नेकपा विवाद: ओलीलाई औपचारिक बैठक राख्न आग्रह गरिने

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७७
kp-prachanda-oli-dahal-bam_Fotor

फाइल फाेटाे ।

पोखरा, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय उत्पन्न विवाद पार्टी फुटको अवस्थासम्म जान्छ वा जाँदैन भन्नेबारे यकिन भन्न सक्ने अवस्था छैन । विवाद किनारा लगाउन पार्टीका दुई अध्यक्षको दौडधूप भने जारी छ।

यसैक्रममा शुक्रबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयको अनौपचारिक बैठक बोलाए । पार्टी कार्यालय धुम्बाराहीमा भएको सो बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ ।

पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गरी बैठक टुंगिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा प्रचण्डले सो अनौपचारिक बैठक पनि ओलीको समेत सहमतिमा गरिएको जानकारी गराए ।

प्रवक्ता श्रेष्ठका अनुसार औपचारिक बैठक राखेमा त्यही नै पार्टी फूटको बिन्दु हुने भनी ओलीले आफूलाई बताएका कारण अनौपचारिक बैठक राखिएको भनी प्रचण्डले सो बैठकमा अन्य नेताहरुलाई जानकारी गराएका थिए।

बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग बिहीबार भएको भेटबारे आफूपक्षीय नेताहरूलाई सविस्तार जानकारी गराएका थिए। कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले आज सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठले दाबी गरे ।

शुक्रवारको भेलामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

‘स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनमा भएको अड्चनका कारण समस्या आएकाले हामीले दुई अध्यक्षलाई बैठक बोलाउन माग ग¥यौं, प्रचण्डले पनि बैठक बोलाउन ओलीसँग सहमतिका लागि बारम्बार पहल गर्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या, गत्यावरोधको स्थिति देखापरेको भएपनि सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउँदै विधि र पद्दति आधारमा लैजान अविलम्ब बैठक बोलाउनुपर्छ भन्ने हाम्रो माग छ ।’

भेलामा सहभागी अधिकांशले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा समस्या आएको भन्दै ओलीलाई भेटेरै बैठक राख्न आग्रह गर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।

स्रोतका अनुसार बैठकमा प्रचण्डले आफू एक्लैले बैठक बोलाउन गरेको प्रयास सफल नभएको भन्दै बैठक बोलाउन सामूहिक रूपमा जान प्रस्ताव गरेका थिए ।

यसैबीच, बैठकपछि प्रतिक्रिया दिँदै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउन कसैले सोचेको भए त्यो अपराध हुने बताए ।

प्रधानमन्त्री ओलीले भदौ २६ को स्थायी समिति बैठकका निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेपछि नेकपाको विवाद पुनः चर्किएको हो ।

किन गएनन् बादल ?
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार राखेको सचिवालयको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीसहित ४ जना सचिवालयका नेता उपस्थित भएनन् । ओलीनिकट भनेर चिनिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले नजाने नै स्पष्ट पारेका थिए।

तर, गृहमन्त्री रामबहादुर थापा बैठकमा किन गएनन् भन्ने विषयमा भने अनेक अड्कलबाजी सुरु भएका छन् ।

गृहमन्त्री थापाले पार्टीभित्र निर्णायक अवस्था आइपरे प्रचण्डलाई साथ दिने बाचा गर्दै आएका थिए। यसअघि गत आइतबार प्रचण्डनिवास खुमलटारमा भएको सचिवालयको छलफलमा थापा उपस्थित थिए। थापाका सल्लाहकार सूर्य सुवेदीले मन्त्रालयको कार्यव्यस्तताले धुम्बाराहीको बैठकमा जान नपाएको दाबी गरे।

गृहमन्त्री थापाको भनाइ उद्घृत गर्दै सुवेदीले भने, ‘बोलाएको ठाउँमा जाने हो, पार्टी फुट्नु हुँदैन भन्ने उहाँको प्रष्ट विचार छ । भदौ २६ को स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गरेर जानुपर्ने अडानमा उहाँ हुनुहुन्छ।’

यता, प्रचण्डनिकट एक नेताका अनुसार धुम्बाराहीमा सचिवालय बैठक चलिरहेका बेला थापालाई महासचिव विष्णु पौडेलले सिंहदरबारमा रोकेका थिए। उनले पौडेलकै कारण थापा बैठकमा उपस्थिति नभएको दाबी गरे।

पार्टी प्रवक्ता श्रेष्ठले पनि केही साथीहरु कार्यव्यस्तताले बैठकमा आउन नसकेको सन्देश पाएको बताएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width