अमलटारीको ‘सिग्नेचर’ अनदीको ‘चिचर’

धनबहादुर गुरुङ
चैत्र २२, २०७७
Homestay 2

पोखरा । बिहान सबेरै उठेर अगेना अगाडि नबसी सुखै छैन, नवलपुर अमलटारीकी अमरकुमारी महतोलाई । झिसमिसेमै ५ बजे उठेर तुनेलो नगर्ने हो भने पाहुनालाई सातै बजे खाजा टक्र्याउन भ्याइन्नँ । त्यसो त बिहानको खाजाका लागि उनी अघिल्लो रातिदेखि नै तयारीमा लाग्छिन् ।

उमेरले ५० टेकेकी अमरकुमारी बिहानको नित्यकर्म भ्याइ भान्सामा गएर दाउराको झिँजामा आगो बाल्न थाल्छिन् । कहिले कागजमा आगो बाल्छिन् त, कहिले झिँजामा मट्टितेल खन्याउँछिन् । अगेनो तातेपछि सिलेटको भाँडोमा पानी भरेर तताउन सुरु गर्छिन् । त्यही भाँडोमाथि माटोको भाँडा राख्छिन्, जसको मुन्तिर प्वाल परिएको हुन्छ । माटोको भाँडाको प्वाल छोप्न बाँसले बुनेको जाली प्रयोग गर्छिन् । पानी तात्न थालेसँगै अघिल्लो रात नै भिजाएर रोखेको अनदीको चामल राखेर केहीबेर माटोकै ढकनले ढाक्छिन् । चलाउन नि पर्दैन्, सिलोटको भाँडोमा रहेको तातो पानीको बाफकै सहायताले करिब आधा घन्टामा चामल पाक्छ र तयार हुन्छ, थारु परिकार ‘चिचर’ ।

चिचर तयार भएपछि अमरकुमारीले अचार बनाउन सुरु गर्छिन् । अचार भने सिजन अनुसार फरक फरक हुने गर्छ । सबै तयार भएपछि पाहुनालाई डाक्छिन्, पस्किन सुरु गर्छिन्, बाफले पाकेको चिचर र आफैंले तयार पारेको अचार । जब पाहुना आएर चिचर क्या मीठो भनेर प्रतिक्रिया दिन्छन्, उनको मन चंगा हुन्छ । उनी आफ्नो बिहानदेखिको दुख भुलेर पाहुनाको सन्तुष्टिमा खुसी हुन थाल्छिन् । ‘हाम्रो होमस्टे मधेशमा छ, यहाँ पहाडकै पाहुना धेरै आउनुहुन्छ,’ उनले भनिन्, ‘होमस्टेमा आउनुहुने सबैले कति मीठो चिचर भन्नुहुन्छ ।’ मधेसीको खाना पहाडीले मन पराउँदा औधी खुसी लाग्छ उनलाई । १ ठाउँकाले अर्को ठाउँको भाषा संस्कृति रीतिरिवाज मन पराउनु नै ठूलो भएको उनको भनाइ छ ।

अमरकुमारीको घरमा जस्तै नवलपुरको कावासोती नगरपालिका १५ बाघखोरमा सञ्चालित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको ३१ वटै घरमा चिचर पाक्ने गर्छ । होमस्टेमा जाने पाहुना जो कोहीको बिहानको खाजामा हुने गर्छ थारु परिकारमध्येको १ ‘चिचर’ । कुनै बेला जाडोको समयमा थारु समुदायले खाने परिकार आज भोलि होमस्टेको ब्रान्ड बनेको छ । अमरकुमारीले ऊ बेला माइतमा हुँदा आमाले र बिहे भएपछि सासुले बनाएको देखेर सिकेकी हुन् चिचर पकाउन । चिचरका लागि अनदीको भन्दा अरु चामलको काम छैन । पहिले घरमा खानका लागि आफ्नो खेतमा लगाएको अनादीले पुग्ने गरे पनि आजभोलि पाहुनाले बढी माग गर्न थालेसँगै ८ सय रुपैयाँ पाथीका दरले किनेर काम चलाउने गरेको उनी सुनाउँछिन् । थारुहरूले विशेष महत्वका साथ खाने चिचर स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मान्ने गरिन्छ । चिचर खानाले हाडजोर्नीमा हुने दुखाइ पनि कम हुने उनले बताइन् । चिचरमा प्रोटिन तथा कार्बाेहाइड्रेट पनि पाइने हुनाले शरीरलाई शक्ति सञ्चय गर्ने काममा सहयोग पुर्‍याउँछ ।

