पोखरा स्पोर्टस् अवार्डको मनोनयन, वर्ष खेलाडी पुरुष र महिलालाई जनही २ लाख पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७७
sports award (1)

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘पाँचौ पोखरा स्पोर्ट्स अवार्ड २०७६/७७’ मा विभिन्न ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार वर्ष खेलाडी पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् ।
बागलुङको बोंगादोभानका २२ वर्षीय रसाइली १३ औं सागका स्वर्णधारी हुन् । लमजुङको दुराडाँडाका १७ वर्षीय विनेश खनियाँ सागमा रजत (टिम) र कास्य पदक विजेता हुन् । नवलपुरका सुमन २१ वर्षका भए । उनी सम्मिलित टिम सागको यु–२३ फुटबल प्रतियोगितामा च्याम्पियन बनेको थियो ।

यस्तै, वर्ष खेलाडी महिला विधामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) छन् ।

कास्कीको पोखराकी जमुनाले ७ वर्षदेखि साइक्लिङ खेल्न थालेकी हुन् । उनी १३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता हुन् । लमजुङ दूधपोखरीकी पार्वती नेपाल प्रहरीमा आबद्ध छन् । ९ वर्षदेखि तेक्वान्दो खेल्दै आएकी उनी सागमा उनकै नाममा १ स्वर्ण र १ कास्य पदक छ । प्रशंसाको घर स्याङ्जाका हरिनास हो । मझेरी तेक्वान्दो डोजाङ

पोखराबाट खेल सुरुवात गरेकी उनी सागमै पार्वतीसँगै खेलेकी हुन् । २४ देखि २९ वर्ष उमेर समूहमा तेक्वान्दोको पुम्से इभेन्टमा टिम इभेन्टतर्फ स्वर्ण पदक जितेकी थिइन् ।

उदियमान खेलाडीतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) परेका छन् । तीमध्ये दुवाना हाल थाइल्याण्डमा प्रशिक्षणमा व्यस्त छन् । उनले १३ औं साथमा २ रजत (एकलतर्फ) र ३ स्वर्ण (टिम रिलेतर्फ) गरी ५ पदक जितेकी थिइन् । प्रदीपको स्थायी ठेगाना ओखलढुंगा भए पनि पोखराको मालेपाटनमा हुर्के बढे । १२ वर्षदेखि पोखरा रंगशालामा लनटेनिस खेलिरहेका उनी गत सागमा टिम इभेन्टमा कास्य पदक विजेता हुन् । विपीन धनगढीमा जन्मे पनि उनको ठेगाना हाल पोखराको चाउथे हो । गण्डकी प्रदेशको पुरुष सिनियर टोली कप्तान हुन् । प्रथम प्रधानमन्त्री कपमा उनी उदियमान खेलाडी समेत घोषित भैसकेका थिए ।

उत्कृष्ट प्रशिक्षकतर्फ आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयन सूचीमा परेका छन् । आनन्द पोखराको लेकसाइडका स्थायी वासिन्दा हुन् । उनले २०५६ सालमा आठौं साफमा देशका लागि कास्य पदक जित्दै राष्ट्रको नाम राखेका थिए । हालसम्म ४ सय बढी पौडी खेलाडी उत्पादन गरेको उनको दाबी छ ।

पोखराको पृथ्वीचोकमा जन्मेका किरण सहारा क्लबसँग जोडिदै हाल नेपालको राष्ट्रिय फुटबल टिम (पुरुष) को प्रशिक्षणमा व्यस्त छन् । सुरेश मल्ल उमेरले ५६ वर्ष भैसक्दा समेत बक्सिङ हानिरहेका छन् । २२ वर्षदेखि प्रशिक्षणमा व्यस्त उनलाई हरेक बिहान पोखरा रंगशालामा भेट्न सकिन्छ ।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही २ लाख, उदियमान खेलाडी र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरिने छ । यस्तै लाइफ टाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवा, वर्ष उत्कृष्ट खेल संघलाई ३५ हजार र उत्कृष्ट २ जना पत्रकारलाई जनही ३५÷३५ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ । मनोयनमा परेकामध्ये उत्कृष्ट १ लाई नगदसहित पुरस्कृत गरिने मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए । साथै मनोनयन सूचीमा परेका सबैलाई ट्रफी प्रदान गरिने छ ।

यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ७ विधामा अवार्ड दिनेछ । मूल कार्यक्रम आगामी वैशाख २० मा पोखरा सभागृहमा हुने छ । बाँकी विधाको प्रतिभाको घोषणा पछि हुने मञ्चका महासचिव विजय नेपालले बताए ।

कार्यक्रममा राखेप सदस्य राजेश गुरुङ, खेलाडी छनोट समिति संयोजक रामकृष्ण ज्ञवाली, उपाध्यक्ष रञ्जन अधिकारीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width