मालिकाका विद्यालय खोलिने

साधन राम्जाली
मंसिर ८, २०७७
darbang malika

म्याग्दी । मालिका गाउँपालिकाले कोरोना कारण बन्द रहेका विद्यालय खुलाउने निर्णय गरेको छ । गाउँपालिकाको कार्यालय दरबाङमा आइतबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्र कोरोना कारण बन्द भएका विद्यालय सोमबारदेखि सुचारु गराउन पाउने निर्णय गरेको हो ।

कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी विद्यालय खुलाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले बताए ।

‘संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यालय सुचारु गराउन पाउने गरी बैठकले निर्णय गरेको छ,’ अध्यक्ष रोकामगरले भने ।

यसैगरी, सोमबारदेखि प्रत्येक विद्यालयमा विद्यार्थीको स्वास्थ्य अवस्था बुझ्न शिक्षकमध्ये एक जनालाई स्वास्थ्य फोकलपर्सन तोक्ने र फोकलपर्सनले विद्यार्थीको स्वास्थ्य अवस्था एवम् विद्यालयको दैनिक गतिविधिबारे गाउँपालिकामा जानकारी गराउनुपर्ने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिए ।

यसअघि गाउँपालिकामा वैकल्पिक सिकाइ सहजीकरण संचालन गरिएको थियो । यसअघि संचालन गरिएको वैकल्पिक सिकाइ सहजीकरण प्रभावकारी नभएको तथा शिक्षक र विद्यार्थीलाई समस्या भएको गाउँपालिकाका शिक्षा अधिकृत रिजालको भनाइ छ । उनका अनुसार विद्यालयमा सदाझैं बिहान १० देखि ४ बजेसम्म पठनपाठन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width