पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
माघ १२, २०७७
volleyball (1)

पोखरा । पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालामा प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ४ गरी ८ टिमले भाग लिने पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

उपाधि विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीयले ३५ हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सान्त्वनालाई १५ हजार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २० हजार प्राप्त गर्ने छन् । त्यस्तै, महिला तथा पुरुषतर्फ उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर तथा स्पाइकरले समान ५ हजार पाउने छन् ।

प्रतियोगितामा ३० लाख आम्दानी र २५ लाख खर्च हुने अनुमान रहेको अध्यक्ष शर्माले जनाए । बचत रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगमा खर्च गरिने उनले बताए ।

पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशले भाग लिने छन् । महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौं र न्यु डायमन्डको सहभागिता हुनेछ ।

खेल सिंगल राउन्ड रोबिन लिग आधारमा सञ्चालन हुने भलिबलका अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले जानकारी दिए । पहिलो चरणका खेलका लागि १ सय, सेमिफाइनल १ सय ५० र फाइनलमा २ सय रुपैयाँ टिकट तोकिएको आयोजकले जनाएको छ ।

उक्त अवसरमा संस्था सदस्य चन्द्रप्रसाद गौचन वीरेठाँटी मावि व्यवस्थापन समिति अध्यक्षमा निर्वाचित भएकोमा सम्मानपत्र गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width