बेनीको नगरसभामा बजेट संशोधन, वातावरण विधेयक पारित

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
beni nagarsava (1)

aa

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले संशोधित बजेट र वातावरण सम्बन्धी बनेको विधेयक पारित गरेको छ ।

नगरपालिकाको सोमबार सम्पन्न आठौं नगरसभामा नगर उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७७/७८ को संशोधित बजेट पारित गरेको छ ।

नगरसभामा विपद् व्यवस्थापन समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष टेकबहादुर रावलले प्रस्तुत गरेको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित भएको छ ।

गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको बजेट पारित गरेको थियो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेटलाई थप गरेर ६६ करोड ७ लाख ४६ हजार ४४२ रुपैयाँको बनाइएको छ । सञ्चित कोषमा रहेकामध्ये २ करोड ७८ लाख ८८ हजार ४ सय ७० रुपैयाँ विभिन्न योजनालाई विनियोजन गर्ने कार्यपालिकाको बैठकको निर्णयलाई नगरसभाले पारित गरेको उपप्रमुख बरुवालले बताइन् ।

बाँकीमध्य थप १ करोड ९० लाख ८० हजार रुपैयाँ पनि विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन भएको छ । वडा नम्बर ८ को कार्यालय र क्याम्पस चोकको बाढी व्यवस्थापन गर्न निजी घरजग्गा अधिग्रहणका लागि ७२ लाख ७३ हजार रुपैयाँ विनियोजन भएको छ । यसैगरी, नगर उपप्रमुख बरुवालले गत आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ३३ लाख ३८ हजार ५ सय ५० रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ करोड ४८ लाख १० हजार ९ सय ८७ रुपैयाँ संकलन भएको जानकारी गराए । यस वर्ष नगरपालिकाले ४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो ।

वातावरण सम्बन्धी ऐन बनेपछि नदीजन्य पदार्थको उत्खनन् निकासी र अन्य विकास आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन नगर कार्यपालिकाले पारित गर्ने अधिकार पाएको छ । यसअघि जिल्ला समन्वय समितिले आइई प्रतिवेदन पारित गर्दै आएको थियो । ऐनले फोहोरमैलाको व्यवस्थापन र साँध सिमानाका रुख काट्ने अधिकारी पनि नगरपालिकाले प्रयोग गर्ने कानुनी बाटो खोलिदिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । फोहोर व्यवस्थापनमा असहयोग र ऐनको उल्लंघन गर्नेलाई जरिवाना समेत गर्न पाउने व्यवस्था गरिएको छ ।

नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाको उपलब्धि र प्रगति प्रस्तुत गरे । उनले कोरोना नियन्त्रण र व्यवस्थापनसँगै यस वर्ष क्याम्पसचोकको बाढी र वडा कार्यालय निर्माणका लागि जग्गा अधिग्रहण, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन लगायतका विकास आयोजना कार्यान्वयनमा तीव्रता दिएको बताए ।

नगर प्रमुख श्रेष्ठले चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका ४ सय ५ वटा मध्य हालसम्म १६२ वटाको सम्झौता र ३५ वटाको भुक्तानी समेत भएको जानकारी दिए । उनले वडा अध्यक्षहरुलाई समयमै विकास निर्माणका योजनाहरु सम्झौता गर्न समेत निर्देशन दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width