गाईको भन्दै वनस्पति घीउ बेच्ने पक्राउ

ऋषिराम बराल
भाद्र १, २०७७
ghau

पोखरा  । प्रदेश बजार अनुगमन टोलीले आइतबार २० कार्टुन घीउ नष्ट गरेको छ । गाईको घीउ भन्दै भुक्याएर बनस्पति घीउ बिक्री गर्दै आएका कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई पोखरा–४, गणेशटोल डेरा गरी बस्ने एक युवाले बिक्रीका लागि बजारमा पुर्‍याएको घीउ नष्ट गरिएको हो ।

‘कुशल’ घीउ नाम दिएर ५ सय ग्रामको ३ सय ८० रुपैयाँ मूल्य राखेर प्लाष्टिक बट्टामा बिक्रीको लागि उनले बजारमा पु¥याएका थिए । बट्टामा ५ सय ग्राम लेखिए पनि तौल भने ३ सय ८५ ग्राममात्र भेटिएको छ ।

ती युवकले घीउजस्तो देखिने कच्चा पदार्थ प्रतिकेजी १ सय ३५ रुपैयाँ खरिद गरी प्रतिकेजी ७ सय ६० रुपैयाँ बिक्री गर्ने गरेको पाइएको छ । उनले उक्त नक्कली घीउ म्याग्दी, लमजुङ, तनहुँ लगायत जिल्लामा लगेर बिक्री गर्ने गरेको जानकारी उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका निर्देशक गोकुल शर्माले दिए ।

अनुगमन टोली साउन १६ मा तनहुँको म्याग्देस्थित थर्पुमा अनुगमनक्रममा एक पसलमा उक्त नक्कली घीउ भेटाएपछि नमूना संकलन गरेर ल्याएको थियो ।

उक्त घीउ बिक्री गर्दै आएका अन्नपूर्णका ती युवकलाई खोज्न टोलीलाई २ हप्ता लागेको थियो । ती व्यक्तिले आफ्नो डेरा कोठामा कुनै दर्ता र कम्पनी बिना प्याक गर्ने, लेबल टाँस्ने र बजारमा बिक्री गर्ने गरेको तथ्य खुलेको थियो ।
निर्देशनालयले ती युवाले उत्पादन गर्ने कच्चा पदार्थ र लेवल मेसिन समेत बरामद गरेको छ ।

आइतबार निर्देशनालयको कार्यालयमा घीउ नष्ट गरी ती व्यक्तिलाई अबको दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गरी तारेखमा छाडिएको जानकारी निर्देशक शर्माले दिए । घीउ नष्ट गर्न निर्देशनालयका निर्देशक गोकुल शर्मा, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका डिभिजन प्रमुख प्रशान्त पोखरेल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिव पौडेल, नापतौल कार्यालय पोखरका प्रतिनिधि तथा संचारकर्मीको रोहवरमा घीउ नष्ट गरिएको हो ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कोइरालाले चार्डपर्वको मौका छोपी नक्कली घीउ बिक्री गरेर आमनागरिकको स्वास्थ्यमा खेलवाड गर्न नपाइने बताए ।

यस्तै नक्कली घीउ उत्पादक अन्य कोही भएपनि तुरुन्त बन्द गर्न आग्रह गर्दै अबका दिनमा बजार अनुगमन थप प्रभावकारी बनाइने बताए ।

पोखराका डिपाटमेन्टल स्टोरले पनि उद्योग, लेवल, तौलजस्ता कुरा लेखिएका खाद्यपदार्थ खरिद गरेरमात्र बिक्री गर्न निर्देशनालयले निर्देशन दिएको छ । कसैले झुक्याएर नक्कली र अखाद्य पदार्थ बिक्री गरेको पाइए कडा कारबाही गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width