चार दिनसम्म आउँदैन रिपोर्ट : स्वाब दिएपछि बढ्यो छटपटी

आदर्श समाज सम्वाददाता
कार्तिक ३, २०७७
corona

सांकेतिक तस्बिर

गण्डकी प्रदेश सरकारले स्वाब संकलनको २४ घण्टाभित्रै रिपोर्ट सार्वजनिक गर्ने दाबी गर्दै आएको छ । सरकारले भनेजस्तो एकैदिन त परको कुरा ४ दिनसम्म पनि रिपोर्ट नआएको पाईएको छ । रिपोर्ट ढिलो निस्किँदा स्वाब दिएर बसेकाहरुको मन बेचैन भएको छ । सरकारको भनाइ र काम गराइमा एकरुपता नहुँदा सर्वसाधारण मर्कामा छन् ।

पोखराबाट इमेज टेलिभिजनमा कार्यरत पत्रकार प्रदीप पौडेलले अघिल्लो साताको शुक्रबार स्वाब दिए । उनको रिपोर्ट २ दिनपछि अर्थात् आइतबार दिउँसो ४ बजे पोजेटिभ आयो । आफू संक्रमित भएको र पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन सामाजिक सञ्जालमार्फत सूचित गर्दै उनी घरमै आइसोलेसन बसे । परिवारमा श्रीमती र छोरा छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि आमाछोराले बाबुलाई संक्रमण पुष्टि भएको ५ दिनपछि मालेपाटनस्थित कृषि तालिम केन्द्रको भवन परिसर पुगेर गत बिहीबार स्वाब दिए ।

संक्रमण त्रासबीच रिपोर्ट कुरिबसे । स्वाब दिएको ४ दिन वितिसक्यो, अझै रिपोर्ट आएन । उनकी पत्नी सञ्जु पौडेलले गुनासो गर्दै भनिन्, ‘सरकारले केही घण्टामै रिपोर्ट सार्वजनिक गर्ने दाबी गरे पनि स्वाब दिएको चार दिन वितिसक्यो । खैत हाम्रो रिपोर्ट ? समयमा रिपोर्ट नदिँदा मन बेचैन भएको छ ।’ कोरोना संक्रमित प्रदीपले ल्याब परीक्षणको सुस्तताले आफूलाई झनै तनाव दिएको गुनासो गरे । ‘आफू संक्रमित भएपनि परिवारका सदस्य वा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको रिपोर्ट नेगेटिभ आइदिए हुन्थ्यो भन्ने आशा छ, ट्रेसिङमा परेकाको अवस्था के छ भन्ने थाहा छैन,’ उनले भने ।

कन्ट्याक्ट टे«सिङमा परेर सोही दिन स्वाब दिएका अर्का पत्रकार शशि पौडेलको पनि ४ दिनसम्म रिपोर्ट आएको छैन । आफन्त तथा सहकर्मीहरुले पटक–पटक जिज्ञासा राख्छन् तर उनको जवाफ सँधै एउटै छ, ‘रिपोर्ट आएको छैन ।’ संक्रमणको लक्षण नदेखिए पनि रिपोर्ट नआउँदा काम गर्न नपाएको उनको गुनासो छ । यता, ल्याब परीक्षणमा किन ढिलाइ ? भन्नेबारे जिज्ञाशामा गण्डकी प्रदेश स्वास्थ्य निदेशक एवं प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले प्राविधिक स्वयम्लाई संक्रमण पुष्टि भएकोले ढिलो भएको बताए । उनका अनुसार क्षयरोग उपचार केन्द्रमा संचालित ल्याबका ३ जना प्राविधिकमा संक्रमण पुष्टि भएको हो ।

यता, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले सामान्यतया ३६ घण्टाभित्रै आफूहरुले रिपोर्ट दिने गरेको बताउँछन् । उनले भने, ‘पोजेटिभ देखिएहरुको ३६ घण्टाभित्रै रिपोर्ट सार्वजनिक भै सक्छ, नेगेटिभ आउनेहरु धेरै हुने भएकोले पूरा विवरण चढाउँदा टाइम लाग्छ ।’ स्वास्थ्य निर्देशनालयका जिम्मेवार व्यक्तिहरुको भनाइलाई आधार मान्ने हो भने सोअनुरुप कार्य भएको पाइँदैन । पर्याप्त प्राविधिक अभावमा स्वाब थुप्रो लगाएर यतिका दिनसम्म राख्नुलाई जायज भने मानिँदैन । उच्च पदका तथा पहुँचवालाहरुको रिपोर्ट भने आजको भोलि आइसक्दा सर्वसाधारणको रिपोर्टमा ढिलाइले अझ सन्त्रास र जोखिम बढाएको महसुस हुन थालेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले हाल दैनिक १ हजार २ सय हाराहारीमा नमुना संकलन हुने गरेको र प्राविधिक जनशक्ति कमी भएकोले छिटो रिपोर्ट दिन नसकेको स्वीकारिन् । उनका अनुसार हाल दैनिक ६ सय हाराहारीमा मात्र स्याम्पल परीक्षण गरिएको छ । त्यस्तै, ल्याबमै कार्यरत् एक प्राविधिक सागर आचार्यले बिहीबार संकलित रिपोर्ट भोलि (सोमबार) मात्र आउने बताउँछन् । उनले भने, ‘हामीहरु बिजी छौं । भोलिसम्म कुर्नुपर्छ ।’

पीसीआर परीक्षणको लागि स्वाब दिएकाहरुको पनि अनुगमन फितलो छ । उनीहरु कहाँ, कसरी, कुन अवस्थामा बसेका छन् भन्ने सरोकारवाला निकायले मतलव नै गरेको छैन । गण्डकी प्रदेश राजधानी पोखरामा हाल २ वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । क्षयरोग उपचार केन्द्रको ल्याब सहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्याबमा पीसीआर परीक्षण गरिन्छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले अन्य प्रदेको तुलनामा गण्डकीमा कोरोना जोखिम कम रहेको र नयाँ मेसिन जडानले २४ घण्टाभित्रै रिपोर्ट दिन सक्ने दावी गरेका छन् । हालसम्म ८० हजार बढी नमुना परीक्षणमा करिब ५७ सय जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये करिब ३५ सय जना निको भएका छन् भने ५० जनाको ज्यान गइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width