भेट्रान फुटबलमा २८ टिम

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७७
BBK Photo

पोखरा । चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ बाट पोखरामा सुरु हुँदैछ ।

नेपालकै जेठो भेट्रान फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने आयोजक बगर भाइ खलकले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फागुन २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, वीरगन्ज, हेटौडा, चितवन, बुटवल, वालिङ लगायत स्थानीय टिमले प्रतिस्पर्धा गर्ने संस्थाका अध्यक्ष दीलबहादुर गुरुङले जानकारी दिए ।

‘स्वास्थका लागि १ घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ सालदेखि ४० वर्ष देखि ६५ वर्षको उमेर समूहका अग्रज खेलाडी समेटेर भेट्रान्स फुटवल प्रतियोगिता गर्दै आइरहेको छ । संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी खेम गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । पूर्व राष्ट्रिय पूmटबल खेलाडी, पूर्व प्रशिक्षक, भूपू खेलाडी मञ्च नेपालका महासचिव एवं खेलकर्मी गुरुङलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने उनले बताए ।

प्रतियोगीतामा उपाधि विजेताले रनिङ सिल्डसहित नगद १ लाख ११ हजार १ सय ११, द्वित्तीयले नगद ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद १० हजार प्रदान गरिने छ ।

अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा ज्येष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई विशेष पुरस्कार प्रदान गरिने छ । द्वितीय पुरस्कार विजेताले प्राप्त गर्ने नगद ५५ हजार ५ सय ५५ यस वर्ष सहारा युकेले प्रायोजन गरेको अध्यक्ष गुरुङले बताए ।

पोखराको ऐतिहासिक पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि १५ लाख खर्च हुने तथा १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिव याम गुरुङले जानकारी दिए ।

प्रतियोगिताका लागि वगर भाइ खलक युके सह–प्रायोजकको भूमिकामा रहेको र वगर भाइ खलक युकेले आकर्षक र स्तरीय मेडल र ट्रफीहरु सौजन्यस्वरुप प्रदान गरेको महासचिव गुरुङले बताए । साथै प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकारले समेत सह प्रायोजन गर्ने भएको छ । प्रतियोगिताका लागि पोखरा महानगरपालिका, भेट्रान ग्रुप हङकङ, तमु धिं युके, अखिल नेपाल फुटबल संघ, बगर भाइ खलक जापान, पोखरा महानगरपालिका वडा नम्बर १ को कार्यालयले सहयोग गरेको छ भने संस्थाका आजीवन सदस्यहरुले समेत सहयोग गरेको महासचिव गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै