लामो दूरीका यातायात असोज १ देखि नै संचालन

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
CKK-KTM-MinisterGyawalib

काठमाडौं । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यसअघि बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसरी लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्ने छन् । हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ ।

आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् । “स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौँ । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्यो”, परराष्ट्रमन्त्री ज्ञवालीले भने, “त्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदण्ड लागु गरेर खुला गरेका छौँ ।”

लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उनले बताए । सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ । सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।
लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णय गरिएको छ ।

यात्रु चढ्ने र ओर्लने बेलामा ढोकामा सेनिटाइजर प्रयोग गर्नुपर्ने छ । विमान चालक र सहचालक र अन्यले मास्क, पञ्जा जस्ता स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्ने छ ।

यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको छ । विदेशबाट आउने यात्रुको यात्रा शुरु गर्नुभन्दा पहिले ७२ घण्टाअघिको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

असोज ३० सम्म अन्तर्राष्ट्रिय नाका बन्द

सरकारले अन्तरराष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ । यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड –१९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको ज्ञवालीले जानकारी दिए ।

समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसंँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ ।

असोज १ देखि होटल व्यवसाय सञ्चालन

सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी असोज १ देखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । जसमा होटल, रेष्टुरेन्ट, पदयात्रा र ट्राभल व्यवसाय सञ्चालन गर्न सकिने छ। उनीहरूले स्वास्थ्य तथा सुरक्षाको पालना गरेनगरेको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने छ ।

यस्तै नेपालमा सञ्चालित विभिन्न विकास आयोजनामा प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि अनुमति खुला गरिएको छ । त्यसका लागि त्यस्ता जनशक्तिले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ ।

यस्तै विद्यालयमा विद्यार्थी उपस्थित गराएर कक्षा सञ्चालन गर्न नसकिने अवस्थामा दूर र वैकल्पिक शिक्षाका माध्यमबाट शिक्षण र सिकाइलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ ।

सरकारले शैक्षिक संस्था, परीक्षा, सेमिनार, गोष्ठी, सिनेमा हल, डान्सबार, सैलुन, स्विमिङ पुल, समूहमा खेलिने खेल, धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना जस्ता बढी भीड हुने क्षेत्र भने अझै बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले बताए । अर्को निर्णय गरेपछि मात्र यी क्षेत्र खुला गरिने छ ।

हिमाल र पदयात्रा प्रयोजनका लागि नेपाल आउने पर्यटकका लागि आगामी कात्तिक १ गतेदेखि खुला गरिएको छ । त्यसका लागि ७२ घण्टाअघिको पिसिआर नेगेटिभ रिपोर्ट चाहिने जनाइएको छ ।

स्वास्थ्य आर्थिक संकटको चुनौती : प्रवक्ता ज्ञवाली

परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताएका छन् । पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताए ।

“दैनिक हजारको सङ्ख्यामा सङ्क्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन”, उनले थपे, “अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड –१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला ।” केही सञ्चारमाध्यममा कोभिड –१९ को सङ्क्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width