तमु धिंको सामुदायिक भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
tamu dhi nepal

पोखरा । तमु धिं नेपाल सामुदायिक भवन एवं स्वागतद्वार बिहीबार शिलान्यास गरिएको छ । भवन शिलान्यासपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पहिचानका नाममा गुरुङहरुमा विभिन्न थर उपथरलाई प्राथमिकता दिँदै गएमा गुरुङको पहिचान नै गुम्ने खतरा औंल्याए । मौलिकताको नाममा कतिसम्म आफ्नो पहिचान संरक्षित हुनसक्छ भन्ने विचार पुर्‍याउन सुझाव दिँदै जातकै नाममा संकुचित हुन नहुने बताए ।

पोखरा ९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा २ तले सामुदायिक भवन एवं तमु संस्कृति झल्कने स्वागतद्वार शिलान्यास गरिएको हो ।

१ करोड ४२ लाख ८५ हजार ७ सय १४ रुपैयाँ लागतमा निर्माण हुने सामुदायिक भवन तथा स्वागतद्वार शिलान्यासका क्रममा तमु जातिका खेगीहरु पच्यु, क्ल्हेप्री, लामा गुरुहरुले मन्त्र पाठ गरेका थिए ।

भवन एवं स्वागतद्वार निर्माणका लागि गण्डकी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १ करोड र तमु धिं नेपालको जनसहभागिता ४२ लाख ८५ हजार ७ सय १४ रुपैयाँ अर्थात प्रदेश सरकार ७० प्रतिशत र तमु धिं नेपाल ३० प्रतिशतबाट निर्माण गरिने भएको हो ।

कार्यक्रममा तमु धिं नेपालका पूर्व कार्यसमिति सदस्य एवं खेलकुद उपसमितिका संयोजक भई योगदान पुर्‍याएका तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा नियुक्त र जिल्ला प्रहरी कार्यालय कास्की महिला सेल प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङ र निर्माण समिति संयोजक गोपाल गुरुङलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङले सम्मानित गरिएकोमा खुसी व्यक्त गरे । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ तमु समाज पोखराद्वारा चुट्का नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र सञ्चालन सचिव जुमबहादुर गुरुङले गरेका थिए ।

यसैबीच भवन तथा स्वागतद्वार निर्माणका लागि तमु फोरम युकेका निर्देशक राजु लेम गुरुङले १ लाख रुपैयाँ प्रदान गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width