बगादी खोलामा झोलुङगे पुल

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
pool opening

लेखनाथ, ४ जेष्ठ । झोलुङगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति कास्कीबाट पोखरा २७ र २९ नं वडा जोड्ने गरी बगादी खोलामा ७७ मिटर लामो पुल निर्माण गरिएको छ ।

कुल ३५ लाख आठ सय ७० रुपैयाँमा निर्मित उक्त नर्मदेश्वर झोलुङगे पुलको उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक कार्यक्रमका वीच उद्घाटन गरेका हुन्।

झोलुङगे पुलको उद्घाटन गर्दै उप प्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले धार्मिक एवम सांस्कृतिक स्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताए ।

नर्मदेश्वर पुल निर्माण समिति अध्यक्ष शान्ती पौडेलले बगादी र सेती नदीको संगमस्थल नर्मदेश्वर धाममा पोखरा २७ र २९ का स्थानीयवासी आवतजावत गर्न निकै कठिनाइ भैरहेका अवस्थामा पुल निर्माण गरिएको बताइन ।

नर्मदेश्वर मोक्षाश्रम धाम संरक्षण समितिका अध्यक्ष एवम झोलुङगे पुल निर्माण अनुगमन समितिका अध्यक्ष झविन्द्रराज आचार्यले पुल निर्माणसँगै नर्मदेश्वर धाममा निर्माण हुन लागेको विशाल मन्दिर सहितका संरचना चाँडै सम्पन्न हुने बताए ।

नर्मदेश्वर धामको संरक्षण र विकासको प्रयास भएको उल्लेख गर्दै उनले कुल छ करोड रुपैयाँको लागतमा कलात्मक मन्दिर सहितका संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा उप प्रधानमन्त्री यादवले पुल निर्माणका लागि पोखरा महानगरपालिका वडा नं २९ तर्फ जग्गा सहयोग गर्ने पण्डिथ चतुर्भज शर्मा पौडेल र वडा नं २७ तर्फ जग्गा प्रदान गर्ने स्व पूर्णप्रसाद अधिकारीको परिवारलाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गुरु बराल, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, निर्माण समितिका सचिव बलबहादुर विक, कोषाध्यक्ष बाबुराम थापा लगायतले नर्मदेश्वर क्षेत्रको संरक्षण र विकासका साथै प्रवद्र्धन अपरिहार्य भएकोमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width