सरकार जनताको साथमाः मन्त्री ढकाल

रासस
कार्तिक ४, २०७७
Bhanubhakta Dhakal

काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।

मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड १९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँचवृद्धि गरिएको समेत जानकारी दिए । ‘मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ ।’ उनले भने, ‘अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना हित प्रभावकारी व्यवस्था मिलाएको छ ।’ मन्त्री ढकालका अनुसार देशभरी भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष (आइइसियु) तयारी अवस्थामा र थप ४ सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडी बढाइएको छ । यसले कोभिड– १९का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उनको भनाइ छ ।

मन्त्री ढकालले कोभिड १९ को महामारीविरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग आभार व्यक्त गर्दै रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु रहेको स्मरण गराए ।

कसैलाई पनि विभेद नहुने

उनले तोकेका कोभिड–१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताए । ‘विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ ।,’ उनले भने, ‘यो वर्गमा नपरेका सबै कोभिड १९ को उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।’

उनले निशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिश आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको उल्लेख गरे ।

उनले अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ शैय्याको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको र यस कार्यले स्थानीय तहमा अस्पताल सेवका लागि ३ हजार २ सय ४५ शैय्या थपिने जनाए ।

जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० शैय्यामा स्तरोन्नति गर्दा ९ सय २२ बेड, साबिकका ११ अंचल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २ सय शैय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ शैय्या र प्रदेश स्थित ७ सङ्घीय अस्पताललाई ५ सय शैय्यामा स्तरोन्नती गर्दा १ हजार गरी जम्मा शैय्या संख्या ६ हजार २ सय २ थप गर्ने कार्य अगाडि बढेको मन्त्री ढकालले बताए ।

हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्येमा २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गराएको उनले जानकारी दिए । मन्त्री ढकालले कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाबाट समेत स्वास्थ्य परिक्षण र उपचारको प्रबन्ध समेत गरिएको उल्लेख गरे ।

सरकार जनताको साथमा

मन्त्री ढकालले सरकार जनताको साथमै रहेको भन्दै कोभिड १९ को महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी रहेको औल्याए । ‘सबै तहका सरकार, राजनीतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झै सहयोगको अपेक्षा गरेका छौं ।’ उनले भने छ, ‘यो जोखिमको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सञ्चारको आवश्यकता पर्ने हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनामा सञ्चार क्षेत्रको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा समेत सघन सहयोगको अपेक्षा गरेको छु ।’

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…

hero news full width