शक्तिपीठमा चहलपहल कम   

रासस
कार्तिक ९, २०७७
KD-Kastki-SunsanBindabasini

नवरात्रीका अवसरमा विगतका वर्षहरुमा सयौँ भक्तजनहरुको भीडभाड रहने पोखराको प्रसिद्ध शक्तिपिठ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष कोरोना कहरका कारण दर्शनार्थीलाई प्रवेश रोक लगाइएपछि आइतबार सुनसान मन्दिर परिसर । तस्वीरः कृष्ण दवाडी, रासस

गण्डकी, ९ कात्तिक । कोरोना भाइरसको महामारीका कारण यस वर्ष आश्विन शुक्ल नवमीका दिन आज पोखरा र आसपासका शक्तिपीठमा दर्शनार्थीको चहलपहल कम देखिएको छ ।

कोरोना महामारीप्रति सर्वसाधारणको सजगताका साथै प्रशासनले पनि महामारी फैलिन सक्ने जनाउँदै पूजाआजामा रोक लगाएका कारण विगतमा महानवमीका दिन हुने गरेको भीडभाड यस वर्ष नभएको हो । पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायत आसपासका शक्तिपीठ आज सुनसान बनेका छन् ।

विगत वर्षमा महानवमीका दिन स्याङ्जा, कास्की, तनहुँलगायत विभिन्न स्थानबाट आउने दर्शनार्थीका कारण चहलपहल हुने गरेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा यस वर्ष भने दर्शनार्थीको चाप नरहेको कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए।

नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा आएको मानिने कोटभैरवमा प्राचीन परम्परालाई निरन्तरता दिँदै घटस्थापनासहित महाष्टमी, कालरात्रि र महानवमीको सामान्य पूजा भने गरिएको छ । मन्दिरमा घटस्थापनादेखि नै मगर पुजारीले सरसफाइसहित नियमित पूजाआजा तथा ब्राह्मण पुजारीले दैनिक सप्तशती पाठ गर्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width