गण्डकीमा सरकारबाट बाहिरियो माओवादी, धरमरमा मुख्यमन्त्री गुरुङ

प्रकाश ढकाल
चैत्र २५, २०७७
ps gurung (2)

पोखरा । गण्डकीमा नेकपा माओवादी सरकारबाट फिर्ता भएको छ । माओवादीका दुवै मन्त्रीले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाए । अन्तिमसम्म पनि सरकार नछोड्ने बताइरहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बुधबार दिउँसो मुख्यमन्त्रीलाई पत्र बुझाए र सँगसँगै संसद बैठकमा फरक दलको हैसियतले प्रस्तुत भए । ‘दुखी हुँदै मन्त्रालयबाट निस्किनुभयो । उहाँहरु बाहिरिने मानसिकतामा हुनुहुन्न थ्यो,’ मन्त्रालय स्रोत भन्छ, ‘माथिको निर्देशनको चेपुवामा परेका हुन् ।’ सरकारबाट बाहिरिएपछि मन्त्री हरि चुमानले राजनीतिलाई ट्रयाकमा ल्याउन सरकार छोडेको बताए । ‘मन्त्री मात्रै छोडेका हौं । समर्थन कायम छ,’ उनले भने, ‘अहिले देशको परिवेश बिग्रियो । ट्रयाकमा समेट्न सरकारमा बसेर भन्दा बाहिरै बसेर सजिलो होला भनेर छोडेका हौं ।’

गण्डकीमा माओवादी सरकारबाट बाहिरिनुमा पनि यहाँको भन्दा काठमाडौंको राजनीति मुख्य कारण हो । ‘राष्ट्रिय राजनीतिक परिस्थितिले यो अवस्था ल्यायो । जसका कारण अवस्था जटिल मोडमा गयो, मन्त्री चुमान भन्छन्, ‘राजीनामा एउटा स्टेप भयो । यो घटनाले कति फेरबदल ल्याउँछ हेरेर सरकारको समर्थन नै फिर्ता लिने अवस्था पनि आउला वा अर्को मोड पनि निक्लेला ।’ उनले आफूहरु फेरि पनि सरकारमा जाने बाटो खुलै रहेको बताएका छन् । त्यसका लागि अरु दलसँग छलफल अघि सारेको माओवादीले जनाएको छ । आफू संघीय व्यवस्थाको संस्थापक बन्न पाएकोमा उनलाई गर्व छ । ‘संस्थापक बन्ने अवसर पाएँ । ३ वर्ष २ महिना मन्त्री भएर जिम्मेवारी सम्हाल्दा धेरै सिक्न पाएँ,’ उनले भने ।

  • सरकारलाई समर्थन कायमै
  • सरकार ढलाउने दाउमा कांग्रेस
  • जसपाले माग्यो मुख्यमन्त्री
  • जनमोर्चाको भाउ चुलियो

अर्का मन्त्री लेखबहादुर थापा संघ सरकारको गलत कामले प्रदेशको सारथी टुटाउनुपर्ने अवस्था आएको बताउँछन् । ‘नछोड्दासम्म छोडेको भन्न मिलेन । छोड्छु भनेर उत्ताउलो हुनु भएन । अहिले छोड्यौं, सकियो,’ राजीनामा बुझाएर निस्किएपछि उनले भने, ‘मुख्यमन्त्रीले किन दिनुभयो भनेर सोध्नुभयो । हामीले केन्द्र सरकारले असंवैधानिक काम ग¥यो । तपाईंलाई पनि सहयोग गर्न सकिएन भन्यौं ।’

