मोदी, मादी र आँधीबीचको भूभाग समेट्नुपर्छ पोखराले

तीर्थ श्रेष्ठ
फागुन १, २०७७
tirtha shrestha

पाेखरा । मदन पुरस्कार गुठीद्वारा आयोजित मदन पुरस्कार सम्मान समारोहमा उपस्थित भएर आफ्नो विचार प्रस्तुत गर्ने अवसरका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । महारानी उपन्यासका लागि वर्ष २०७६ को मदन पुरस्कार प्राप्त गर्नु भएकोमा उपन्यासकार श्री चन्द्रप्रकाश बानियाँजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । जगदम्बा-श्री पुरस्कारबाट सम्मानित श्रद्धेय शान्ति ठटालज्यूलाई पनि म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । सुयोग्य कृति र पात्रको चयन गरेर मदन पुरस्कार गुठीले आफ्नो गौरवशाली परम्परा कायम गर्न सफल भएको छ । यसका लागि गुठी परिवारलाई पनि हार्दिक बधाई! श्री कनकमणिजीले मलाई यस समारोहमा आफ्नो विचार व्यक्त गर्ने अवसरको जानकारी दिनु हुँदा पोखराकै सन्दर्भमा विचार व्यक्त गर्नका लागि प्रोत्साहित गर्नु भएको थियो । म त्यसतर्फ उन्मुख हुनुअघि नेपाली भाषा, साहित्यका एक महान् सेवी, मदन पुरस्कार गुठीका एक स्तम्भ स्व.कमलमणि दीक्षितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँसँगका भेटघाट र यात्राका केही अविस्मरणीय सम्झनाहरू पनि छन् मसँग । कुनै दिन ती सम्झनाहरूलाई सार्वजनिक गर्ने नै छु ।

आज म के बोलौं / के नबोलौंको दुविधामा छु । संसारमा बोल्नुपर्ने र लेख्नुपर्ने बाँकी नै के छ र ? पढ्नु पर्ने, अनुभव गर्नुपर्ने, सुन्नुपर्ने र जान्नुपर्ने कुरा अथाह छन् र म यी सबैबाट टाढा छु । कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न कविता लेख्ने कोसिस गर्छु । थाहा छैन, ती प्रयत्नहरू कति कविता भए कति प्रयत्नमै सीमित रहे । म जस्तो सामान्य मान्छेका लागि यो अवसर पनि थामीनसक्नुको बोझ हुँदो रहेछ । फेरि पनि म प्रयत्न गर्छु ।

म सानो हुँदा मेरी बजैले आफ्नो चोरऔँलाले हिमालतिर सङ्केत गर्दै भन्नुहुन्थ्यो- ‘ऊ त्यो ऐरावत हात्ती हो’ । म बुझ्दिनथेँ । सायद नबुझेको भाव मेरो चेहरामा बुझिने ढङ्गले देखा पर्थ्यो । उहाँ फेरि बुझाउने कोसिस गर्दै भन्नुहुन्थ्यो- ‘ऐरावत हात्ती भनेको स्वर्गको राजा इन्द्रले चढ्ने हात्ती हो । त्यो हिमाल त्यही ऐरावत हात्ती हो’ । मेरी बजैको त्यो कथन अचेल म आफ्नै सम्पदाको सदुपयोग गरेर आफ्नो भूमिलाई स्वर्ग बनाउन सक्छौं भन्ने अर्थमा बुझ्छु । स्वर्ग बन्ने सम्भावना भएको तर पाइला पिच्छे अवसरबाट चुकेको मेरो पोखरा के कुनै पुराकथाको अभिशप्त अप्सरा हो? पोखरा सम्झँदा मान्छेहरू सम्भवतः माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खला सम्झन्छन् । सेती नदी र फेवा ताल सम्झन्छन् । गन्धर्वहरू र सारङ्गी सम्झन्छ्न् । लाहुरेहरू सम्झन्छन् । पोखरासँग जोडिएका यस्ता थुप्रै सम्झनाहरू हुन सक्छन् । पोखराका लोक-संस्कृति, साहित्य, कला, सङ्गीत लगायतका थुप्रै पाटाहरू पनि छन् । जसलाई नसम्झी पोखराको परिचय पुरा हुन सक्दैन । यी सबै सन्दर्भहरूको विस्तारपूर्ण वर्णन अहिले उचित हुँदैन कि?

पोखराको प्राकृतिक सुन्दरताको जापानी भिक्षु इकाइ कावागुची, टोनी हागनदेखि लिएर बेलायती कवि बिल्फ्रेड न्वायसहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । निश्चय नै यसको प्राकृतिक सौन्दर्य मोहक छ ।  पर्वतारोहण र पदयात्राको इतिहासमा केही कीर्तिमान पोखरा र यस वरिपरिको भूभागमा रचिएका छन् ।  विश्व पर्वतारोहणको इतिहासमा पहिलो पटक ८००० मिटर अग्लो हिमाल आरोहणको कथा यहीँ लेखिएको हो । सन् १९५० जुन ३ तारीखका दिन फ्रेन्च आरोही मौरिस हर्जोग र लुइ लेकेनलले अन्नपूर्ण-प्रथम, प्रथम पटक आरोहण गरेर यो कीर्तिमान कायम गरेका हुन् । मौरिस हर्जोगले पछि दि अन्नपूर्ण भन्ने पुस्तक लेखेर अन्नपूर्णको विश्वव्यापी प्रचारमा योगदान पुर्‍याए । अन्नपूर्ण पदयात्रा मार्गलाई लोकप्रिय बनाउन यो पुस्तकको पनि योगदान पुग्यो होला भन्ने अनुमान गर्नु अनुचित नहोला ।

विदेशमा कुनै कुस्माको बासिन्दाले, दमौलीको बासिन्दाले वा स्याङ्जाको बासिन्दाले घर कहाँ हो भनेर सोध्दा दिने जवाफ ‘पोखरा’ नै हो ।

कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुरबाट व्यापारका लागि २६ नेवार परिवारलाई ल्याएर बजार बसाएका हुन् भनिन्छ । तिनै नेवारहरूले गण नृत्य (बाह्र भैरव नृत्य) त्यो बेलादेखि निरन्तर रूपले प्रदर्शन गर्दै पोखराको सांस्कृतिक इतिहासको निर्माणमा योगदान पुर्‍याएका छन् ।  झण्डै २० को दशकदेखि पोखरामा छिमेकी गाउँ र जिल्लाहरूबाट बसाइँ सर्ने क्रमले तीव्रता पाएसँगै यौटा अनौठो सांस्कृतिक इन्द्रधनुषको निर्माण भएको पाउन सकिन्छ । मुस्ताङ, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङबाट विभिन्न जाति र समुदायको आगमनसँगै यहाँ सांस्कृतिक सम्मिलनको क्रम पनि शुरु भयो भन्न सकिन्छ । पोखराको वरिपरिका गाउँहरूबाट बजार झर्ने क्रमले तीव्रता पाउनुको पछाडि भारतीय तथा बेलायती सेनामा भर्ती भएका लाहुरेहरूको आफ्नो परिवारको सहज जीवन यापनको चाहना मुख्य कारण हो भन्न सकिन्छ । यसरी पोखरा विविध जातिको सङ्गमस्थल हुन पुग्यो । पोखराको वर्तमान स्वरूपको निर्माणमा बसाइ सराइको महत्वपूर्ण योगदान रहेको छ ।

२००७ सात सालको क्रान्तिको सेरोफेरोमा नै पोखरामा पनि सामाजिक जागरणको लहर चलेको महसुस हुन्छ । वि.सं. १९५८ मा देवशम्सेरको पालामा राजकीय संस्कृत पाठशालाको स्थापनासँगै पोखरामा संस्थागतरूपमा शिक्षा विकासको प्रारम्भ भएको मानिए पनि त्यसअघि नै यहाँका पराजुली, रेग्मी, अधिकारी र पौडेल लगायतका कुलका पण्डितहरूले गुरुकुल र पिंढी पाठशालाका माध्यमबाट शिक्षा दिंदै आएको तथ्य भुल्न मिल्दैन । यही क्रममा २००४ सालमा पोखराको बाटुलेचौरमा आधार स्कूल र २००६ सालना नदीपुरमा पब्लिक मिडिल स्कूलको स्थापनालाई पोखराको शैक्षिक इतिहासका महत्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । २००८ सालमा जनश्रमदानबाट निर्मित पोखरा विमानस्थलमा विमानद्वारा पहिलो पटक बी. पी. र गणेशमान सिंहको आगमन पोखराको इतिहासमा उल्लेखनीय घटनाका रूपमा लिन सकिन्छ । यी महत्वपूर्ण घटनाहरूले केही  हदसम्म पोखरालाई र यसको भविष्यलाई मार्ग निर्देशित गरेको भए पनि पोखरा के हो र यसको सम्भावना के हो भन्ने विषयमा अझै व्यापक छलफलको आवश्यकता छ ।

राजा महेन्द्रले फेवा किनारमा आफ्नी रानी रत्नको नाममा रत्न मन्दिर निर्माण गरेसँगै पोखराप्रति तत्कालीन राजदरबारको सकारात्मक दृष्टि परेको मान्न सकिन्छ । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गको निर्माणले पोखराको सम्भावनालाई विस्तार गर्‍यो । त्यसैको सेरोफेरोमा भारतीय राजदूतावास, अमेरिकी राजदूतावास र बेलायती राजदूतावासहरूले इण्डियन, अमेरिकन र ब्रिटिस लाइब्रेरीहरूको स्थापना र सञ्चालन गरे तर त्यस प्रयासले निरन्तरता पाउन सकेन । पृथ्वीनारायण कलेजको स्थापनाले पोखरालाई एक महत्त्वपूर्ण शैक्षिक केन्द्रमा रुपान्तरित गर्‍यो । युनाइटेड मिसन टु नेपालले २०१३ सालमा साइनिङ हस्पिटलको निर्माण र सञ्चालनमा ल्याएपछि पोखरा वरिपरिका गाउँहरू र छिमेकी जिल्लाहरूको लागि स्वास्थ्य केन्द्रका रूपमा समेत देखा परेको हो । भारतीय पेन्सन क्याम्प र ब्रिटिस पेन्सन क्याम्पको स्थापनाले विदेशी सेनामा सेवा निवृत्त पूर्व सैनिकहरूको लागि पनि यो आकर्षणको केन्द्र बन्न पुग्यो । यसरी बिस्तारै पोखरा पश्चिमाञ्चल क्षेत्रको केन्द्रका रूपमा विकसित हुँदै गयो । केही संस्थाहरूको स्थापना र सञ्चालनबाट पोखराको विकासमा सकारात्मक प्रभाव परेकोमा शायद कुनै विवाद छैन तर समग्रमा पोखराको स्वरूप, स्वभाव र सम्भावनाका बारे व्यापक विमर्शमा जुट्न ढिलो भइसकेको छ ।

