अपाङ्गता भएका छोरालाई आमाको माया…

rss रासस
वैशाख ११, २०७७
aaaaa

हरि बाँस्तोला– पोखरा, ११ वैशाख । बन्दाबन्दीका कारण विपन्न मजदुर त समस्यामा छन् नै अपाङ्गता भएका परिवारका लागि यो अभिसाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण यतिखेर जटिल समस्या बनेको हो ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रा निवासी मनमाया थापाको परिवारमा बन्दाबन्दीले दैनिकीमा समस्या त पारेको छ नै । अपाङ्गता छोराको पेट भर्ने कुराले झन् चिन्तित बनाउँदै आएको थियो । जन्मजात नै अपाङ्गता बनेका उनका १८ वर्षीय छोरा पूर्ण थापा जन्मेदेखि नै बिछ्यौनामा हुनुहुन्छ । हातखुट्टा नचल्ने अवस्थाका उनको शरीरको सामान्य सरसफाइदेखि खानपिन सबैमा अरुकै भर पर्नुपर्छ ।

हाते ट्र्याक्टर चलाएर दैनिक गर्जो टार्दै आएका उनका श्रीमान् लक्षु थापा यतिखेर बन्दाबन्दीले गर्दा काम पाएका छैनन् । ट्याक्सी चलाउँदै आएका अर्का छोरा पनि बन्दाबन्दीका कारण बेरोजगार बनेको उनले बताए । रातोपैह्रास्थित आफन्तको जग्गामा सानो कोठामा अपाङ्गता छोरासहित सात जनाको परिवारको दैनिकी कष्टकर बनिरहेको वर्तमान अवस्थामा यहाँको एउटा संस्थाले खानाको सेट लिएर पुगेपछि सो परिवारको अनुहारमा एकाएक खुशीयाली छायो ।

बन्दाबन्दीको कारण दैनिक ज्यालादारी गर्ने वा मजदुर वर्गको पेट भोको हुन नदिने लक्ष्यका साथ पोखरा महानगरपालिका र पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखार–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट उनको परिवारलाई घरमै खानाको सेट पुगेको हो । अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको चोक नजिकै रहेको थापा परिवारलाई समूहको गाडीमा लगिएको खानाको प्याकेट पाँच जना सदस्यले एक–एक प्याटेक हातहातमा लिएर कोठाभित्र पस्नेबित्तिकै खान शुरु गरे भने आमा मनमायाको भने पहिलो प्राथमिकता अपाङ्गता छोराको पेट भर्नु थियो ।

“बन्दाबन्दीले हामीजस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेला अपाङ्गताका लागि अझै कष्टकर हुनेरहेछ”, उनले भनिन् “अरुले त आफैँले खान सक्छन् यो आफैँ खान पनि सक्दैन, त्यसैले पहिले यसलाई खुवाउन लागेकी छु ।” कोठामा भएको खाद्यान्नलगायतका सम्पूर्ण सामल रित्तिएपछि अपाङ्गता छोरासहितको सिङ्गो परिवार भोकभोकै मरिन्छ कि भन्ने अवस्थामा सहयोगी समूह हाम्रा लागि भगवान् बन्यो । खानाको प्याकेटतर्पm हेरेर हर्षको आँशु झार्दै उनले भनिन् “अपाङ्गता छोरासहीत सातै जना परिवारमा बाँच्ने आशा पलाएर आयो ।”

“खाना स्वादिलो छ, प्रत्येक दिन बिहान र बेलुका खानाको प्याकेट घरमै आउँछ” थापाले भने “अपाङ्गता छोरासहित सम्पूर्ण परिवार अहिले अघाउने गरी खान पाएका छाैं।” सो परिवारको दुःख देखेर नै स्थानीय नरबहादुर श्रेष्ठले एक किलो कुखुराको मासु सहयोग गरेका थिए। सोही स्थानमा खाद्यान्न तथा पैसाको अभावमा चुलो बल्न छाडेको बताउने चार छोराछोरीकी आमा पार्वती भुजेलको परिवारले पनि खानाको प्याकेट पाउन थालेपछि हर्षित भएका छन् ।

श्रीमान्ले कहिले मजदुरीसँगै गण्डकीमा गएर दाउरा ल्याउनुहुन्थ्यो बिक्री गरेर आएको रकमले चार नाबालक छोराछोरीसहित छ जनाको परिवारको दुःखमसुखम जीविकोपार्जन गर्दै आएका थियौँ, अचानक सबै बन्द भयो, दाताले ल्याएको भातको प्याकेट जिउनको लागि आधार बनेको उनको भनाइ छ । सो स्थानमा खानाको प्याकेट लिएर पुगेका  पौरखी स्वयंसेवी समूहका सदस्य विष्णुप्रसाद पौडेलका अनुसार थापा एवं भुजेल परिवार वास्तविक मजदुर र विपन्न भएको बताइन् ।

खान नपाएर कोही पनि भोकै बस्न नपरोस् भन्ने लक्ष्यका साथ शुरु गरिएको राहत अभियान लकडाउन (बन्दाबन्दी) समाप्त नभएसम्म नियमितरूपमा बिहान र बेलुका खाना तत्तत् स्थानमा पुर्याउने विश्वास दिलाए। बन्दाबन्दीका कारण दैनिक ज्यादारी गर्ने, मजदुर, असहाय एवं पैदलयात्रीलाई समेत भोजनको व्यवस्था गर्दै आएका छौँ, समूहले अहिले दैनिक एक हजार ५०० को हाराहारीमा खानाको व्यवस्था गर्दै आएको अर्का सदस्य जनक पराजुलीले जानकारी दिए । संस्थाले शनिबारदेखि बुधबारसम्म चार हजार २९९ जनालाई खानाको व्यवस्था गरेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads