मौरिसका पाइला पछ्याउँदै अन्नपूर्ण आरोहणमा पूर्णिमा श्रेष्ठ

भरत काेइराला
चैत्र ७, २०७७
cm hand over

पोखरा । क्यामेरा, लेन्स र ब्याट्रीले भरिएको गह्रु्रंगो झोला बोकेर गोरखाकी पूर्णिमा श्रेष्ठले काठमाडौंका गल्लीगल्ली चहारिन् । होटेलहरुमा पुगिन्, कार्यक्रमहरुमा सहभागी भइन् । पेसा थियो फोटो पत्रकारिता । घुमफिर त चलेकै थियो । तर सन् २०१७ को सगरमाथा बेसक्याम्पको घुमाइले उनको जीवनमै ‘यु टर्न’ ल्याइदियो । एभरेस्ट म्याराथनको फोटो खिच्न गएकी उनले विदेशीहरुको हिमाल मोह देखिन् । सगरमाथाको देशमा जन्मेर पनि त्यसको महत्व बुझ्न नसकेको अनुभूति उनले गरिन् ।

हिमालको फेदीबाट धित मरुन्जेल फोटो खिचिन् । फोटो खिच्दै गर्दा सगरमाथा कुन हो भनेर ठम्याउन सकस भयो । सोधिक्यारी हिमालहरुको नाम जानिन् । उनलाई लाग्यो, अब यी हिमालको नाम चिनेरमात्र हुँदैन । चुचुरो चुम्नुपर्छ । जसै उनको मनमा यो भावना उब्ज्यो । उसै साथीहरुलाई सुनाइन् । आउने वर्ष म सगरमाथा चढ्छु भनेर ।

तर सगरमाथा चढ्नुअघि ६ हजार मिटर अग्ला हिमाल चढ्नुपर्ने हुन्थ्यो । स्वास्थ्यले साथ दिने/नदिने, उच्च हिमाली क्षेत्रमा कति समयसम्म रहन सक्ने भन्ने पनि परीक्षण हुनुपथ्र्यो । त्यतिबेलै पूर्णिमाको मनमा लाग्यो, चढ्नु नै छ भने म आफ्नै जिल्लाको मनास्लु हिमाल चढ्छु । तर सिजन आउन समय धेरै थिएन । पहिलो त अभ्यास गर्नुपर्ने, अनि रकमको जोहो पनि । आँट त उनमा पलाइसकेको थियो ।

गोर्खामा जन्मेकी पूर्णिमाले अन्नपूर्ण प्रथम हिमाल चढ्ने साहस गरेकी छन्

आफ्नो आँटलाई यथार्थमा बदल्न उनी लागि परिन् । शारीरिक अभ्यास थालिन् । सकेजति रकमको जोहो पनि गर्न थालिन् । पहिलोपटक भएकाले आर्थिक सहयोग कमै भयो । उनले भनिन्, ‘सामान्य घर परिवार हो मेरो, परिवारको आर्थिक अवस्था कमजोरै छ, सुरुमा त ऋण नै खोजेर हिमाल चढेको हो ।’ उनको इच्छा सगरमाथा चढ्ने थियो । सगरमाथा चढ्ने इच्छासामु ८ हजार १ सय ५६ मिटर उचाइको मनास्लु तल प¥यो । विश्वकै आठौं र नेपालको सातौं अग्गो हिमालभन्दा माथि उनी पुगिन् । पूर्णिमाले जितिन् ।

अर्को वर्ष उनले सगरमाथामा पाइला नापिन् । विश्वकै सर्वोच्च शिखरमा पाइला राख्ने पहिलो नेपाली फोटो पत्रकारमा नाम दर्ज गराइन् । उनले सगरमाथा आरोहण मात्र गरिनन्, आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरिन् ।

उनको रहर थियो सगरमाथा । सर्वोच्च शिखर नै आरोहण गरेपछि अब अरु हिमाल नचढ्ने कि भन्ने पनि लागेको थियो पूर्णिमालाई । तर खतरासँग जुध्ने बानी परेको थियो उनलाई । ‘किलर माउन्टेन’ अमादब्लमतिर उनको मन गयो । उचाइमा कम भए पनि जोखिमपूर्ण भएकाले अमादब्लम चढ्ने निधो गरिन् । ६ हजार ८ सय १२ मिटर उचाइको अमादब्लममाथि पनि उनले पाइला राखिन् । उनी भन्छिन्, ‘हिमालको काखमा रमाउन धेरै मन पर्छ । मेरो नशामा नै हिमाल चढेको छ ।’

तिनै पूर्णिमा अहिले अन्नपूर्ण हिमालको चुचुरोमा पुग्न सातुसामल बोकेर पोखरा आइपुगेकी छन् । अन्नपूर्ण प्रथम पनि उस्तै खतरा हिमाल हो । उसो त विश्वकै ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा पहिला ‘भर्जिनिटी’ तोडिएको हो अन्नपूर्ण प्रथमको । फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई म्याकननले सन् १९५० को जुन ३ मा अन्नपूर्ण प्रथमको पहिलोपटक सफल आरोहण गरेका थिए । गोरखामा जन्मेकी नेपाली १ चेलीले त्यसैको ७ दसकपछि त्यही हिमाल चढ्ने साहस गरेकी छन् । उनी यो हिमालको चुचुरोमा पाइला राखिन् भने एउटा थप रेकर्ड बन्नेछ । अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो नेपाली महिला बन्नेछिन् पूर्णिमा ।

खतरा मोलेर फेरि हिमाल आरोहणमा किन ? पूर्णिमा भन्छिन्, ‘हिमाल चढ्दा लडिन्छ, घाइते भइन्छ, मरिन्छ भनेर डराएर पछि हटेकोे भए त म तपाईंहरुसँग यसरी खुसी बाँड्न पाउने नै थिइन नि ।’ हिमाल चढ्न काठमाडौंबाट निस्केकी उनी शुक्रबार पोखरा आइपुगेकी छन् । पूर्णिमाको हौसलाका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्णिमालाई ८ लाख रुपैयाँ प्रदान गरे । गण्डकी प्रदेशकी छोरीको अदम्य साहसप्रति खुसी व्यक्त गर्दै उनले सफल आरोहणपछि पोखरामा रथारोहण गराउन पाइने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले आफ्नो हस्ताक्षरसहितको राष्ट्रिय झन्डा पूर्णिमालाई हस्तान्तरण गरेका थिए । ‘यो आरोहणले थप खुसी पेस गर्ने छ । सरकारले पर्यटन प्रवद्र्धन हुने अपेक्षा राखेको छ,’ उनले भने, ‘तपाईंलाई आरोहणको शुभकामना छ ।’ भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको आरोही भएको भन्दै खुसी व्यक्त गरे । ‘महिला कति शक्तिशाली हुन्छन् भन्ने यो पनि अर्को उदाहरण हो,’ बस्नेतले भने, ‘प्रयास गर्ने हो भने असम्भव केही छैन ।’ कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल लगायत उपस्थित सबैले शुभकामना दिएका थिए ।

शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका पुग्ने उनको टोलीले आइतबारबाट पदयात्रा थाल्ने छ । बेस क्याम्पसम्म पूर्णिमाले भाइबहिनीलाई पनि लैजाँदैछिन् । गाउँपालिकाले शनिबार नै आरोहण टोलीको सम्मानमा विशेष कार्यक्रम नै गर्ने तय भएको छ । आरोहणका लागि मौसम अनुसार १ देखि डेढ महिना लाग्न सक्छ । सेभेन समिट टे«क्स एन्ड एक्पिडिसनमार्फत् उनी अन्नपूर्ण चढ्दैछन् । सेभेन समिटका पेम्बा शेर्पाका अनुसार अरुभन्दा खतरापूर्ण हिमाल भएकाले यति नै समय लाग्छ भनेर भन्न सकिँदैन । पूर्णिमा देशीविदेशी १७ जनाको टोलीमा रहनेछिन् ।

Related News

सम्बन्धित समाचार

    • सत्ता सहमतिमा मन्त्री नै वाधक !

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ मा बनेको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याइसकेको छ…
    • निगालोको चोया, जिउने सहारा

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । छेवैमा ह्वील चियर विश्राम दिएर चेतबहादुर गुरुङ स्याँखु बुन्दैछन् । गत सातादेखि सुरु गरेको काम सक्नै आँटेका छन्…
    • विश्वासको मतपछि अब मन्त्रिमण्डल पुनर्गठन तयारी

      प्रकाश ढकाल असार ५, २०७८
      पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रस्तावमा बहुमत सदस्यले पक्षमा मतदान…
    • मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पाेखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । जेठ २९ गते नेपालको संविधान…
    • भाग्दाभाग्दै सासू बुहारी च्यापिए पहिरोमा

      धनबहादुर गुरुङ असार ४, २०७८
      पोखरा । बिहानै ७ बजे घत्रक्क आवाज आयो, झ्यालबाट चिहाउँदा रुखहरु हल्लिएको जस्तो देखिन् । एकैछिनमै म्याग्दी मंगला गाउँपालिका ५…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग