जन्मदिनमा एकलवाचन र कृति लोकार्पण

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७७
123304964_2663652653948966_6999054481756807148_n

साहित्यकार राजु क्षत्री अपुरोले एकल लघुकथा वाचन र कृति प्रकाशनसहित आफ्नो जन्मदिन मनाएका छन् ।

पछिल्लो समय जन्मदिन मनाउने विभिन्न संस्कार बढ्दै गएको बेला साहित्यकार अपुरोले साहित्यिक अनुष्ठानसहित जन्मदिन मनाएका हुन् ।

माछापुच्छे«–४, लाहाचोकमा पिता डम्बरहादुर र माता बुद्धिमाया क्षत्रीका कोखबाट २०२९ कार्तिक १९ गते जन्मेका अपुरो निरन्तर लघुकथा लेखन र प्रकाशनमा क्रियाशील स्रष्टा हुन् ।

उनका हालसम्म मेरा केही लघुकथाहरु, भाग्य र कर्म, आशाका झिल्का र दिमागको बिर्को गरी चार लघुकथा कृति प्रकाशित भइसकेका छन् ।

मलेसियामै रहेरै लघुकथा लेखनमा क्रियाशील रहेका अपुरोले आफूलाई साहित्य साधक, सर्जक र संगठकका रुपमा स्थापित गराएका छन् ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेकै बेला स्रष्टा साधकलाई एकीकृत गर्न अपुरोको पहलमा ‘लघुकथा पाठशाला’ नामक फेसबुक पेज सञ्चालनमा आएको छ ।

सोही पेजमा प्रकाशन भएकामध्ये उत्कृष्ट लघुकथालाई एकीकृत पारेर तयार गरिएको ‘पाठशालाका लघुकथा–१’ पनि उनको जन्मदिन पारेरै लोकार्पण गरिएको छ । कृतिमा एक सय ३१ लघुकथाकारका कथा सङ्गृहीत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनले कृति लोकार्पण गर्दै लघुकथा लेखन पछिल्लो समय समृद्ध हुँदै गएको बताए ।

लघुकथा पाठशाला स्थापनाको छोटो समयमै ऐतिहासिक र अनुकरणीय कार्य गरेको बताए । अतिथि रोदनले लघुकथाको विकासमा अपुरोको योगदान स्तुत्य रहेको स्मरण गरे । कृति र पेजका बारेमा बोल्दै रोदनले लघुकथा पाठशाला एक वर्ष पनि नपुगेको अवस्था निकै सक्रिय पाठशालाकै रुपमा रहेको बताए । उनले लोकार्पित कृतिका रचना र संरचना सबै हिसाबले उत्कृष्ट रहेको बताए ।

वाचित लघुकथाको समीक्षा गर्दै डा पुष्करराज भट्टले पछिल्लो समय देशमा राजनीतिले बाटो बिराएका परिवेशलाई राजुले कथामा चित्रण गरेको बताए । उनले समाजमा व्याप्त दोहोरो चरित्रको अन्य होस् भन्न राजुका कथाले झटारो हानेको धारणा व्यक्त गरे ।

समालोचक असफल गौतमले घरदेशमा मन र परदेशमा ज्यान राखेर साधनामा लाग्ने अपुरोको साधनाबाट घरदेशमा बस्नेहरुले ज्ञान सिक्नुपर्ने धारणा राखे । लघुकथा पाठशालाका सन्दर्भमा बोल्दै असफलले पाठशाला पाठशालाले प्रकाशन गरेका कथा अब कृति भएर विश्वविद्यालयका लागि अनुसन्धानात्मक कृति हुने भएकाले पाठशालालाई एउटा विश्वविद्यालयका रुपमा चिनाए ।

कार्यक्रमका मुख्य नायक राजु क्षत्री अपुरोले समकालीन समाजलाई चित्रण गरिएका आफ्ना रोजा लघुकथा वाचन गरेका थिए । साथै उनले आफ्नो जन्मदिनलाई विशेष उत्सव बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा गङ्गा दाहाल न्यौपाने, करुणा ढकाल, अवतार ढकाल, हेमलता उप्रेती, अनु विज्ञातिलगायतले आफ्ना मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width