देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
devendraraj pande

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो ।

पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले बताए । ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो—दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा,’ संग्रौलाले भने, ‘पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो । ७८ वर्षको उमेरमा समेत मधेस आन्दोलनका लागि तराईका विभिन्न भाग पुग्नुभयो ।’ यसबाट पनि पाण्डे देशका जुनसुकै तह र तप्काका मानिसले आफ्नो हकअधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति भएको पुष्टि हुने उनको भनाइ छ ।

‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाडुनुभएको छ,’ संग्रौलाले भने, ‘इतिहासका सबै पदचाप उहाँका कानमा गुन्जिएका छन् । आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो, यो पुस्तक ।’ निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तक रहेको उनले बताए ।

२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाएका सक्रिय नागरिक एवं नागरिक अभियन्ता पाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए । ‘अर्थसचिव र अर्थ मन्त्रलयमा वैदेशिक सहायता शाखामा रहँदा आफूले गरेका काम र भूमिकाका सन्दर्भ यहाँ जसरी आएका छन्,’ उनले भने, ‘आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषय यहाँ समेटिएको छ ।’

जुन उद्देश्यले नागरिक आन्दोलन भयो, आन्दोलनमार्फत सात दल र माओवादीलाई शान्तिप्रक्रियामा अग्रसर हुन उत्प्रेरित गरियो, जसका आधारमा दोस्रो जनआन्दोलनसमेत खेपेर मुलुकले राजनीतिक रूपमा नयाँ संरचनाअन्तर्गत काम सुरु ग¥यो, त्यसपछि कम से कम जनउत्तरदायी सरकार, राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले गथ्र्याे कि भन्ने आश लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवम् तप्काले त्यो काम गर्न नसकेको लेखक पाण्डेको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले जुन कोल्टे फेर्नुपर्ने थियो, त्यसो नहुँदा आफूलाई सधैं विरक्त लाग्ने गरेको उनले बताए । ‘त्यसपछि आफ्नै जीवनलाई मैले फर्केर हेरें, आखिर मैले पनि जीवनमा के गरें त ?’ उनले भने, ‘आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो । र कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारें । र बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ । अन्ततः यो पुस्तकले साकार रूप लियो ।’

पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डो¥याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ उनले भने ।

यो कृति आत्मवृत्तान्त होइन, पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो । न्यारेसनका लागि जीवनयात्राको त्यान्द्रो समात्ने क्रममा अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर यो संस्मरणको पुस्तक होइन । जेजति निजी सन्दर्भ छन्, ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् ।

‘काठमाडौं मानसिकता’सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि देशप्रतिको निष्ठा जोगाउन जनमतसङ्ग्रहका बेला राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन् । दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन् ।

दोस्रो जुनीमा काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन् । सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गरेका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश बनेका आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक । सँगै यो हाम्रो विकास यात्रा, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो ।

विकास अर्थशास्त्रका विद्यार्थीहरू, निजामती कर्मचारी, राजनीतिक नेता र कार्यकर्ता, नेपालको निकट विगतको इतिहासका अध्येता खासगरी नयाँ पुस्ताका लागि समकालीन नेपाललाई चियाउन र आत्मसम्मान एवम् निष्ठापूर्वक देश अनि जनताको पक्षमा उभिन प्रेरित गर्ने सङ्ग्रहणीय पुस्तकका रुपमा यसले परिचय बनाउनेछ ।

१९९६ भदौमा काठमाडौंमा जन्मिएका पाण्डे २०१७ साल चैतमा तत्कालीन श्री ५ को सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

२०३६ साल फागुनमा अर्थसचिवबाट स्वेच्छाले राजीनामा दिएका र पछि अर्थमन्त्रीसमेत भएका विशिष्ट बुद्धिजीवी तथा चिन्तनशील लेखक पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट एमकम डिग्री हासिल गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री (एमपिआइए) एवम् २०२५ सालमा सोही विश्वविद्यालयबाट सोही विषयमा पिएचडी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै