खै फेवा ? सुक्यो !

आदर्श समाज सम्वाददाता
माघ २५, २०७७
fewa

पोखरा । जीर्ण भइसकेको बाँध मर्मत गर्न फेवातालको पानी सुकाइएको छ । ४२ वर्षअघि बनाइएको बाँध जीर्ण बनेपछि त्यसको मर्मत गर्न लागिएको हो । अहिले तालमा पानीको सतह २ मिटर घटाउने तयारी छ । २०१८ सालमा बाँधिएको बाँध फुटेपछि २०३५ सालमा नयाँ बाँध बनाइएको थियो । सुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले बनाइदिएको हो भने पछि संयुक्त राष्ट्र संघको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले बाँध निर्माणका लागि २ करोड विनियोजन गरेको छ । १ करोड रुपैयाँ बाँध बनाउन र अर्को १ करोड नहरका लागि छुट्याइएको कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । ‘पहिलो चरणमा बाँध खोलेर छोडेका छौं । आइतबारसम्म हेर्छौं,’ उनले भने, ‘पुगेन भने थप बाँध खोल्छौं ।’ २ महिनाभित्र बाँध र नहरको काम सक्ने उनको भनाई छ । त्यसपछि फेरि बाँध बन्द गरेर पुरानै अवस्थामा ताललाई फर्काउने योजना छ । बाँधको उचाइ भने बढाउने योजना छैन ।

पहिले बाँध फुटेकै समयमा तालभित्रको जग्गा व्यक्तिले तत्कालीन समयमा आफ्नो नाममा पारेको आरोप छ । त्यहि जग्गाको दर्ता खारेज गरी तालको आकार बढाउन सरकारले फेवाताल सीमांकन तथा नक्सांकनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । समितिले केहि समयभित्रै तालको सीमाना तोकिएको प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।

तालको सीमाना खोजी भइरहेको अवस्थामा पानी घटाउन लागिएको हो । समितिका अध्यक्ष पुण्य पौडेलले चाहिँ आवश्यक सबै विवरण जुटाइसकेकोले पानी घटाउदाँ कुनै समस्या नपर्ने बताए ।

‘ताल घटाएर सिमाना तोक्न समस्या छैन । हामीले आवश्यक विवरण संकलन गरिसकेका छौं,’ उनले भने, ‘अबको एक डेढ हप्ताभित्रै प्रतिवेदन सार्वजनिक हुन्छ । उहाँहरुको कामसँग हाम्रो सम्बन्ध छैन ।’ पानी घटाउँदा आफूलाई नसोधिएको उनले बताए । ‘अध्ययन भइरहेको छ । पानी घटाउँदा सोध्नुपथ्र्यो,’ उनी भन्छन्, ‘बर्खामा काम गर्न गाह्रो हुन्छ भनेर अहिले नै घटाउनुभएछ । हामीले केही बोलेनौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width