फागु खेल्ने क्रममा विवाद हुँदा बागलुङमा कांग्रेस जिल्ला सदस्यसहित २ जनाको हत्या

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७७
baglung-police_office

पोखरा । फागु खेल्ने क्रममा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु भएको छ । निसिखोला र बडिगाढ गाउँपालिकाको बीचमा पर्ने बल्देको धुरी भन्ने ठाउँमा आइतबार साँझपख झडप भएको थियो ।

मृत्यु हुनेमा नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य प्रकाश कुँवर र कांग्रेसका क्रियाशील सदस्य दीपक परियार रहेको निसीखोला गाउँपालिका वडा नम्बर ७ अध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए । घटनामा १०÷१२ जना सम्पर्कमा नआएको खबर आफूले पाएको वडाध्यक्ष कुँवरले बताए । उनले भने,‘रमाइलोका लागि युवाहरु भेला हुने ठाउँ हो, झडपपछि मृत्यु भएको खबर पाएको छु, के भएको हो, अझै बुझ्न पाएको छैन ।’

सामान्य विवाद हुँदा झडप भएको र पछि विवादले राजनीतिक रुप लिएको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर बुढाको नेतृत्वमा आएको टोलीले आक्रमण गरी घाइते बनाएर कुँवर र परियाररलाई खोल्सामा फालेको प्रत्यक्षदर्शी रुपेश श्रेष्ठले बताएका छन् ।

स्थानीयले खोज्दै जानेक्रममा दुवैजनालाई मृतावस्थामा फेला पारेका थिए । उनीहरु दुवैजना निसिखोला गाउँपालिका ७ राजकुट निवासी हुन् । घटनाका बारेमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय बुर्तिबाङ र जिल्ला प्रहरी कार्यालयबाट टोली खटाइएको बागलुङका डिएसपी इकवाल हवारीले बताए । घटना साँझ ५ बजेतिरको हो । उनले भने, ‘पिकनिक गएका युवाबीच झडप भएको भन्ने सुन्नमा आएको छ, हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ, तर फोन सम्पर्क हुन सकेको छैन ।’ २ जनालाई भीरबाट खसाइदिएको भन्ने प्रारम्भिक सूचना प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width