गाउँपालिकास्तरीय फुटबल उपाधि लाइनलाई

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७५
dhampus football photo_Fotor

हेमजा, २१ फागुन। भयर बराह टोल विकास संस्था माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस, झग्रेको आयोजनामा भएको प्रथम गाउँपालिकास्तरीय फाइभ ए साइड फुटबल प्रतियोगिता उपाधि लायन एफसी नागडाँडाले जितेको छ।

सोमवार फाइनलमा एपेक्स एफसी काँडेलाई पराजित गर्दै उपाधि जितेसँगै लाइनले नगद ३० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो।

उपविजेता एपेक्सले नगद २० हजार शिल्ड, मेडल र प्रमाणपत्र पायो। प्रतियोगितामा लाइनका रवीन्द्र कुँवर सर्वाधिक गोलकर्ता तथा एपेक्सका सौरभ गुरुङ उत्कृष्ट खेलाडी घोषित भए।

कार्यक्रमबीच भएको रत्यौली प्रतियोगितामा प्रगति आमा समूह प्रथम, कञ्चन आमा समूह द्वितीय साथै भयर वराह आमा समूह तृतीय हुन सफल भए। त्यस्तै भजन चुड्कातर्फ भयरवराह आमा समूह प्रथम, सिर्जना आमा समूह द्वितीय र कञ्चन आमा समूह तृतीय बनेका छन्।समापनमा प्रमुख अतिथि नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्वास्थ्यका लागि पनि खेल महत्वपूर्ण भएको औँल्याउँदै खेलमा अनुशासनको ठूलो महत्व रहने जनाए। उनले जनप्रतिनिधिलाई लोकतन्त्रका मान्यतामा रही काम गर्न सुझाव पनि दिए। सो अवसरमा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, वडाध्यक्ष समबहादुर गुरुङ, नेपाली काँग्रेस वडा सभापति शुकबहादुर गुरुङ लगायतले धम्पुसको पर्यटन र खेलकुदबारेमा चर्चा गरे।

तीन दिनसम्म चलेको प्रतियोगिता स्थानीय उदय माविको खेलमैदानमा भएको थियो।

टोल विकास संस्था अध्यक्ष काजीमान सिकेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार बाबुराम भण्डारीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रम सञ्चालन अमृतकुमार भण्डारी, नवीन भण्डारी र समीर विकले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width