विपद्‍मा भोका छैनन् न्यूजिल्याण्डका नेपाली विद्यार्थी

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७७
TEAM NABOP with food bag small

पोखरा, ११ बैशाख । बन्दाबन्दीको असर सबैभन्दा बढी भर्खरै नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीमा देखिएको छ । जनवरी देखि अप्रिलसम्म नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थी सबैभन्दा बढी समस्यामा परेका छन् । उनीहरुले अहिलेसम्म कुनै काम पाएका छैनन् । कलेज बन्द छ । र, नेपालबाट बोकेर गएको केही रकम सकिएको छ ।

नेपाली विद्यार्थीको यस्तै पीर मर्कालाई बुझ्दै न्यूजिल्याण्डको एनआरएनए र केही नेपाली संघसंस्थाहरुले सहयोग गरेका छन् । लकडाउनका कारण खान र बस्नका लागि समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्डका नेपाली संघसंस्थाहरुले खाद्यान्न र आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।न्यूजिल्याण्डमा रहेका पत्रकार भुपालकुमार गुरुङका अनुसार एनआएरएनए न्यूजिल्याण्डले पहिलो चरणमा त्यहाँका १ सय ९० जना विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइसकेको छ ।

लकडाउन लगत्तै विद्यार्थीलाई समस्या पर्ने देखेपछि न्यूजिल्याण्डको एनआएरएनएले अत्याधिक समस्यामा रहेका विद्यार्थीहरुको सूची उठाउन शुरु गरेको थियो । सँगसँगै नेपाली समुदायका मानिसहरुसँग संस्थाले आर्थिक सहयोग संकलन पनि गरेको थियो । र,पहिलो चरणमा संस्थाले ३१ हजार ६ सय ७ न्यूजिल्याण्ड डलर संकलन पनि गरिसकेको छ । त्यो मध्ये २५ हजार ६ सय ५० न्यूजिल्याण्ड डलर संस्थाले सहयोग गरिसकेको छ । पहिलो चरणमा २ सय ३३ जना विद्यार्थीहरुले एनआएरएनए न्यूजिल्याण्डले आह्वान गरेको सहयोग फर्ममा आफ्नो नाम दर्ता गराएका थिए । यद्यपि संस्थाले २ सय ६ जना विशेष समस्यामा रहेका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराउने भएको एनआएरएनए न्यूजिल्याण्डका अध्यक्ष लाल केसीले बताए ।

त्यस्तै न्यूजिल्याण्डमै रहेको नेपालीहरुको संस्था ‘न्यूजिल्याण्ड नेपाल सोसाइटी इनकर्पोरेट’ले पनि समस्यामा रहेका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिनेश खड्काले हालसम्म २ सय ६१ जना विद्यार्थीहरुलाई संस्थाले खाद्यान्न उपलब्ध गराईसकेको जानकारी दिए ।त्यस्तै न्यूजिल्याण्डकै अर्को संस्था नेपाल न्यूजिल्याण्ड फ्रेन्डसीप सोसाइटी अफ क्यान्टरबरीले ३५ जना नेपालीहरुलाई करिब डेढ महिनासम्म पुग्ने खाद्यान्न वितरण गरेको छ । संस्थाका अध्यक्ष भुवनेश्वर ढकालका अनुसार विद्यार्थीसँगै लकडाउनका कारण बेरोजगार बन्नु परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width