गोठादीका पहिरोपीडितलाई मगर संघ बेलायतको सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७७
Sarangkot rahat photo

गोठादीका पहिरोपीडितलाई मगर संघ बेलायतको सहयोग प्राप्त भएको छ ।

नेपाल मगर संघ, केन्द्रीय समितिको आह्वान र अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायतद्वारा संकलित राहत रकम शुक्रबार कास्कीको पोखरा–१८, सराङकोट, गोठादीका पहिरोपीडितलाई हस्तान्तरण गरिएको छ ।

मगर संघ, बेलायतले पठाएको ४० हजार रुपैयाँ नेपाल मगर संघ कास्कीले सराङकोटका पहिरोपीडितलाई प्रत्यक्ष रुपमा भेटेर हस्तान्तरण गरेको हो ।

पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र घाइतेलाई नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगर, केन्द्रीय सदस्य पूर्णबहादुर रानामगर र कास्की जिल्ला अध्यक्ष संगीता पुनमगरलगायतले राहत रकम वितरण गरे ।

राहत वितरणपछि बोल्दै संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगरले विश्वव्यापी रुपमा कोभिड–१९ को महामारीका बेला बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट यस वर्ष देशले ठूलो धनजनको क्षति व्यहोर्नु परेको उल्लेख गरे ।

बाढीपहिरोबाट क्षति पुगेका देशका विभिन्न ठाउँमासमेत मगर संघको आह्वान अनुसार मगर संघ बेलायतले पठाएको राहत सहयोग गरिएको जानकारी गराउँदै उहाँले थोरै भए पनि मगर संघले पीडामा मल्हम लगाउने प्रयास गरेको बताए ।

संघका अर्का केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले पैसा भन्दा पनि आत्मीयता ठूलो भएको भन्दै विदेशमा रहेका नेपालीहरूबाट नेपालमा परेको विपद्मा साथ दिएको उल्लेख गरे ।

उनले एक मगरले अर्को मगरको दुःखमा साथ दिने काम भएको भन्दै सबैले नैतिक, भौतिक र आर्थिक रुपमा सक्दो सहयोग गर्ने गरेको बताए ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मगर संघ, कास्कीले यसअघि पनि पहिरोपीडितलाई सहयोग गरेको उल्लेख गर्दै मगर संघ, बेलायतबाट पठाइएको रकम हस्तान्तरण गर्ने अवसर दिएकोमा नेपाल मगर संघ र अन्तर्राष्ट्रिय मगर महासंघलाई धन्यवाद समेत दिए ।

नेपाल मगर संघ, सराङकोट इकाईका अध्यक्ष सञ्जीव थापामगरले सामाजिक भावनाले सहयोग जुट्न ठूलो टेवा पुगेको भन्दै एकले अर्कोको दुःखमा साथ दिनुको परिणाम धेरैले राहत सहयोग गरेको उल्लेख गर्दै मगर संघ बेलायतलाई धन्यवाद दिए ।

कार्यक्रममा लालीगुराँस ऐंजु आमा समूह, पोखरा–३० तर्फबाट अध्यक्ष दीक्षा पुनले ५ हजार रुपैयाँ, संघकी जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले ३ हजार रुपैयाँ सहयोग गरेको जिल्ला सचिव रामबहादुर थापामगरले जानकारी दिए ।
स्मरण रहोस्, गत असार २५ गते गएको पहिरोले पुरिएर टंकबहादुर थापामगरसहित ५ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width