बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७७
eye camp

दमौली । व्यास ४ की आशमाया श्रेष्ठले ३ वर्षदेखि दायाँ आँखाले देखिनन् । एउटा आँखाले मात्र काम गर्न ८० वर्षीया उनलाई समस्या भयो । आर्थिक अवस्था कमजोर हुँदा धेरै टाढा गएर उपचार गराउने सपनासम्म कहिल्यै देखिनन् ।

यत्तिकैमा फागुन ११ मा व्यास २ बालमन्दिर विद्यालयमा आँखा शिविर सञ्चालन हुँदैछ भन्ने थाहा पाइन् । परिवारका सदस्यको साथ लागेर नजिकैको बालमन्दिर विद्यालय पु्गिन् । उपचारकक्रममा आँखाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने सुझाव दिए । अप्रेसनका लागि पैसा थिएन । नगरपालिकाले अप्रेसन खर्च व्यहोर्ने भएपछि ढुक्क भइन् । भनिन्, ‘यो खुसीको बयानै गर्न सक्तिनँ । आँखा देख्ने मेरो सपना रोकिएको थियो । अब आँखा देखेपछि पक्कै दैनिक काम गर्न सहज हुनेछ ।’

श्रेष्ठको जस्तै अन्य ६४ जना ज्येष्ठ नागरिकको आँखाको अप्रेसन नगरपालिकाले नै गरिदिने भएको छ । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले आयोजना गरेको आँखा शिविरमा ७ सय ७० जनाले परीक्षण गराएका थिए । जसमा ६४ जनालाई अप्रेसका लागि पोखरा रिफर गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, ‘उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरेका थियौं ।’

आँखाको समस्या हुनेमध्ये धेरैलाई मोतिबिन्दु देखा परेको छ र अप्रेसन खर्च नगरपालिकाले गर्ने जनाइएको छ । शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनुका साथै आवश्यकता अनुसार निःशुल्क औषधि र चस्मा वितरण गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शिविरको पहिलो दिन व्यास १, २, ३ र ४ का १ सय ६४ को जाँच गरिएको छ ।

फागुन १२ मा व्यास–५, ६, ७ र ८ का दुई सय २१ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । त्यस्तै दोस्रो दिन व्यास वडा ९, १०, ११, १२ का २ सय १३ जनाको र फागुन १४ मा वडा १३ र १४ का १ सय ७२ जना ज्येष्ठ नागरिकको परीक्षण गरिएको हो ।

अपरेशनको लागि पोखरा रिफर गरिएको ज्येष्ठ नागरिकलाई नगरपालिकाले नै पोखरा लैजाने र उपचार पश्चात फर्काएर ल्याउने बताईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width