‘प्रतिगामी कदम’ विरुद्ध पोखरामा आक्रोश

बाजे, बा पुस्तादेखि हामी नाति पुस्तासम्म एउटै कुराका लागि कति पटक सडकमा चिच्याउनुपर्ने हो ?’

आदर्श समाज सम्वाददाता
माघ १७, २०७७
civil protest

पोखरा । ४६ सालमा पञ्चायतविरुद्ध आन्दोलन हुँदा सुदर्शन पौडेल जन्मिएकै थिएनन् । त्यतिबेला सडकमा उनका बाजे पुस्ता थिए । पछि ६३ सालको जनआन्दोलनमा उनका बा पुस्ता थिए । उनी सानै थिए, नजिकबाट चिन्न पाएनन् । सुदर्शन अहिले २१ वर्षका भए ।

पुस ५ गते केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भने उनी रुष्ट छन् । माघ १२ गते काठमाडौंमा स्वतन्त्र नागरिक आन्दोलन चलिरहेकैबेला प्रहरीले दमन गरेपछि उनको सहन क्षमताले सीमा नाघ्यो ।

शनिबार पोखरा महेन्द्रपुल सहिद भीमसेन दाहालको सालिक अघि उभिएर आक्रोश पोखे, ‘बाजे, बा पुस्तादेखि हामी नाति पुस्तासम्म एउटै कुराका लागि कति पटक सडकमा चिच्याउनुपर्ने हो ?’

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै पोखरामा पनि नागरिक आन्दोलन सुरु भएको हो । आन्दोलनको अगुवाइ गरेका पौडेलले पार्टीको आन्तरिक कलहका कारण संविधानविपरित जान नहुने बताए । उनले भने, ‘एउटा अमुक व्यक्ति विधि र विधानभन्दा माथि कदापि हुन सक्दैन । त्यो हो भने तानाशाही प्रवृत्तिको सुरुआत हो । त्यसको विरोध गर्छौं ।’

पौडेलले शासकले ठूला सपना देखाएर ससाना हकअधिकारबाट वञ्चित गरिरहेका त्यसविरुद्ध सबैले आवाज उठाउनुपर्ने जिकीर गरे । ‘गलतको कामको विरोध गर्दा यो पार्टी, त्यो पार्टी भन्ने हुँदैन । त्यस्ता आरोपले हाम्रा इश्युलाई छायामा पार्छन् । विचलित हुनुहुँदैन,’ उनले भने । उनले सरकारको गलत कामको विरोध गर्नेहरु पोखरामा पनि छन् भन्ने देखाउन आफूहरुले आन्दोलनको सुरुआत गरेको बताए ।

प्रतिनिधि सभा विघटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संविधान र कानुनअनुसार चले कोही कसैको विरोध गर्नु नपर्ने बताए । ‘सबै विधि र कानुनअनुसार अघि बढे यसरी संघर्षमा उत्रनुपर्दैन । अहिले संविधानका हस्ताक्षरकर्ताबार्ट छात्तीमा बज्रपात परेको छ,’ उनले भने ।
मुल्मीले संविधानअनुसार चल्नुपर्नेमा केपी ओली व्यक्तिगत लहडमा चलेको आरोप लगाए । उनले ओलीको कदमले सबैको शीर निहुरिनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘संसद विघटन प्रतिस्थापन, विघटन, चुनाव जे भए पनि घाटा आखिर नेपाललाई नै हुने हो । यसपछि ठूलो आर्थिक संकट भोग्नुपर्ने अवस्था देखिन्छ ।’

विरोध कार्यक्रममा लेखक गनेस पौडेलले पनि सुशासनका लागि पटक पटक सडकमा उत्रिरहनु पर्ने दुखद कुरा बताए । उनले अधिनायकवाद शासकको पुनरावृत्ति भएकाले नागरिक आन्दोलन पनि पुनर्जीवित हुनु पर्ने तर्क राखे । ‘यो शासकको निकम्मापनको चरम नमुना हो । यस्तोबेला हामी चुप लागे बस्नु हुँदैन,’ उनले भने, ‘यो केपी ओली वा प्रचण्ड माधवको कुरामात्रै होइन । सम्पूर्ण नेपाली राजनीतिकै दोष हो ।’

लेखक पौडेलले नेकपाकै अर्को समूह सडकमा भएर पनि व्यक्तिको स्वार्थका लागिमात्रै आएको बताए । ‘नेकपाकै अर्को समूह सडकमा सूर्य चिन्ह पर्खेर बसेको छ । उनीहरुलाई चिन्हको चिन्ता हो, संविधानको चिन्ता होइन,’ उनले भने । उनले केपी ओलीले पार्टीको आन्तरिक कलहले घर नभई गाउँ जलाएको आरोप लगाएका छन् ।

नागरिक आन्दोलनकै अभियनता निर्मला न्यौपानेले ओलीको कदमले व्यवस्था नै धरापमा परेको बताइन् । ‘अहिले प्रतिगमन, अग्रगमन भन्नेको २ ध्रुवीकरण भएको छ । यस्तोबेला हामी प्रतिमगनविरुद्ध उभिनुपर्छ,’ उनले भनिन् । अभियन्ता आस्था नेपालीले ओलीको कदमले देशको संविधान नै अँध्यारोमा धकेलिएको बताइन् ।

पोखरा मानव अधिकार चोकबाट सुरु भएको विरोध ¥याली चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित सहिद भीमसेन दाहालको शालिक अघि पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रमा अभियानताले कविता पाठसँगै सांगीतिक प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width