पेट पाल्नकै लागि जोखिमपूर्ण श्रम गर्न वाध्य छन् बालबालिका

धनबहादुर गुरुङ
माघ १७, २०७७
child labour pix

पोखरा । स्याङ्जा सेतीदोभानकी १४ वर्षीया रीता नेपाली पोखराको १ होटलमा भाँडा माझ्ने काम गर्छिन् । बुवाले अर्काे बिहे गरेर घर छाडे । अनि आमाले पनि अर्को घरजम गरिन् । रीता आमासँगै थिइन् । आफ्नै कारण आमा र पछिल्ला बुवाबीच रातोदिन झगडा चर्किएपछि रीतालाई दिक्क लाग्यो ।

अनि केही समय मावलीतिरकी हजुरआमासँग बसिन् । मामाघरमै बसेर पढ्दै पनि थिइन । कोरोना त्रासले स्कुल बन्द भए । रीताको पढाइ पनि रोकियो । त्यहीबीचमा छिमेकी फुपू पर्नेले फकाइवरि पोखरा ल्याइन् रीतालाई । पोखरा गएपछि मिठो खान र राम्रो लाउन पाइने आश देखाएकी थिइन् ती फुपूले ।
पोखरा आएपछि २/४ दिन मिठोमसिनो खान पाइन् उनले । अनि १ जोर कपडा पनि । ती फुपूको स्वार्थ आफूले काम गर्ने होटलमा काम लगाउने थियो । पछि उनै फुपूले रीतालाई होटलसम्म पुर्‍याइन् । अनि उनको होटलमा काम गर्ने दिनचर्या सुरु भयो । हँसिलो अनुहार भएका उनी मिठो स्वरले आफ्नो होटलमा खाजा खान ग्राहकलाई बोलाउँछन् पनि ।

भाँडा माझेको हात ओभाउन नपाउँदै उनलाई चिया, खाजा पुर्‍याउन हतार भइसकेको हुन्छ । उनले खाजाघरमा काम गर्न थालेको ३ महिना पुग्यो । फूपूकै कोठामा बस्ने उनी बिहानैदेखि रातिसम्म नै काममा खटिन्छिन् ।

घरेलु बालश्रमिक घटिरहँदा ससाना होटेल रेस्टुरेन्ट र इट्टा भट्टामा काम गर्ने बालबालिका भने बढिरहेका छन् ।

बिहान ६ बजे पसल खुलेदेखि राति ९ बजे पसल बन्द नहुँदासम्म उनको कामको रफ्तार चल्थ्यो । आफूभन्दा ठूलो चाङमा बसेर भाडा माझ्दा उनका हात फुटेका छन् । ठिहिर्‍याउने पानी त्यसैमा मुटु नै कमाउने पुस माघको जाडोमा काम गर्दा हातखुट्टामा घाउ नै घाउ छ ।

चितवन चेपाङ बस्तीका निरुता, रमिता र विजय चेपाङ एकै परिवारका हुन् । निरुता दिदी, विजय भाइ र सबैभन्दा कान्छी बहिनी हुन् रमिता । रमिता ८ वर्षकी भइन् । विजय ९ र निरुता १६ वर्षका हुन् । उनीहरुको काम गर्ने थलो भने फरक छ । निरुता र रमिता एउटा गेस्टहाउसमा काम गर्छन् भने विजय अर्को रेस्टुरेन्टमा । परिवारमा बाबुआमासहित ८ जना छन् । अर्की १ जना दिदी पोखरामै काम गर्छिन् । २ दिदीको बिहे भइसक्यो । बाबुले दिनरात रक्सी खाने ।
आफूले कमाएको पैसा उनले रसरंगमै खर्चिए ।

साँझ बिहान हातमुख जोर्न नै धौ भयो परिवारलाई । खानै समस्या भएपछि उनीहरु पोखरा छिरेर श्रममा जुटेका हुन् । अरु सक्ने त केही भएन भाँडा माझ्ने काम पाए उनीहरुले । निरुता र रमिताले स्कुल जान भ्याउँदैनन् । तर आफूहरुले कमाएको पैसाले भाइ विजयलाई पढाउँदै आएका छन् । विजय अहिले कक्षा २ मा पढ्छन् पनि । बिहान रेस्टुरेन्टका भाँडा माझेर उनी स्कुल जान्छन् । पढाइभन्दा काममै बढी ध्यान हुन्छ उनको । चिसोमा पानीमा खेल्दा तिनैजनाको हात छियाछिया भएका छन् । सुन्निले समस्या उस्तै छ । यति नगरे हातमुख जोड्न पाउँदैनन् उनीहरुले ।

