महानगरमा स्वास्थ्य चौकी बन्दा हर्ष

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७७

पोखरा । स्वास्थ्य क्षेत्रलाई प्रविधितर्फ जोड्दा पोखरा २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवन शिलान्यास भएको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले भवनको शिलान्यास गरेका हुन् ।

कार्यसम्पादनमा सहयोग पुग्ने भएकाले उक्त क्षेत्र रोजाइको केन्द्र बन्न कोशेढुङ्गा सावित हुने जिसीले बताए । स्थानियबासी, वडा, सम्बन्धित निकाय हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको भन्दै करदाताबाटै सुविधा पुर्‍याउने भएकाले महानगर कुनै हालतमा कञ्जुस्याईँ नगर्ने जिसीले बताए ।

वडाध्यक्ष ओमप्रसाद सुवेदीले कास्कीकोट क्षेत्रमा स्वास्थ्य चौकीको निर्माणले १८ सय ६५ घरधुरी लाभान्वित हुने बताए ।

करिब १ करोड २८ लाखमा नेश्नल स्टेट बिल्डर कम्पनीसँग ठेक्का सम्झौता भएकोे उनले जानकारी दिए । कास्कीकोट क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको खानेपानीका लागि ‘एक घर, एक धारा’को अवधारणा अघि सारी २ वटा बोरिङ संचालन गरेर १७ सय घरधुरीमा पानी बिस्तार गरेको भन्दै अब ३५ सय घरधुरीमा पानी पुर्‍याउने कामलाई अघि बढाइरहेको पनि उनले बताए ।

महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले स्वास्थ्य चौकी भवन निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताए । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सबै सजग रहन आग्रह गर्दै केही लक्षण देखिएमा स्वास्थ्य चौकी मार्फत स्वास्थ्य महाशाखामा सुचित गराउन समेत उनले अनुरोध गरे ।

नेश्नल स्टेट बिल्डरका संचालक तिलक पोखरेलले करिब ६ महिनौ काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भवन निर्माणका लागि जग्गादाता एवं स्वास्थ्य चौकी समिति तथा व्यवस्थापन समिति सदस्य बाबुराम तिमिल्सिना र गुरुदत्त दवाडीले ३ रोपनी जग्गा दान गरेका थिए ।

करिब १० वर्ष अगाडी नै स्वास्थ्य चौकी भवन निर्माणको लागि सो जग्गा हस्तान्तरण गरिएकोे थियो । तर प्राविधिक कारण भवन बन्न सकेको थिएन ।

कार्यक्रममा जग्गादाता तिमिल्सिना र दवाडीलाई महानगर प्रमुख जिसीले दोसल्ला ओढाएर सम्मान गरेको जानकारी वडा सचिव कुस्मराज सुवेदीले बताए ।

लामो समय रोकिएको स्वास्थ्य चौकी निर्माण हुने भएपछि स्थानीय हर्षित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width