भलिबलमा पाेखरेलीकाे क्रेज, प्यारापिटमा थामिनसक्नु भीड

धनबहादुर गुरुङ
फागुन ९, २०७७
Darsak 1

पोखरा । जित्नुपर्ने दबाब एकातिर, अर्कोतर्फ दर्शक हुटिङ । नेपालकै नम्ब। १ मानिएको त्रिभुवन आर्मीविरुद्ध गण्डकी प्रदेशबीच भलिबल प्रतियोगिताको फाइनल थियो । २–२ सेट आफ्नो पक्षमा पारेपछि अन्तिम सेट १४–११ स्थितिमा आयो । दबाबकै बीच दर्शक हुटिङ जोसले हानिएको थियो, विजयी सट । जब आर्मीका खेलाडीको हातमा लाग्दै बल कोर्ट बाहिर खस्यो, गण्डकी प्रदेशले जित्यो । त्यो समय खेलाडीभन्दा बढी दर्शक खुसी देखिन्थे ।

यो रोमाञ्चक दृश्य थियो–अघिल्लो शनिबार प्रथम टाइगर कप भलिबल प्रतियोगिताको फाइनलको । खेल न हो, जता पनि मोडिन सक्थ्यो । गण्डकी प्रदेशको कप्तानी सम्हालेका हरि पाण्डे दर्शकको साथ र मायाले नै खेल जितिएको प्रतिक्रिया दिन्छन् । फाइनलका ४ सेटमा गतिलो प्रदर्शन गर्न नसकेका पाण्डे फाइनलमा दर्शकको हुटिङ र साथले आँट पलाएको बताउँछन् । दर्शकको हौसलाले प्रतियोगिता जित्न ठूलो भूमिका खेलेको उनले प्रतिक्रिया दिए । ‘गेमको प्रेसर एकातिर थियो, अर्कोतर्फ त्यत्रा दर्शकको माया खेर जान्छ कि भन्ने थियो मनमा,’ उनी भन्छन्, ‘दर्शकले हुटिङ नगरेको भए जोस आउने थिएन होला ।’
पोखरा रंगशालामा शनिबार सोचेभन्दा बढी दर्शक आएको उनको भनाइ छ । ‘म धेरै ठाउँमा खेल्दै हिडेको छु, यति धेरै दर्शक बीचमा खेलेको यही हो’, उनले भने, ‘होम ग्राउन्डमा धेरै हुटिङ आएको कारण पनि खेल जितियो ।’

खेलाडीको राम्रो प्रदर्शन अनुसार खेल जितिने भए पनि दर्शक हुटिङ महत्वपूर्ण रहेको गण्डकी प्रदेश टिमका प्रशिक्षक रमेश केसी बताउँछन् । खेलाडीलाई जित्नुपर्छ भनेर कोर्टमा पठाए पनि दर्शकको हौसला र हुटिङकै कारण आफूलाई पनि ऊर्जा थपिने गरेको केसीले बताए ।

कोरोना महामारीपछि प्रदेशमा भएको प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थितिले उनी पनि खुसी नै छन् । राष्ट्रिय खेल भलिबलमा पछिल्लो समय मोह बढ्दै गएको उनले बताए । गाउँगाउँमा भएका खेलाडीलाई दर्शकको मायाले झनै यो खेलप्रति उत्साह जाग्ने उनको भनाइ थियो ।

जतिसुकै ठूलो प्रतियोगिता पनि दर्शकको अनुपस्थितिमा खल्लो हुन्छ । दर्शकले पोखरामा पहिलोपटक आयोजना गरिएको प्रथम टाइगर कप भलिबलमा राम्रै साथ मात्र दिएनन्, दर्शक आफै पनि यो प्रतियोगितालाई लिएर उत्साहित बनेका थिए ।

पोखरामा फुटबल प्रतियोगिता हुँदा प्यारापिट भरिभराउ हुने गरे पनि यसपटक भलिबल खेलले राम्रोसँग दर्शक तानेको छ । सट हान्दा होस वा ब्लक गर्दा आवाज नसुनिए खेल नै खल्लो हुन्छ । खेल हेर्न पोखरा मात्र होइन, छिमेकी जिल्ला र पोखरा घुम्न आएका अन्य जिल्लाका मानिस पनि मैदानमा पुगेको पाइयो । बालक होस वा वृद्ध प्रतियोगिता हेर्न मैदानमा पुगेका हुन्छन् ।

