती अवसरको सुखद अवसरमा केक समेत काटेर खुसी साटासाट गरिएको थियो ।

यस्तै पत्रिकाको ग्राहक बनेवापत् लक्की ड्र खोलिएको छ । क्रियटिभ प्रेसका सञ्चालक दामोदर आचार्यको उपस्थितिमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ लगायतले लक्की ड्र खोलेका हुन् । जसमा कुपन नं. १६६० ले ३२ इन्चको एलइडी टिभि उपहार प्राप्त गरेको छ । यस्तै, कुपन नं. ९७५ र २३५६ लाई राइस कुकर, कुपन नंं २६७३, ७२४ र ८७५ लाई आइरन तथा कुपन नं. २४९७, ५८३, २८१५, २९३९ र २४७६ का ग्राहकले भित्तेघडी पाएका छन् ।
प्रेस काउन्सिलको वर्गीकरणमा निरन्तर ‘क’ श्रेणीको आदर्श समाज दैनिकको कर्पोरेट कार्यालय पोखरा–८, न्युरोडमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width