कास्कीका ६ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन

आदर्श समाज संवाददाता
पौष २५, २०७७
nepali congress

पोखरा । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले पुस २५ गते शनिबार कास्कीका छ वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ ।

प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुंगास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परिणत भएको थियो ।

विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । प्रदेश सभा क्षेत्र १ ‘ख’ को विरोध सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारले संविधानको भावना विपरीत काम गरेकाले प्रदर्शनमा उत्रनु परेको बताए । ‘सरकारले राम्रो गरेको हेर्न मन थियो, तर भएन, सभापति केसीले भने, जनताको सपना पार्टीको मुख्य योजना हो ।’

विरोध सभामा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, कास्की काँग्रेस जिल्ला सदस्य अनिता तिमिल्सिना, मुस्लिम नेता सराफत अलिमिया, नेपाल तरुण दल क्षेत्र नं १ कास्कीका सभापति राधाकृष्ण तिवारी, युवा नेता यामबहादुर गुरुङ, भानु ढकाल, पोखरा १४ का वडा सभापति बोधबहादुर कार्की र पोखरा १० की कार्यवाहक सभापति निर्मला कार्कीले बोलेका थिए । नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र १ ‘ख’ का सभापति कृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव सरोज केसीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width