पोखरा–२३ मा पिच बाटो बनाउन शुरु

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७७
Shilanyas PIC

पोखरा, १८ असोज । देशकै ठूलो पोखरा महानगरपालिकाकाको पिच बाटो नपुगेको वडा पोखरा–२३ मा कालोपत्रे बाटो बनाउन शुरु भएको छ । फेवातालको श्रोत क्षेत्रको रुपमा रहेको पोखरा–२३ को वामदीबाट मार्कीसम्मको कच्ची सडक पिच बाटो बनाउन शुरु भएको हो । योसँगै पोखराका ३३ वटै वडामा पिच बाटो बन्ने भएको छ ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको पहलमा गण्डकी प्रदेश सरकारको बजेट परेपछि पिच बाटो निर्माणको शिलान्यास गरिएको छ । कोरोनालाई कहरका कारण विकास निर्माण अबरुद्ध भएको भनिरहँदा पोखरा २३ मा भने कोरोनालाई अवसरको रुपमा बदल्ने अठोटसहित बाटोको शिलान्यास गरिएको हो । सो पिच बाटो निर्माणको प्रदेश सांसद राजिव पहारीले शिलान्यास गरे ।

लौरुक वामदी चापाकोट ग्रामीण सडक उपभोक्ता समितिमार्फत निर्माण हुने सडक ३ सय मिटरको छ । प्रदेश सरकारबाट बाटो निर्माणका लागि ४५ लाख रुपैयाँ छुट्याएपनि ३४ लाख ४७ हजार ६ सय २२ रुपैयाँमा टिबी कन्स्ट्रक्सन एण्ड भिलेजले बाटो निर्माणको ठेक्का पाएको छ । ५ मिटर चौंडाईको सो पिचमा २ सेन्टिमिटर प्रिमिस पिच गरिने ठेकेदार बिनोद भण्डारीले जानकारी दिए । उनका अनुसार बाटोको दक्षिणतर्फ नाली बनाइनेछ भने नालीसँग जोडिएको माथिल्लो भागमा रिटेनिङ पर्खाल निर्माण गरिनेछ । ४ महिना भित्रमा बाटो निर्माण गरिसक्ने गरि ठेक्का लिएपनि २ महिना भित्रै सडक निर्माण गरिसक्ने लक्ष्य लिइएको ठेकेदार भण्डारीले बताए ।

बाटो शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा–२३ मा पिच बाटो निर्माणको शुरुवात मात्र भएको बताए । उनले अहिले निर्माण शुरु गरिएको पिच बाटोले पोखरा–२२ पुम्दीभुम्दीस्थित पलाइँचेसम्म पुर्‍याउने र त्यसका लागि बजेट उपलब्ध गराउने बाचा गरे । सांसद पहारीले फेवातालमा लेदोसहितको ढुंगा माटो बगेर आउन नदिन फेवातालको सिरान क्षेत्रका रुपमा रहेका पोखरा–२३ र २४ वडाका कच्ची बाटोलाई पिच बनाउनुपर्ने आवश्यक्ता रहेकोमा जोड दिए । उनले फेवातालको तटीय तथा सिरान क्षेत्रको विकास नभई फेवाताल संरक्षण नहुने भन्दै त्यसले लेकसाईडलाई घाटा भन्दा बढी फाईदा हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width