भर्ना अभियानको भएन टुङ्गो

रासस
जेठ २, २०७७
NEB-oct

काठमाण्डौ, २ जेठ । यतिबेला विद्यार्थी भर्ना भएर कक्षा शुरु हुने समय हो । तर अहिले विद्यालय बन्द छन् । भर्ना अभियान कहिले शुरु हुने अन्योल कायमै छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहेपछि शिक्षा क्षेत्र प्रभावित हुन पुगेको छ । बन्दाबन्दी गत गत चैत ११ गतेदेखि शुरु भएको हो ।

कतिपय विद्यालयले गत शैक्षिकसत्रको वार्षिक परीक्षासमेत सम्पन्न गर्न पाएका छैनन् । परीक्षा लिएकाहरुले नतिजा प्रकाशन गर्न सकेका छैनन् । केहीले नतिजा प्रकाशन गरेका छन् । गत शैक्षिकसत्र अन्तर्गतका माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न बाँकी नै छ । कतिपय विद्यालयले आन्तरिक परीक्षामा विद्यार्थीहरुले ल्याएको अङ्कका आधारमा अन्तिम नतिजा प्रकाशन गरेका छन् । बन्दाबन्दी यथावत रहेको छ । जेठ महिना शुरु भइसक्दा भर्ना अभियानको टुङ्गो लाग्न सकेको छैन ।

प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालयले भर्ना अभियान र नयाँ शैक्षिकसत्रबारे केन्द्र सरकारको निर्णय पर्खिरहेको छ । मन्त्रालयले बालबालिका भर्ना अभियान कसरी शुरु गर्ने भन्नेबारे ठोस योजना बनाउन सकेको छैन । मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले लकडाउन यथावत रहेकाले भर्ना अभियान कसरी थाल्नेबारे छलफल नगरिएको बताए ।

लकडाउन लम्बिएसँगै स्थानीय तह, सरोकारवाला सङ्घसंस्थासँग बालबालिकालाई घरमै पढाउने वातावरण मिलाउन पाठ्यपुस्तक उपलबध गराउन समन्वय गरिरहेको उनको भनाई छ । “शिक्षकलाई लकडाउन लम्बिएमा बालबालिकालाई दैनिक घरमै पढ्न लगाउने गरी अभिभावकसँग समन्वय गर्न भनेका छौँ”, प्रवक्ता अधिकारीले भने “तर भर्ना अभियान सञ्चालनबारे केन्द्रले निर्णय नदिँदासम्म प्रदेशले केही गर्न सक्दैन ।” त्यस्तै लकडाउनमा एसइई दिने विद्यार्थीका लागि ‘भर्चुअल’ शिक्षा अध्ययन गराउन मन्त्रालयले निर्देशन दिएको छ । “कर्णालीमा २० प्रतिशतलाई मात्रै अनलाइनका माध्यमबाट अध्ययन गर्न सकिँदोरहेछ, बाँकी ८० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा नभएकाले एफएम रेडियोबाट कक्षा सञ्चालन गरिरहेका छौँ”, प्रवक्ता अधिकारीले भने ।

यसैबीच निजी विद्यालयहरुले लकडाउन अवधिको शुल्क लिने तयारी गरेपछि प्रदेश सरकारले शुल्क लिएमा कारवाही गर्ने चेतावनी दिएको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै लकडाउन अवधिको शुल्क नलिन अभिभावकलाई समेत सचेत गराएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width