Worldlink ads

परिवार र घरवास गुमाएकी मनिषाको संरक्षणको जिम्मा एसओएसले लियो

Avatar आदर्श समाज सम्वाददाता
पौष ५, २०७७
sos

वालिङ ।  पहिरोले परिवारका नौ सदस्यसहित घरवासै पुरेपछि सहाराविहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ ।

घरपरिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादीक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतव्यक्ति एवं वरिष्ठ परामर्शकर्ता सुमन बरालले बताउनुभयो ।

“मनिषाले परिवारका सबै सदस्य गुमाउनुभएको छ, त्यसको पीडाले उहाँलाई विक्षिप्त बनाएको छ”, स्रोतव्यक्ति बरालले भन्नुभयो, “उहाँलाई अब मनोसामाजिक परामर्शको आवश्यकता पर्ने भएकाले सोहीअनुसारको परामर्श गरी उपयुक्त पारिवारिक वातावरणको सिर्जना गरिन्छ ।”

मनिषाको शिक्षादीक्षा, स्वास्थ्योपचार, लालनपालनलगायतको जिम्मा लिएको एसओएसले अब कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि त्यहीँ नै व्यवस्थापन गरिने र अन्य विषय अध्ययन गर्न चाहेमा अन्य विद्यालयमा भर्ना गर्ने स्रोतव्यक्ति बरालले बताउनुभयो ।

विश्वभर १३६ राष्ट्रमा स्थापित एसओएस बालग्राम नेपालमा हाल नौ छन् । पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका १ सय ४१ बालबालिका छन् । गत असोज ८ गते बिहान माथिबाट आएको पहिराले एकै घरमा नौ जनाको पुरिएर ज्यान गएको थियो भने मनिषालाई उद्धार गरिएको थियो ।

पीडित मनिषाको संरक्षणको जिम्मा लिएर उहाँको भविष्य निर्माणका लागि एसओएसले खेलेको भूमिकाप्रति वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले आभार व्यक्त गर्नुभएको छ । नगरप्रमुख खाँणको रोहवरमा मनिषाको संरक्षकमा बालग्राम रहने छ भने अभिभावकको रूपमा दाजु भोजराज परियार र माइजु गीता नेपाली रहनुभएको छ । “जे नहुनु थियो भयो, अब त्यसबाट पाठ सिकेर समस्याभित्र समाधान खोज्दै अगाडि बढ्नुपर्छ”, नगरप्रमुख खाँणले भन्नुभयो, “अब उहाँको शिक्षादीक्षा, लालनपालन, औषधोपचारलगायतका सेवासुविधा एसओएसले उपलब्ध गराउने छ ।”

परिवारका सबै सदस्य गुमाएर विक्षिप्त बन्नुभएकी मनिषालाई लगनशील र मेहनतका लागि अध्ययन गर्न सुझाव दिँदै प्रमुख खाँणले भन्नुभयो, “भोलि आफ्नै खुट्टामा उभिन सक्ने गरी आत्मनिर्भर बन्नका लागि सहयोग पुग्नेछ ।” परिवारका सबै सदस्य गुमाएकी मनिषा तथा दाजु भोजराजलाई आवास निर्माणका लागि जग्गाको खोजी भइरहेको प्रमुख खाँणले बताउनुभयो । मनिषा तथा दाजु भोजराजका लागि रोजगारीको अवसर सिर्जना गरिदिने प्रमुख खाँणले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads