पशु बीमामा कृषकको आकर्षण

रासस
असाेज १७, २०७७
insurance

दमौली, १७ असोज । तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको संख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको संख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५÷७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६÷७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ । बीमावापत सरकारले रु एक करोड ९० लाख ८२ हजार २५० प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले रु ४७ लाख ७० हजार ५६२ भुक्तानी गरेका छन् । गत आर्थिक वर्षसम्म पशु बीमाका लागि सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत भुक्तानी गर्नुपर्ने प्रावधान रहेको थियो ।

जिल्लामा सबैभन्दा बढी कुखुरामा बीमा गरिएको छ । रु एक करोड ३३ लाख २० हजार मूल्य बराबरका २२ हजार २०० कुखुरा, रु पाँच करोड ३९ लाख ९० हजार मूल्य बराबरका पाँच हजार ३९९ बाख्रा, रु १२ लाख ५० हजार मूल्य बराबरका पाँच हजार माछा, रु १७ करोड ५० लाख मूल्य बराबरका दुई हजार गाई, रु १३ करोड तीन लाख मूल्य बराबरका एक हजार ३०३ भैँसी र रु ७७ लाख ८५ हजार मूल्य बराबरका ५१९ बङ्गुरको बीमा गरिएको केन्द्रले जनाएको छ ।

त्यसमध्ये गाईको बीमामा कृषकले रु २१ लाख ८७ हजार ५००, भैंसीको बीमामा रु १६ लाख २८ हजार ७५०, बाख्राको बीमामा रु छ लाख ७४ हजार ८७५, बङ्गुरको बीमामा रु ९७ हजार ३१२, कुखुराको बीमामा रु एक लाख ६६ हजार ५०० र माछाको बीमामा रु १५ हजार ६२५ तिरेका छन् । तनहुँ जिल्लामा एनएलजी, सगरमाथा, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पशु बीमाको सेवा दिँदै आएका छन् ।

बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । ‘पशुको मृत्यु भएको खण्डमा कृषकले बीमामार्फत राहत पाउँछन्’, उनले भने, ‘मैले सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।’ यस अवधिमा उनले १२ वटा गाईको मृत्यु भएपछि बीमाबाट भुक्तानी लिएका छन् । चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषक उत्साहित भएको भट्टराईले बताए ।

व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले बीमा कार्यक्रम राम्रो भए पनि दाबी भुक्तानी लिने बेलामा इन्स्योरेन्स कम्पनीले दुःख दिने गरेको बताए । ‘मैले भैँसीको बीमा गराएको थिएँ, भैँसी मरेपछि भुक्तानी दाबी गर्न जाँदा चार महिनासम्म झुलाउने काम भयो’, पौडेलले भने । व्यास नगरपालिका–१ का कुखुरापालक कृषक खेमराज अधिकारीले पनि भुक्तानी प्रक्रिया झण्झटिलो भएकाले सहज बनाउनुपर्ने बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएको छ ।

Related News

सम्बन्धित समाचार

  • मौरीपालन तालिम

    आदर्श समाज सम्वाददाता पौष २३, २०८१
    पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय आयोजनामा मौरीपालन तालिम सुरु भएको छ ।…
  • सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता पौष ७, २०८१
    स्याङ्जा । वालिङ तथा गल्याङ नगरपालिकाको समन्वय, आइडिई नेपालको सशक्तीकरण र पोषण–सूक्ष्म खाद्य सुरक्षाको लागि नबिन ग्रामीण बजार विकास तथा…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…
  • राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा गत वर्ष नेपालमै पहिलोपल्ट सुन्तला महोत्सव भयो । उक्त महोत्सवले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा उत्तिकै चर्चा पायो ।…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…

hero news full width