पाल्पा पहिरोमा मृत्यु हुने ४ पुगे

आदर्श समाज सम्वाददाता
असार ९, २०७७

पोखरा, ९ असार । पाल्पाको तानसेन-हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा सोमबार पहिरोले गाडी बगाउँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । यसअघि सोमबार नै ३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो पटक झापाको शिवसतासी नगरपालिका–८, झिलेझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले एक जना व्यक्ति हराइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा पहिरोमा माटोले पुरिएको अवस्थामा मंगलबार शव फेला परेको हो ।

पहिरोमा परेका अन्य ३ जनाको मंगलबार मात्र पहिचान खुलेको हो । चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठको ज्यान गएको प्रहरीले जनायो । तीमध्ये २ जनाको घटनास्थलमै शव भेटिएको थियो भने १ जनाको उपचार क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो ।

उनीहरु सबै जना गुल्मीमा एक निर्माण कम्पनीका मजदुर रहेको बताइएको छ । उनीहरु त्यता तर्फ जाँदै थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width