पाण्डेद्वारा ३ करोड ८० लाखको छात्रवृत्ति घोषणा

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७७
hari pandey

पोखरा । पूर्व मन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले करिब ३ करोड ८० लाख बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेका छन् ।

सोको लागि ३ करोड रुपैयाँ अक्षयकोषमा राखिने र ७९ लाख ५० हजार बराबरको छात्रवृत्ति आफ्नो जन्मभूमि पाल्पा र कर्मभूमि कास्कीमा वितरण हुनेछ ।

समाजसेवी पाण्डे अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् ।

सोमध्ये ३ करोड रुपैयाँ विभिन्न १२ नाममा २५÷२५ लाख छुट्टाइएको छ । भगवान् शिव, नेपाल आमाकी महान् छोरी सीता, भगवान् कृष्ण, भगवान् बुद्ध, भौगोलिक रुपमा सिंगो नेपाल एकीकरण गराउने पृथ्वीनारायण शाह तथा योद्धाहरु, भाषागतरुपमा सिंगो नेपाल उपलब्ध गराउने भानुभक्त आचार्य तथा साहित्यिक योद्धाहरु, महान् पुर्खा तथा शहीदहरु, भगवान् यशू ख्रीष्ट, भगवान् अल्लाह, मानव समानताका अभियन्ता कार्ल माक्र्स, पृथ्वीमाता र ब्रह्माण्ड रम्भाको नाममा उनले देशभरबाट समेट्ने गरी विभिन्न विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने जनाएका छन् । सो अक्षयकोषबाट हरेक वर्ष करिब ४० जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यस्तै, उनी जन्मिएको पाल्पा जिल्लामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भैसकेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा वितरित सो छात्रवृत्ति पाल्पाका ८१ वटा वडा समेट्ने गरी ९२ जनालाई गत फागुनमा वितरण गरिएको हो ।

यता, उनको कर्मभूमि कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिनेछ । जिल्लाका सबै वडाबाट एक–एक जना समेट्ने गरी जनही ५० हजार दरले ३९ लाख रुपैयाँ छुट्टाइएको पाण्डेले जानकारी दिए ।

जीवनलाई फरक ढंगले परिभाषा गर्ने उद्योगी पाण्डेले विगतदेखि नै विभिन्न नाममा छात्रवृत्ति वितरण गर्दै आएका छन् । सो छात्रवृत्तिबाट हालसम्म ४ सय २६ लाभान्वित भैसकेका छन् ।

जसअनुसार १ सय ४० जनाले प्राविधिक विषयअन्तर्गत ग्राजुयट तहमा पूर्ण र आंशिक छात्रवृत्ति पाएका छन् । जसमा विभिन्न इञ्जिनियरिङ, कृषि र वनमा गरी ८२ जनाले पूर्ण र ५८ आंशिक प्राप्त गरिसकेका हुन् ।

यस्तै, उनकी छोरी डा. शान्ति पाण्डेको स्मृतिमा १ सय ९४ जनाले नर्सिङ लगायत स्वास्थ्यसम्बन्धी शिक्षा प्राप्तिका लागि छात्रवृत्ति पाएका छन् भने पाल्पामा नन–ग्रायजुयट प्राविधिक विषयमा ९२ जना गरी कुल ४ सय २६ जनाले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गरेका हुन् । अब कास्कीमा सहित छात्रवृत्ति प्राप्त गर्नेको संख्या ५ सय ४ हुनेछ ।

पाल्पाली समाज पोखराको व्यवस्थापनमा भएको सो समारोहमा उनले लेखेको पुस्तक ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक विमोचन गरियो । ६ सय २४ पृष्ठ लामो सो पुस्तकको उनकी आमा शिवकुमारी पाण्डेले सार्वजनिक गरिन् । ६ अध्याय रहेको सो पुस्तकमा उनले नेपालले आफ्नै सम्भावना प्रयोग गरी कसरी समृद्धि प्राप्त गर्न सक्छ र मानव भइसकेपछि आफ्नो कत्र्तव्य पूरा गर्न के गर्नुपर्छ भन्नेबारे मिहिन ढंगले व्याख्या गरेका छन् ।

पूर्व उद्योग तथा जलस्रोत राज्यमन्त्री पाण्डे पोखरामा वरिष्ठ उद्योगपतिको रुपमा चिनिन्छन् । २०३५ सालमा पोखरा झरेका उनले हालसम्म १९ वटा व्यवसाय कम्पनीमा संलग्न हुँदै अनुभव प्राप्त गरेका छन् ।

गरिबी, असमानता तथा अपमानबाट मुक्तिको लागि समाधान बताउने पाण्डेले सकेसम्म स्वदेशी बस्तुको प्रयोग गर्ने, सकेसम्म बढी प्रतिफलयुक्त कार्यमा संलग्न हुने र सकेसम्म कम खर्चमा जीवनयापन गर्ने कुरा प्रयोगमा ल्याउँदै आएका छन् ।

सो क्रममा पाण्डेले ४ महिनाअघि निधन भएका आफ्ना पिता स्व. खिमानन्द पाण्डेप्रति गहिरो स्मरण गरे ।

मातृसेवा प्रतिष्ठान नेपालका उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएकोे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उद्योगी पाण्डेकी बुहारी सीता पाण्डे, पाल्पाली समाज पोखराका पदाधिकारी तथा सदस्य, सल्लाहकार, पत्रकार लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width