वडा नम्बर ४ लाई पार्किङ शुल्क अमान्य !

आदर्श समाज सम्वाददाता
माघ २, २०७७
Ward 4 Sankhar Bastola

पोखरा । महानगरपालिकाभित्रका सडकमा पार्किङ शुल्क उठाउन लगाएको ठेक्कामा १ वडाध्यक्षले विमती जनाएका छन् ।

पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले ठेक्का प्रक्रिया नै अपारदर्शी भएको भन्दै विमती जनाएका हुन् ।

समयमै सम्झौता हुनुपर्ने भए पनि कोरोनाको कारण देखाउँदै समय गुज्रिसकेपछि प्रक्रिया अगाडि बढाएको उनले बताए ।

धेरै समयपछि कार्यादेश दिने प्रक्रियामा गएको र सम्झौता भएको भन्दै उनको विमती थियो । उनले भने ‘टेन्डर प्रक्रियामै मेरो विमती छ, नियम विपरित पार्किङ शुल्क उठाउने काम वडा नम्बर ४ लाई मान्य छैन ।’

धेरैपछि काम सुरु हुँदा शंकास्पद देखिएको उनको भनाइ छ । महानगरको जुनसुकै क्षेत्रमा भएको आर्थिक चलखेल रोक्नको लागि आफूले प्रत्येक कार्यपालिका बैठक र नगरसभामा आवाज उठाउदै आएको उनले बताए । ‘पार्किङ शुल्क उठाउने विषयमा आर्थिक चलखेल भएको मलाई शंका लाएको छ,’ उनले भने, ‘यो विषयमा आर्थिक चलखेल भए पनि नभए पनि म महानगरमा हुने आर्थिक चलखेलको विरुद्धमा छु, अर्थको विषयमा आवाज बुलन्द पार्न छाड्ने छैन ।’

पार्किङको विषयमा शंका लागेर नै आफ्नो क्षेत्राधिकार भएको पोखरा महानगरपालिका वडा नम्बर ४ भित्र पार्किङ शुल्क नउठाउन मंसिरमै सिफारिस गरेको उनले बताए ।

बास्तोलाले मंसिर २८ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडाभित्र पार्किङ शुल्क नउठाउन सिफारिस गरेका हुन् ।

पोखरामा पार्किङ शुल्कको विषयमा चौतर्फी विरोध भइरहेको छ । यो विषय अदालतसम्म पनि पुगेको छ । उच्च अदालत पोखरामा यो मुद्दा विचाराधीन छ । वडाध्यक्ष पार्किङ शुल्क उठाइरहेको फेवा सावित्री जेभीलाई समेत सोही सिफारिस बोधार्थ पठाएका छन् । सिफारिस गरिएको एक महिना बितिसक्दा समेत महानगरपालिकाबाट कुनै प्रतिक्रिया नआएको वडाध्यक्ष बास्तोलाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width