देश जोगाउने जिम्मा कांग्रेसमा : पौडेल

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
Ramchandra-Paudel

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई सही ढंगले चलाउने पार्टी कांग्रेसमात्र भएको दाबी गरेका छन् । उनले मुलुकलाई अनिर्णयको बन्दी बनाइन नहुने भन्दै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

‘कांग्रेसले नै मुुलुकलाई नेतृत्व दिएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ,’ पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा उनले भने, ‘पार्टी नेतृत्व ढुलमुले अवस्थामा रहनु हुँदैन, मुलुकलाई दिशानिर्देश गर्ने गरी भूमिका खेल्नुपर्छ ।’

उनले पार्टी सभापति देउवाको उदासिनता रहस्यमय भएको समेत टिप्पणी गरे । मुलुकमा अधिनायक प्रवृत्ति हावी भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘अब कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्छ ।’

नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै उनले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेलमैदान रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे ।
केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरी मुलुकलाई अधिनायकवादतर्फ धकेलेको पनि उनले आरोप लगाए । पौडेलले म्यानमारमा मानवताविरुद्ध भएको सैनिक दमन र त्यस्तो क्रियाकलापको सर्वत्र विरोध गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्व मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, पूर्व मन्त्री यज्ञबहादुर थापा, कांग्रेस कास्की सभापति कृष्ण केसी, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पूर्णप्रसाद÷मायादेवी प्रतिष्ठानका अध्यक्ष भोला बराल, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, सम्मानित पत्रकार हिमनिधि लौडारी लगायतले समसामयिक राजनीति र पत्रकारिताको भूमिकाको विषयमा बोलेका थिए ।

नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।
सो अवसरमा नेता पौडेलले ३ दशकदेखि पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई २५ हजारसहित सम्मान गरेका हुन् । लौडारी रेडियो तरंग र हिमदूत दैनिकमा आबद्ध छन् । सो पुरस्कार यसअघि राजबहादुर गुरुङले पाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width