फेवा छेउमा मनालाग्दी बाटो

आदर्श समाज सम्वाददाता
माघ २७, २०७७
fewa lake followup

पोखरा । समयमै कडाइ गर्न नसक्दा फेवाताल आसपास अनियन्त्रित रुपमा संरचना निर्माणको काम भइरहेको छ । कोहिले रेस्टुरेन्ट खोलेका छन्, कसैले पर्खाल ठड्याएका छन् । रातोमाटे डाँडामा अहिले तालको डिलबाट तालतर्फ सडक खन्न थालिएको छ । होमबहादुर थापा, सन्तोष थापा लगायतको टोलीले मध्यरातमा डोजर चलाएको वडाध्यक्ष रणबहादुर थापाले बताए । उनका अनुसार जेसिबी लगाउँदा मुख्य बाटो समेत भत्किएको छ ।

५० मिटरभन्दा बढी कच्ची बाटो खनिएको प्राविधिकहरुले जानकारी दिएका छन् । थापाले राज्यको स्पष्ट नीति नहुँदा केही गर्न नसकिएको बताए । ‘सँधै वडाध्यक्षले कति समातेर बस्ने ? राज्यले स्पष्ट नीति ल्याएर काम गर्नुप¥यो नि !,’ उनले भने, ‘हामी आफ्ना कुरा भनिरहेका छौं । रोक्ने कुनै आधार छैन । कति जनाको दुश्मन बनेर बस्नु ?’

फेवा किनारमा अनाधिकृत काम भइरहँदा पनि पोखरा महानगर निरीह

बाटो खनेको आरोपमा जेसिबी सहित २ जनालाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको छ । बाटोमा क्षति पु¥याएको आरोपमा रिटेनिङ वाल लगाउनुपर्ने र त्यसको खर्च बाटो खन्नेहरुले बेहोर्ने थापा बताउँछन् । ‘३ लाख क्षति भएको प्राविधिकले स्टिेटमेन्ट निकालेका छन् । त्यो क्षतिपूर्ति उनीहरुसँग भराउनुपर्छ,’ उनी भन्छन्, ‘प्रहरीले महानगरमा रिफर गरिदिएको छ ।’

नागरिक समाजका अगुवा रामबहादुर पौडेल राजनीति भित्रको गुण्डागर्दी तालमा देखिएको बताउँछन् । ‘नागरिक समाजले विरोध गर्छ । सुनुवाई हुँदैन । एउटा–एउटा पार्टीको खोल ओढेर ताल सिध्याउने भए,’ उनले भने, ‘सरकार जिम्मेवार भएन ।’ वडा नम्बर १८ भित्रै तालको पानीमा पर्खाल उठाएर पछिल्लो वर्षमात्रै दर्जनभन्दा बढी रेस्टुरेन्ट खुलेका छन् । केही रेस्टुरेन्टले नयाँ संरचना थपेका छन् । बन्ने बेलामा रोक्ने र बनिसकेका संरचना भत्काउने तर्फ राज्य उदासीन बनेको छ ।

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जग्गाधनीहरुले राज्यलाई नै नटेरेको बताए । ‘अलिअलि नटेरेका हुन् । अलिअलि अनुगमन पनि कमजोर भयो,’ उनले भने, ‘हेर्दा ताल अब महानगरको नियन्त्रणमा छैन जस्तो भयो ।’ उनले मनपरि बाटो खन्नेलाई हदैसम्मको कारबाही गर्ने बताए । ताल छेउका जग्गाधनीहरु राज्यको स्पष्ट नीति नहुँदा आफूहरु मर्कामा परेको बताउँछन् । ‘गरिखाने खेत तालमा पुरिएको छ । किनारमा केही गरौं भन्दा पनि रोक्छ,’ उनीहरुले भने, ‘कि राज्यले नै मुआब्जा दिएर हाम्रो जग्गा लियोस् । नत्र काम गरेर खान किन रोक्ने ?’

रातोमाटे डाँडाकै छेउमा जमीन पुरिएको छ । सेदीमा धमाधम डाँडा भत्काएर सडक बनाउन थालिएको छ । ड्यामको मर्मतका लागि तालको पानी घटाइएको मौका छोपेर झनै संरचना थपिने आशंका धेरैको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width