केफ माविको २६ औं वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
20200124_115348

पोखरा ।पोखरा १, सिमपानीस्थित करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) माविको २६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भयो ।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुका साथै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्रालाई सम्मान तथा पुरस्कृत गरियो ।

त्यस अवसरमा विद्यालयका संस्थापक प्राचार्य लोकराज भण्डारी, आदर्श समाज दैनिकका प्रधानसम्पादक एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र राष्ट्यि लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्कीका अध्यक्ष टेकबहादुर क्षत्री सम्मानित भए ।कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सहसचिव झलकराम अधिकारी, विद्यालयका अध्यक्ष वसन्त बास्तोला र प्राचार्य डिल्लीराम अधिकारीले सम्मानपत्र, दोसल्ला र फूलमालाले सम्मान गरेका थिए ।

प्रमुख अतिथि अधिकारीले केफको स्थापनाकालदेखिका गतिविधि आफूले नियाल्दै आएको बताउँदै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप प्राप्त गरेको उत्कृष्टता समाजका लागि फलदायी भएको बताए ।
‘पढाइमात्रै ठूलो कुरा होइन,’ उनले भने, ‘विद्यार्थीको प्रतिभा प्रस्फुटन हुनु महत्वपूर्ण कुरा हो । उनीहरुले आफ्नो क्षमताको उजागर गर्ने अवसर पाउनुपर्दछ ।’ राष्ट्यि परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले विद्यार्थीको भविष्यसँग जोडिएको शिक्षण पेशा संवेदनशील भएको उल्लेख गर्दै शिक्षकका हरेक व्यवहार अनुकरणीय हुनुपर्नेमा जोड दिए ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले विकसित मुलुकमा राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्ण दायित्व लिन नसकिरहेको अवस्थामा निजी क्षेत्रले ठूलो योगदान दिएको बताए ।विद्यालयका संस्थापक प्राचार्य लोकराज भण्डारीले विद्यालयले प्राप्त गरेको सफलता नै सबैको सन्तुष्टि भएको उल्लेख गरे ।स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गुणस्तरीय शिक्षा नै विकासको आधार भएको बताए ।भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विवश बास्तोलाले विद्यालयले सक्षम जनशक्ति उत्पादन गरेको भन्दै आभार व्यक्त गरे । विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य डिल्लीराम अधिकारीले विद्यालयमा हाल १ हजार ४ सय ६५ जना विद्यार्थी र ८८ जना शिक्षक कर्मचारी रहेको जानकारी दिए ।

कार्यक्रममा एसइई २०७५ मा उत्कृष्ट छात्रछात्रा समीर पोखरेल र संरचना बराललाई करुणानिधि जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको थियो ।यसैगरी विद्यार्थीबाट नाटक, नृत्य, कविता, भजन, कराते प्रस्तुति साथै विभिन्न हस्तकला तथा चित्रकला प्रदर्शन गरिएको थियो ।शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–प्राचार्य भानुभक्त पोखरेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width