संक्षेपमा म पोखराको खासै चर्चामा नरहेका केही तथ्यहरू बारे चर्चा गर्ने कोसिस गर्नेछु । भारतमा र विभिन्न राष्ट्रहरूमा अक्षरधाम मन्दिर निर्माण गरिरहेको स्वामीनारायण सम्प्रदायका गुरु स्वामी नारायणले मुक्तिनाथमा तपस्या गरी ज्ञान प्राप्त गरेपछि पोखरामा आएर स्वामी गोपाल योगीसँग एक वर्षसम्म अष्टाङ्ग योग सिकेर दीक्षा ग्रहण गरेका थिए । यो घटनाको वर्णन हाम्रो इतिहासमा पाइँदैन । स्वामी नारायणको जीवनीमा उल्लेख गरिएको यो घटनाले योग साधनाको क्षेत्रमा पोखराको संलग्नताको पुष्टि गर्दछ ।

पोखरा प्राकृतिक दृष्टिले सुन्दर भएकोमा सम्भवत: कसैको दुई मत नहोला तर ८०००मि. अग्लो तीन हिमाल (धौलागिरी, अन्नपूर्ण प्रथम र मनास्लु) एकै साथ टिसर्ट लगाएर हेर्न सकिने शायद संसारको एक मात्र शहर पनि हो ।

पोखराको भविष्य पर्यटनसँग जोडिएको छ । यो निर्विवाद छ, तर भोलिको पोखरा कहाँदेखि कहाँसम्म विस्तारित हुन सक्दछ? त्यसको लेखाजोखा र तद्नुरूपको चिन्तन र योजनाको आवश्यकता पनि छ । मेरो विचारमा भोलिको पोखरा मोदी, मादी र आँधीको बीचको भूभागका रूपमा हेरिनु पर्दछ । कुस्मा, दमौली र स्याङ्जालाई समेत जोडेर विशाल पोखरा सम्भव छ । राजमार्गहरूको स्तरोन्नतिसँगै मोदी, मादी र आँधी बीचको एक आपसी दूरी एक घण्टाको र हालको पोखरासँगको दूरी आधा घण्टादेखि चालीस मिनेटको हुनेछ । अहिले पनि मनमा पोखराको सिमाना यही हो । विदेशमा कुनै कुस्माको बासिन्दाले, दमौलीको बासिन्दाले वा स्याङ्जाको बासिन्दाले घर कहाँ हो भनेर सोध्दा दिने जवाफ ‘पोखरा’ नै हो ।

यो पोखरा कवि शिरोमणि लेखनाथको पोखरा हो । यो जनकवि केशरी धर्मराज थापाको पोखरा हो । यो झलकमान गन्धर्वको पोखरा हो । यो अलिमियाँको पोखरा हो । यो दुर्गा बरालको पोखरा हो । यो सरूभक्तको पोखरा हो । जसरी यहाँका नदीनाला र ताल-तलैयाहरूले यहाँको भूमि सिञ्चेका छन् त्यसरी नै यहाँ संस्कृतिका संवाहकका रूपमा विभिन्न जातजातिका मानिसहरूले यहाँको सांस्कृतिक धरातललाई सिञ्चेका छन् । पोखराको यौटै दुर्भाग्य यहाँको सम्भावनालाई सम्बोधन गर्ने सामर्थ्य सहितको राजनैतिक नेतृत्व यसले पाउन सकेको छैन ।

मैले राम्ररी चिन्न नसकेको पोखराका विषयमा यहाँ धेरै कुरा छुटेका छन् भन्नेमा म विश्वस्त छु । मदन पुरस्कार समर्पणका लागि आयोजित यस विशेष समारोहमा मलाई आग्रह गरिए अनुसार कर्तव्य निर्वाहको यो सानो प्रयत्न म यहीं टुङ्याउन चाहन्छु ।

महारानीका सर्जक चन्द्रप्रकाश बानियालाइ शनिबार पोखरामा मन पुरस्कार अर्पण कार्यक्रममा श्रेष्ठले प्रस्तुत गरेको विद्वत प्रवचन ।

Related News

सम्बन्धित समाचार

hero news full width