पढ्ने उमेरमा जोखिमपूर्ण काममा लाग्नुपर्ने उनीहरुको वाध्यता हो । यी त बालश्रमका केही प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुलाई पुस १० गते उद्धार गरिएको छ । उनीहरुसहित ६ जनालाई पोखराको विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजाघरबाट पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको बालश्रम न्यूनीकरण परियोजनाका अगुवाइमा उद्धार गरिएको हो । परियोजनाले विभिन्न संघसंस्थासंगको सहकार्यमा बाल श्रमिकको उद्धार गर्दै आएको छ ।

पोखरा उद्योग वाणिज्य संघले २०५६ सालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत बाल श्रम न्यूनीकरण कार्यक्रम नै लागु गरेर काम गर्दै आएको परियोजना संयोजक प्रीति पाण्डेले बताइन् । उनका अनुसार परियोजनाको पहलमा गत वर्ष १६ जना बाल श्रमिकको उद्धार गरिएको छ । यो वर्ष पनि कोरोना महामारीकाबीच स्थिति सामान्य बन्दै गएपछि १० जना बालबालिकाको उद्धार गरेको उनको भनाइ छ । ‘गत वर्ष पनि हामीले ५७ जना बाल श्रमिककोे उद्धार गर्न लागि महानगरमा सिफरिस गरेका थियौं,’ उनले भनिन्, ‘कोरोना आएपछि त्यो विषय त्यतिकैमा सेलायो, बरु हामीले नै ती ५७ मध्येबाट १० जनाको उद्धार गरिसकेको छौं । बाल श्रम अन्त्य गर्ने भनेर धेरै गैरसरकारी संघ–संस्थाहरुले काम गरिरहेका छन्, तर पोखरामा कति बालश्रमिक छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन ।

पछिल्लो समय नेपालमा बालश्रमिकको संख्या घट्दो ग्राफमा रहे पनि प्रकृति भने फेरिएको सरोकारवाला बताउँछन् । नेपालका बालश्रमिकको अवस्था अध्ययन गर्दै आएका डा. शिव शर्मा भन्छन्, ‘घरेलु बालश्रमिक घटिरहँदा ससाना होटेल रेस्टुरेन्ट र इट्टा भट्टामा काम गर्ने बालबालिका भने बढिरहेका छन् ।’
२० वर्षअघिसम्म ठूला घरानाका मानिसले बालश्रमिक राख्नुलाई गर्व ठान्ने गरेकोमा अहिले आएर लाज महसुस गर्न थालेको डा. शर्माले बताए । उनले भने, ‘अहिले आएर चिया पसल, ससना व्यापार, सीमापार अवैध व्यापार, गाडी मर्मत केन्द्रहरुमा बालश्रमिक बढेका छन् ।’ परिवारै संलग्न हुने कार्पेट उद्योग र ढुंगा, बालुवा गिटीको काममा पनि बालश्रमिक बढिरहेको उनको भनाइ थियो । ‘यति हुँदा हुँदै पनि समग्रममा नेपालमा बालश्रमिक घटिरहेका छन्,’ उनले भने । सरकारी, गैरसकारी संस्थाहरुको सक्रियता, सबै बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने मान्यता जस्ता कारणले बालश्रम घटेको सरोकारवालाको अनुभव छ ।

बालबालिकालाई श्रममा लगाउन कानुनले निषेध गरे पनि थोरै पैसा दिए पनि पुग्ने र बढी भन्दा बढी काममा लगाउन पाइने भएकाले होटेल तथा रेस्टुरेन्टमा बालबालिकको प्रयो बढी हुने गरेको पाइएको छ । बालश्रममा लगाउनेलाई ३ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । बालश्रम नियमित र निषेधित गर्न बनेको ऐनले बालश्रमलाई निषेध गरेको छ । उक्त ऐनले होटेल रेस्टुरेन्टलाई कामदारको लागि कठीन क्षेत्र भनी परिभाषित गरेको छ । कठीन क्षेत्रमा काम लगाउनेलाई उक्त ऐनको दफा १९ अनुसार १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने श्रम तथा रोजगार कार्यालय, पोखराका कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठ बताउँछन् । १४ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई नियम पु¥याएर जोखिमपूर्ण बाहेकको काममा दैनिक ६ घन्टा काममा लगाउन सकिने उनको भनाइ थियो ।

उद्धार गरिएकाहरुलाई सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराइदिने पनि उनले बताए । परिवारको आर्थिक अवस्था कम भएर पाल्नै सक्ने अवस्था नभए दीर्घकालीन रुपमा कुनै संघ संस्थासँग सहकार्य गरेर व्यवस्थापन गर्ने उनको भनाइ थियो । ‘हामीले उद्धार गर्न जानुअघि नै २÷४ वटा सामाजिक संघ संस्थासँग कुरा गर्छाैं,’ उनले भने, ‘उहाँहरुले व्यवस्थापन गर्ने निश्चित भएपछि हामी प्रशासनसंग सहकार्य गरेर उद्धारका लागि जान्छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width