अहिले पोखरा रंगशालामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता पनि चलिरहेको छ । यो प्रतियोगितामा पनि दर्शकको उल्लेख्य सहभागिता छ । कामले गर्दा मैदानमा जान नसकेका फेसबुक र युट्युबमा आएको लाइभ मोबाइल सेटमा नै यो खेलको मज्जा लिइरहेका छन् ।

प्रतियोगिता हेर्न आएका सिरहाका भरतविक्रम बाँनिया भन्छन्, ‘पोखरामा फुटबलमा मानिस ओइरिएको देखेका थियौं तर भलिबलमा पनि क्रेज निकै रहेको रहेछ ।’ आफू अशक्त भए पनि चारपांग्रे स्कुटर लिएर आउने गरेको उनले बताए ।

बानियाँजस्तै स्याङ्जाका रेशम गुरुङ पनि भलिबल भनेपछि हुरुक्कै हुन्छन् । लामो समय विदेश बसेका उनी विदेशमा हुने भलिबल प्रतियोगिता कुनै पनि नछुटाएको उनको भनाइ छ । ‘विदेशमा हुँदा पनि जता गेम हुँदा पनि जान्थें,’ उनले भने, ‘पोखरामा पनि अरुणा जिताऔं अभियानमा भएको खेलदेखि टाइगर कप हेर्न आएको थिएँ, अहिले मुख्यमन्त्री कप पनि दिनदिनै हेर्न आएको छु ।’ कहिलेकाहीँ हेर्न आउन भ्याउदिनँ भने मोबाइलबाटै लाइभ हेर्ने गरेको उनले बताए ।

टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले पछिल्लो समय पाखरेलीको भलिबलप्रतिको मोह बढेको बताए । फाइनलमा अपेक्षाभन्दा बढी दर्शक उपस्थित भएको उनले बताए । त्यसैले सिट व्यवस्थापन गर्नै समस्या परेको उनको भनाइ थियो । ‘हामीले कोरोनापछि खेल गतिविधि सुरु भयो है भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरेका थियौं,’ उनले भने, ‘हामीले सोचेको भन्दा बढी दर्शक आइदिनुभयो, भुइँमै बसेर भए पनि हेर्नुुभयो, सम्पूर्ण दर्शकमा धन्यवाद ।’

टाइगर कपको फाइनल ३ हजार ४ सय दर्शकले टिकट काटेरै हेरेको टिकट व्यवस्थापन समिति संयोजक विष्णु गुरुङले जानकारी दिए । फाइनलमा करिब ४ हजार दर्शकले खेल अवलोकन गरेको टाइगर ग्रुपका महासचिव प्रकाश बरालले बताए । कोर्टमा २ हजार ५ सय सिट क्षमताको बनिबनाउ प्यारापिट भए पनि ५ सयका लागि कृत्रिम प्याराफिट तयार गरेको उनले बताए । दुवै प्याराफिट भरिभराउ भएर दर्शक भुइँमा पनि बसेर हेरेका उनको भनाइ थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले गण्डकीमा भलिबल मोह दिनानुदिन बढेको बताउँछन् । भलिबलको बढ्दो मोह ध्यानमा राख्दै समितिले पनि नयाँ योजना अगाडि सारेको उनले बताए । सबैभन्दा पहिला प्यारापिट क्षमता बढाउनुपर्नेमा उनको जोड छ । हालको पूर्वतर्फको प्यारापिट २ हजार ५ सय सिट क्षमताको भएको बताउँदै अब त्यसमाथि निकट भविष्यमै सिटम थपिने जनाए । उत्तर तर्फ पनि प्यारापिट बनाउने र अन्य क्षेत्रमा पनि प्यारापिट पूर्वाधार बनाउने योजना रहेको उनको भनाइ छ । सरकारले २०७४ सालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width