मुख्यमन्त्री गुरुङले मन्त्रीहरुको राजीनामाले संघीयता कमजोर भएको बताए । ‘जति संघीयता आए पनि केन्द्रीय कमिटीसँग केन्द्रका नेतासँग आवद्ध छौं । मैले सरकार गठन गर्दा माथिबाट इजाजत लिइनँ । सहमति मागिनँ । म आँफैले गठन गरेको हो,’ उनले भने, ‘पार्टीले संसदीय दलको नेता तोकेपछि मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ भन्ने लाग्यो । र त्यसै गरें ।’ एउटै घोषणापत्रबाट चुनाव लडेकाहरु फरक भूमिकामा रहनु दुर्भाग्यपूर्ण भएको उनको तर्क छ । ‘एउटै घोषणापत्रबाट चुनाव लड्नेहरु सत्ता र प्रतिपक्षमा बस्नुपर्छ ? हिजो अलग अलग पार्टी हुँदा एउटै घोषणा पत्रमा चुनाव लडेको होइन ?,’ उनी प्रश्न गर्छन्, ‘आज किन छुटिनुप¥यो ? माथिको नेताका कारण प्रभावित भएका छौं भने संघीयता कमजोर हुन्छ ।’

नेकपा एमालेको संसदीय दलको बैठक बुधबार नै बसेको छ । ‘नियमित बैठक हो । विधानको संशोधनबारे छलफल भयो । केही नयाँ घटनाक्रमबारे पनि कुराकानी चल्यो,’ प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘दलको नेता र उपनेताले बोल्नुभयो । मन्त्री राजीनामाका कुरा पनि आए ।’ अहिले नै सरकारबारे नयाँ निर्णय नभएको अधिकारी बताउँछन् । ‘राजीनामा स्विकृत भएपछि अरु कुरा गरौंला । सरकारलाई अहिले गाह्रो भइसकेको छैन । सरकारबाट हटे पनि समर्थन कायम छ,’ उनी भन्छन्, ‘जनमोर्चाले साथ छोडेको छैन । तर माओवादी सरकारबाट हट्न आवश्यक थिएन । २ पार्टीबाट पनि चल्न सकिन्थ्यो ।’ माओवादीले सरकारबाट बाहिरिए पनि नयाँ मन्त्रीमण्डलबारे कुनै निर्णय भएको छैन । स्रोतका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । ‘यो सुरुवात हो । आवश्यक पर्दा समर्थन नै फिर्ता लिन्छौं,’ एक सांसदले भने, ‘त्यसका लागि अरु पार्टीसँग छलफल हुन बाँकी छ । सायद प्रतिपक्षमै रहन्छौं ।’ माओवादी अहिले कांग्रेस र जनता समाजवादीसँग छलफलमै छ ।

नेपाली कांग्रेस पनि सरकार ढलाउने प्रयासमा छ । बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई विफल बनाउने निर्णय नै गरेको छ । यसका लागि अरु राजनीतिक पार्टीसँग छलफल गर्न एक वार्ता टोली गठन भएको छ । कुमार खड्काको संयोजकत्वमा प्रमुख सचेतक मणिभद्र शर्मा र सांसद विन्दुकुमार थापा सदस्य रहेको वार्ता टोली गठन गरिएको हो ।
‘माओवादीले अव समर्थन फिर्ता लिन्छ । त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ,’ दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘त्यतिबेला ३१ जनाको समर्थन पुग्न नदिए भैगो नि । अहिले त्यहि काम हुन्छ ।’ राष्ट्रिय जनमोर्चाले नयाँ विकसित घटनाक्रमबारे कुनै धारणा सार्वजनिक गरेको छैन । ‘हाम्रो समर्थन कायमै छ । नयाँ परिस्थिति बनेछ भने सोचौंला,’ दलका नेता कृष्ण थापाले भने, ‘छिटै दलको बैठक बसेर कुनै निर्णय हुन्छ । सरकारलाई सहयोग गर्ने सोच कायम छ ।’

जनता समाजवादी पार्टी मुख्यमन्त्रीको दाबी गरिरहेको छ । ‘हामी प्रतिगमनका विरुद्धमा छौं । अब कांग्रेसले नेतृत्व गर्न अघि बढ्छ कि बढ्दैन ? माओवादीले त्यसलाई स्वीकार गर्ने वा नगर्ने ? जसपा बीचमा छ । परिस्थितिले नेतृत्व लिन अघि सारिरहेको छ,’ दलका नेता हरिशरण आचार्यले भने, ‘केन्द्रमा प्रधानमन्त्री हामीले दाबा गरेका छौं । प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छौं ।’ उनले जनमोर्चा समेत सरकारको समर्थनबाट पछि हट्ने दाबी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width