महिला साफ फुटबल उपाधिका लागि आयोजक नेपाल र डिफेण्डिङ च्याम्पियन भारत फाइनल भिड्ने

नारायण शाही
चैत्र ६, २०७५
Nepali_Women_Team

पोखरा, ६ चैत । पाँचौँ साफ महिला फुटबल प्रतियोगिता उपाधिका लागि आयोजक नेपाल र डिफेण्डिङ च्याम्पियन भारत फाइनल भिड्ने भएको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै, डिफेण्डिङ भारतले गत संस्करणको उपविजेता बंगलादेशलाई समान ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् ।

यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई टोलीलाई फाइनल यात्राको सुनिश्चित गराइन् ।

पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् । नेपालले शुरुआतदेखि नै आक्रामक खेलेको थियो ।

भारतको जितमा ईन्दुमती, दलिमा र मनिषाको योगदान रह्यो । भारतले खेलको शुरुवाती १८ औं मिनटमै बंगलादेशी गोलरक्षकको गल्तीको फाइदा उठाउँदै दलिमा चिब्बेरले भारतका लागि पहिलो गोल गरिन् । त्यस्तै पहिलो हाफकै २२ र ३७ औं मिनटमा इन्दुमती कथिरेशनले लगातार दुई गोल गर्दै भारतको अग्रता तेब्बर बनाइन् । खेलको इञ्जुरी समयमा मनिषाले चौथो गोल गर्दै भारतीय टोलीको फाइनल यात्रा सुनिश्चित गरिन् ।

यस संस्करणसँगै भारत लगातार पाँचौ पटक महिला साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल भएको छ । भारतले लगातार चार वटै संस्करणको उपाधि भित्राएको छ । यस संस्करणको उपाधिसमेत आफ्नो पक्षमा पार्ने भारतको दाउमा छ ।

नेपाल भने चौथो पटक फाइनल पुगेको हो । यस पटक नेपाल महिला साफ च्याम्पियनसिपको उपाधि उचाल्ने दाउमा छ । आगामी शुक्रबार, नेपाल र भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै