अनि मुख्यमन्त्रीले भनेः गण्डकी प्रदेश ग्रिन जोन

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७७
IMG_9982

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश ग्रिन जोनमा रहेको बताएका छन् । कोरोना संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला गण्डकी प्रदेशमा त्यसको असर खासै नपरेको भन्दै उनले ११ वटै जिल्ला ग्रिन जोनमा परेको बताए । ‘बागलुङमा दुईवटा केस पोजिटिभ देखियो । वहाँहरु पनि उपचारपछि फर्किसक्नुभएको छ,’ उनले भने, ‘अव गण्डकी प्रदेश ग्रिन जोन बनिसक्यो । यहाँ कोरोना संक्रमण छैन । सबै जिल्ला ग्रिन जोन हुन् ।’

प्रदेशभित्र हालसम्म दुईजना मात्रै कोरोेना संक्रमण पोजिटिभ देखिएको थियो । १९ वर्षीया किशोरी अंशु सापकोटा १ महिनापछि शुक्रबार धवलागिरि अञ्चल अस्पतालबाट डिस्चार्ज भएसँगै गण्डकी कोरोना फ्री भएको हो । यसअघि सोही अस्पतालबाट ६५ वर्षीया बृद्धा मनकुमारी पौडेल २ साताको उपचारपछि डिस्चार्ज भएकी थिइन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि मुख्यमन्त्री गुरुङले धन्यवाद दिएका छन् भने कोरोना जित्ने दुवैजनालाई बधाई दिए ।

‘वहाँहरु दुवैजना डिस्चार्ज भएको खवरले अत्यन्तै खुशी तुल्याएको छ । यो अवसरमा म दुवैजनालाई हार्दिक बधाई दिँदै चिकित्सकहरुको सुझाव सल्लाह बमोजिम आफ्नो स्वास्थ्यको निरन्तर ख्याल गर्न आग्रह गर्छु,’ उनले अघि भने, ‘साधन श्रोतको सीमितताको बीचमा पनि उच्च मनोवल र धैरेताका साथ उपचारमा अहोरात्र खट्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापनका सबै अस्पताल परिवारलाई धन्यवाद दिन्छु ।’ यही कामको निरन्तरता भए कोरोनाविरुद्ध जुध्न सक्ने हौसला प्राप्त भएको मुख्यमन्त्री गुरुङले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width