कुनै बेला जाडोको समयमा थारु समुदायले खाने परिकार हिजोआज होमस्टेको ब्रान्ड बनेको छ

होमस्टेमा चिचरका साथै सोझुवा रोटी (ढिकरी), माछा, घोंगी, नुमैचा, गुन्द्रुक चटनी, लोकल कुखुरा तथा हाँसको परिकार, मोद (घरपाला रक्सी), भतकुन, अनदी चामलबाट बनेको निजई, गदाला (जाँड) लगायत परिकार पनि पाइन्छ । लोकल हाँसको मासु, लोकल कुखुरा, माछाको साथमा घोंगीको स्वाद पनि लिन पाइन्छ ।

परिकारमात्र नभएर पहिचान झल्किने रीतिरिवाज संस्कृति पनि होमस्टेका अर्काे विशेषता हो । स्थानीय आदिवासी तथा जनजाति थारू, बोटे तथा मुसहर समुदायको स्थानीय कला संस्कृति नजिकैबाट नियाल्न पनि पाइन्छ । जसमा थारू समुदायको लाठी नाच, झुमरा नाच झर्रा नाच, जोगेडा नाच र थारू रिमिक्स नाच, बोटे समुदायको गोलेनी नाच साथै मुसहर समुदायको हुर्का नाचको मज्जासँगै आधा रात बिताउन सकिने होमस्टेका व्यवस्थापक धनीराम गुरौंले जानकारी दिए ।

हात्ती सफारी तथा जिप सफारी, नारायणी नदीमा बोटिङ, सामुदायिक वनमा पैदलयात्रा, आदिवासी जनजाति संग्रहालयको अवलोकनको मज्जा होमस्टे जानेका लागि महत्वपूर्ण हुने गुरौँको भनाइ छ । यसका अलवा छुट्टै प्याकेजमा माछा पोखरीमा फिसिङ, चरा अवलोकन, थारू, बोटे तथा मुसहर गाँउमा बयल गाडा सयर, थारू गाउँ अवलोकन (भिलेज वाक), नारायणी नदीको काखबाट सुन्दर सूर्यास्त दृश्य अवलोकन, हात्ती बाथ पनि गर्न सकिन्छ ।

कसरी सुरु भयो होमस्टे

बाहिरी दुनियाँसँग कुनै साइनो नभएको बाघखोरका स्थानीयको आफ्नो छुट्टै संसार थियो । वनजंगलका बचिमा समूह बनाएर कृषिमा औधी रुचि राख्ने जातिको रुपमा परिचित छ, थारु समुदाय । कृषिको काम सकेपछि वनजंगल र खोलामै रमाउने गर्थे । बालबच्चाहरु स्कुल जाँदैनथे । विद्यालय टाढा थियो । महिलाहरु नयाँ मान्छेसँग बोल्न लजाउँथे । युवाहरु कामको खोजीमा भौंतारिएका हुन्थे । समयक्रमसँगै स्थानीयको चेनतामा वृद्धि हुँदै गयो ।

चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुनाले यहाँका स्थानीय संरक्षणमा पनि जुटे । स्थानीय बिस्तारै शिक्षा, स्वास्थ्य, सामाजिक विकास, जीविकोपार्जन र संरक्षणमा जुट्दै गए । वन जंगल संरक्षण सम्भव बनाउन जनताको दिगो जीविकोपार्जनका लागि होमस्टे चलाउन पर्छ भन्ने सोंच पलायो, तत्कालीन चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अमलटारी उपभोक्ता समितिको अध्यक्ष प्रेमशंकर मर्दनिया थारुको मनमा । त्यसपछि निकुञ्जको सहयोगको केही स्थानीय होमस्टेको बारेमा बुझ्न बर्दियाको डल्ला गाउँ होमस्टेमा पुगे ।

डल्ला होमस्टे अवलोकन गरेर आएपछि विश्व वन्यजन्तु कोषको २० औं जन्म दिनको अवसरमा २०७० जेठ ५ गतेदेखि सुरु भयो, अमलटारी मध्यवर्ती होमस्टे । होमस्टेका अध्यक्ष भए प्रेमशंकर मर्दनिया थारु । उनकै पहलमा होमस्टे सुरु गरिएको हो, उनी हाल सम्म होमस्टेका अध्यक्ष नै छन् । सुरुमा १८ घरबाट सुरु भएको होमस्टे दोस्रो पटकमा थप्दा २४ घरमा पुग्यो अहिले ३१ घरसम्म फिँजारिएको छ । आदिवासी जाति थारु र नेपालकै सिमान्तकृत जाति बोटे समुदायले मात्र बाघघोरमा अमलटारी होमस्टे सञ्चालन गरेका छन् । सुरुमा बर्दियाको डल्ला गाउँ होमस्टे अवलोकनका लागि पुगेका उनीहरु आजभोलि सबल र सक्षम भइसकेका छन् । तुलनात्मक रुपमा डल्ला गाउँभन्दा अमलटारी हरेक हिसाबमा अगाडि बढेको होमस्टे व्यवस्थापक धनीराम गुरौंले बताए । नेपाल सरकारले ३७ औं विश्व पर्यटन दिवसका अवसरमा गन्तव्य होमस्टे गाउँका रूपमा घोषणा गरी प्रवद्र्धन पनि गरेको छ । साथै तारा गाउँ विकास समितिद्वारा २०७२ सालमा देशकै उत्कृष्ट होमस्टेको रूपमा अमलटारी होमस्टेलाई पुरस्कृत गरेको थियो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती र डन्डा बजारबाट करिब ७ किलोटिरको दूरी पार गरेर अमलटारी होमस्टे पुग्न सकिन्छ । होमस्टे भएका घरहरुमा २ वटा कोठा छन् जसमा ४ जना पाहुनामात्रै बस्न मिल्छ । अट्याच बाथरुमसहित २४ सै घन्टा पानीको व्यवस्था छ । बिजुली बत्ती नभएको बेला उज्यालोका लागि सोलार बत्तीको व्यवस्था पनि गरिएको छ ।

होमस्टेमा एकैरातमा १ सय २४ जनासम्म राख्न सक्ने क्षमता छ । पाहुना बढी भएको खण्डमा आफू सुत्ने कोठामा पनि व्यवस्थापन गरिने गरेको गुरौंले बताए । होमस्टे गर्दा स्थानीयको दैनिकी फेरिएको उनको भनाइ छ । होमस्टेमात्र हैन बाघखोरमा पर्यटकीय केन्द्र अमलटारीमा मझौला रेस्टुरेन्टदेखि ठूल्ठूला होटलसमेत खुल्ने क्रम बढेको छ ।

कावासोती नगरपालिकाले अहिले बाघखोर क्षेत्रलाई ग्रीनबेल्टका रुपमा विकास गर्ने योजना अनुरुप बिरुवा रोप्ने संरचनामा सहयोग गरेको छ । नगरपालिकाले अखेटोपहार बनाउन र थारु संग्रहालय निर्माणका लागि बजेट विनियोजन भएर काम भइरहको कावासोती नगरपालिकाका उपमेयर तथा होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए । अमलटारीसम्म पुग्ने सडक कालोपत्रे गराउने काम भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width