बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

साधन राम्जाली
फागुन १४, २०७७
beni accident

तस्बिर सौजन्य : कुमार केसी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ बाट बिरामी बोकेर पोखरातर्फ जाँदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ ।

बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फापरखेत पहिरो नजिकै बिहीबार राति करिब १० बजेको समयमा ग १ ज ६७८८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना मध्ये एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर ३ का ६२ वर्षीय गोविन्द रोका मगर रहेका छन्।

यसैगरी, घाइते हुनेमा मालिका–३ की ३० वर्षीया रेजुना रोका मगर, मालिका –३ का ३८ वर्षीय  खगेन्द्र रोकामगर, सोही मालिका–३ का २९ वर्षीय रविन्द्र रोकामगर र मालिका –१ का चालक अन्दाजी ३२ का नरबहादुर सिउथानी रहेकाे जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, जिप सडकको घुम्तीदेखि करिब ५० मिटर तल खोला किनारमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।

गम्भीर घाइते गोविन्दलाई अस्पतालले मृत घोषणा गरेको हो । घाइते चालकको खुट्टाको गोडामा गहिरो चोट लागेकोले थप उपचारका लागि पोखरा रिफर गरिएकाे छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width