पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या

प्रकाश ढकाल
फागुन २०, २०७७
rupa

रुपा । कास्कीको रुपा गाउँपालिका ७ रामकोटका चित्रबहादुर घर्ती बिहानै खानेपानी पानी लिन घरबाट निस्किन्छन् । धारामा पुगेर गाग्री लाइनमा राख्नछन् । घन्टौंपछि उनको पानी भर्ने पालो आउँछ । पालो आएपछि पनि गाग्री भरिन झण्डै आधा घन्टा लाग्छ । घाम टाउकोमाथि पुग्ने बेला बल्ल पानी भरेर फर्किन्छन् उनी । त्यस क्षेत्रमा १० घर छन् ।

गाउँको बीचमा एउटा पाइप टाँगिएको धारा छ । पानी चाहिँ झर्दैन । झरे पनि कपालको रौंजत्रो । ‘धारा भने पनि त्यहि हो, पँधेरो भने पनि त्यहि हो । सबैका घरमा पानी चाहिन्छ, लाइन बस्नैपर्‍यो,’ उनले भने, ‘पानीको साह्रै दुख छ । म थाहा पाउने हुँदादेखि पानीको दुख ज्यूँका त्यूँ छ ।’ उनी आफै गाउँमा पानी ल्याउने कामको अगुवा हुन् । त्यस क्षेत्रमा सोलारबाट लिफ्टिङ पानी लैजाने तयारी छ । ‘पानी भए घरमै पँधेरो हुन्थ्यो । अहिले त गाउँभरि एउटै पनि धारा छैन,’ उनले भने, ‘पानी ल्याउन जोड गरेको वर्षौं बित्यो । जति गरे पनि जोर चलेन ।’

गाउँलेलाई दुख भएपछि पालिकाले घरघरै धारा पुर्‍याउने अभियान चलाएको छ

त्यहाँ कुर्लुङ खोलाबाट पानी लैजान लागिएको हो । तर मुल सानो भएकोले पर्याप्त पानी झर्नेमा स्थानीय शंका गर्छन् । आयोजनाका लागि मुख्य लाइनको काम सकिएको छ । शाखा पाइप लाइन खनिएको छ । १ सय २५ धारा बनिसकेको आयोजनाका अध्यक्ष दानबहादुर थापाले बताए । ‘ट्यांकीको काम भइरहेको छ । कतै २० हजार लिटरको ट्यांकी छ । कतै १६ हजारका छन्,’ उनले भने, ‘२० वटा ट्यांकी बन्छ । छिट्टै आउला ।’ रामकोटजस्तै रुपाका अधिकांश गाउँमा पानीको संकट नै छ । केहीले कुवाको पानी उवाएर खान बाध्य छन्, केहि दिनैभरि पालो पर्खेर पानी भर्छन् । उतिबेला गाउँबेंसी सामान्य कुरा हो । पुर्खाले अधिकांश बस्ती पारिलो र अग्ला थुम्काहरुमा बसाए । त्यसैले पानीको मुल भने गाउँभन्दा धेरै टाढा प¥यो । घरमा धेरै बालबच्चा हुने भएकोले पानीको मुल टाढा भए पनि लिन जानेको दुख थिएन । अहिले परिवार ठूलो छैन, घरमुलीहरु बृद्ध भइसके । पानी लिन टाढा जान सक्ने कुरै भएन ।

गाउँलेलाई दुख भएपछि पालिकाले घरघरै धारा पु¥याउने अभियान चलाएको छ । केही सोलारबाट लिफ्टिङ गरिएका छन् भने केही चाहिँ बिजुलीबाटै पनि पानी तानिएका छन् । रामकोट, हाँसपोखरी, माझगाउँ र टुनेपानीमा सोलारबाट ठूला आयोजना निर्माण गरिएको छ । अहिले ३ सय भन्दा बढी घरधुरीलाई पानी वितरण गर्न रामकोट सोलार परियोजना निर्माणाधीन छ । युनिका फाउन्डेसन, रुपा गाउँपालिका र स्थानीयको ६ करोड लागतमा यो आयोजना बनाउन लागिएको हो । रुपामा ४ वटा सोलार र ९ वटा आयोजना बिजुलीबाट लिफ्टिङ गरेर खानेपानी वितरण गर्न लागिएको पालिकाले जनाएको छ । लिफ्टिङबाट मात्रै करिब २ हजार घरधुरीलाई पानी वितरण गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गण्डकी प्रदेश सरकारले यही वर्षभित्र सबै घरमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य लिएको छ । यसबाहेक १ घर एक धारा अभियान पनि चलिरहेको छ । रुपा गाउँपालिकाले यसैवर्ष सबै घरमा धारा पु¥याउने ओझाले बताए ।

‘पालिकामा पानीको दुख निकै छ । बस्ती माथी प¥यो, मुल बस्तीभन्दा मुनि छ,’ उनले भने, ‘धेरै आयोजनामा लिफ्टिङ गर्नुपरेको छ । यो बढि खर्चिलो पनि छ ।’ हालसम्म ३ हजार ९ सय घरधुरीमा पानी पु¥याइसकेको उनले बताए । अब ५ सय घरमा मात्रै धारा जोड्न बाँकी छ । खानेपानीमा मात्रै रुपाभरि ४० करोड भन्दा बढी लगानी छ । त्यसमध्ये पालिकाले १३ करोड लगानी गरेको छ । साना ठूला ५७ वटा आयोजना सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले जानकारी दिए । उनका अनुसार रेडक्रस मार्फत् युनिका फाउन्डेसन, रोटरी क्लब, पालिका, प्रदेश र संघ सरकारले खानेपानीमा काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width